धानमा लागेको रोग नियन्त्रण बाहिर !

अन‌ि यो पनि

रत्ननगर । चितवनको बछौलीका किसान मोती सापकोटाले सातपटकसम्म धानमा कीटनाशक विषादी छरे । सातपटकसम्म छरेको छुट्टाछुट्टै विषादीले पनि उनको धानमा लागेको रोग नियन्त्रण भएन । जति विषादी हाल्दा पनि केही प्रगति नभएपछि कृषि प्राविधिक बोलाएर स्थलगतरुपमै धान देखाए । कृषि प्राविधिक आएर धान हेर्दा एउटै बोटमा पात र फेद डढ्ने डढुवा, ‘सिथ ब्लाइट’ रोग तथा फड्के कीरा र गवारो कीरा लागेको पहिचान भयो ।

कीराको प्रकोपका कारण धानको डाठ र ‘सिथ ब्लाइट’को प्रकोपका कारण धानको पात मरेको पाइयो । अहिले सापकोटाको मात्र होइन, चितवनका अधिकांश किसानको खेतमा पसाउने बेला भएको धानमा यस्तै समस्या छ । एउटै बोटमा कीरा र रोगको संयुक्त प्रकोप भएका कारण औषधी र रोगको मेल नखाएर पटकपटक विषादी हाल्दा पनि रोग नियन्त्रण हुन नसकेको कृषि प्राविधिकहरुले निष्कर्ष निकालेका छन्् ।

धान पसाउने बेलामा कीरा र रोगले आक्रमण गरेका कारण जिल्लामा धान उत्पादन २५ प्रतिशत घट्ने अनुमान गरिएको छ । एउटै बोटमा दुईवटा रोग र दुईवटा कीराको प्रकोप भएका कारण धानमा लागेको रोग नियन्त्रण बाहिर गइसकेको कृषि प्राविधिकहरुको भनाइ छ ।

पसाउने बेलाको धानको पात पहँेलो भएको छ भने डाँठ कीराले खाएर जरा र पातको सन्बन्ध तोडिएको छ । यस्तो अवस्थाको धान पसाए पनि पोटिलो नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

रत्ननगर–७ मैनाहाका किसान सुखीराम चौधरीको एक बिगाहमा लगाएको धान रोग र कीराको प्रकोपका कारण सखाप हुने अवस्थामा पुगेको छ । उनले अहिलेसम्म चारपटक विषादी छरे तर सुधार भएन । ‘एउटै खेतको धान कतै पसाएको छ, कतै पसाउने सुुरसार नै छैन’ उनले भने, ‘पात सुकेर पहेँलो भएको छ ।’ जति विषादी हाल्दा पनि नियन्त्रणमा नआउने रोग पहिलो पटक देखा परेको उनको भनाइ छ । ‘गाईभैँसीको मल पनि हालेकै छु, युरिया मल पनि जसोतसो गरेर छरेकै छु’ उनले भने, ‘औषधि पनि पटकपटक हालेँ, तर पनि धान हरियो भएन, मर्दै गयो ।

बछौलीका कृषि विज्ञ तथा विषादी व्यवसायी सत्यनारायण चौधरीले कीरा र रोगका लागि प्रयोग गरिने कडा विषादी प्रयोग गर्दा पनि प्रकोप नियन्त्रणमा नआएको बताए । ‘यस्तो अवस्था कहिल्यै पनि आएको थिएन, उनले भने, ‘पटकपटक औषधि परिर्वतन गरेर हाल्दा पनि सुधार भएन ।

परियोजनाका प्रमुख तिमिल्सिनाले एउटै बोटमा दुईवटा कीरा र दुईवटा रोग लागेका कारण समस्या भएको बताए । किसानले झोल र दाना विषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन नसकेको बताए । ‘खेतका बीचबीचमा थेग्लाथेग्ला भएर कीरा लागेको छ, उनले भने, त्यही ठाउँमा विषादी छनर््ुपर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको हो ।’

उनले रोग र कीराअनुसारको किसानले विषादी नछरेका कारण नियन्त्रणमा नआएको बताए । धानमा अहिले देखिएको रोग कुनै पनि हालतमा नियन्त्रण आउनुपर्ने भन्दै उनले पातमा भएको पुतली मार्नुपर्ने बताए । चितवनका अधिकांश किसानको खेतमै पुगेर नियन्त्रणको प्रयासमा लागेका परियोजनाका प्रमुख तिमिल्सिनाले चितवनको धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के कीरा र गवारो मुख्य समस्याका रुपमा देखिएको बताए ।

एउटै धानको गाँजमा दुई हजारसम्म फड्के कीरा भेटिएको उनले बताए । यो कृषि उत्पादनको हिसाबले डरलाग्लो अवस्था हो उनले भने प्रकोप नियन्त्रण गर्न सकिएन भने चितवनको उत्पादन घट्ने र यसले राज्यको कुल उत्पादनमै असर पार्नेछ ।

जिल्लामा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । चितवनमा चैत र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ । वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । जिल्लामा गत वर्ष १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया