जलगैँडाको नयाँ अभिभावक [बालकथा]

अन‌ि यो पनि

–देवकी केसी

गैँडाको सानो केटो निकै चलाख थियो । उमेर सानो भएकाले अरुको जस्तो धेरै हिँड्डुल गर्न नसक्ने भए पनि चकचक गर्न भने ऊ छाड्दैनथ्यो । उसको धेरै चकचक गर्ने बानीले कहिलेकाहीँ आमाबाबुले गाली पनि गर्नुहुन्थ्यो ।
एकदिन सानो केटो आमाबुबाको काखमा सुतिरहेको थियो । आमाबुबा एकआपसमा कुरा पनि गरिरहेका थिए । जङ्गलमा पहिलेको तुलनामा निकै घाँसको कमी हुन थालेको छ, हाम्रो केटोलाई कसरी पाल्ने होला– आमाले भनिन् । किन चिन्ता गरेकी ? हाम्रो एउटै बच्चा हो क्यारे ! त्यसलाई जसरी भए पनि खानेकुरा दिएर हुर्काऊँला नि– आमालाई बुबाले भने ।
केटो गैँडाले काखमा सुतेर आमाबुबाको सबै कुरा सुनिरहेको थियो । उनीहरुले केटो गैँडालाई भने– बाबु, तिमी यहीँ छहारीमा सुतिराख है । हामी तिम्रा लागि जङ्गलको अल्लि पर पुगेर घाँस, फलफूल लिएर आउँछौँ । नदीतिर नजाऊ नि, नदीमा पानीको चाप धेरै हुन्छ । नदी गहिरो पनि हुन्छ, तिमीलाई बगाउन र डुबाउन सक्छ । हस् भन्दै केटोले मुन्टो हल्लायो ।
उसको आमाबुबा जङ्गलको परसम्म घाँस लिन गए । केटो गैँडालाई आमाबुबाले भनेजस्तो छहारीमा सुतिराख्न मन लागेन । उसलाई गर्मी पनि भएको महसुस भयो । त्यसपछि ऊ जुरूक्क उठेर नदीतिर गयो । नदीमा बगेको सङ्लो पानी देखेर केटोलाई निकै रमाइलो लाग्यो । चर्को घामले पोलेको महसुस गरेको केटोले नदीमा नुहाउने विचार ग¥यो । केटो बिस्तारै नदीको किनारसम्म पुग्यो । नदीको बीचमा आमाले भनेको जस्तै निकै गहिरो होला भन्ने सोचेर ऊ नदीको बीचमा गएन । नदीको छेउमा उभिएर केटो नुहाउन थाल्यो ।
गर्मीले पोलिरहेको उसलाई नदीको चिसो पानीमा नुहाउँदा निकै आनन्द लाग्यो । ऊ रमाइरमाइ पानीमा नुहाइरहेको जलगैँडाले टाढैबाट देख्यो । आफ्नो नदीमा अरु नै आएर नुहाएको देखेर जलगैँडालाई साह्रै रिस उठ्यो । उसले टाढैबाट बेस्सरी चिच्यायो ।
‘ए ! को हो त्यो मेरो नदीमा नुहाउने ?’ पानीमा निकै रमाउँदै खेलिरहेको केटोले जलगैँडाले चिच्याउँदै गाली गरेको सुन्दै सुनेन । आफूले चिच्याउँदा पनि केटोले नसुनेपछि जलगैँडा रिसाउँदै केटो भएतिर छिटोछिटो आयो । अनि उसले केटोलाई जोडले धकेल्दै भन्यो– तँ को होस् मेरो नदीमा आएर नुहाउने ? मैले अघिदेखि घाँटी सुक्ने गरी गाली गरेको तैँले सुनेनस् कि के हो, तँ बहिरो होस् ?
जलगैँडाले धकेल्दा केटो पानीमा एकपल्ट नराम्रोसित पछारियो । बल्लतल्ल उठेर उसले जलगैँडातिर हे¥यो । ठूलो टाउको, पर्लक्क परेका आँखा, लेब्रिएको फराकिलो मुख, शरीरमा रौँ नै नभएको जस्तो रातो टिलिक्क टल्कने छाला र छोटो घाँटी, खुट्टा पनि छोटो भएको जलगैँडा देख्दा एकपल्ट केटो निकै डरायो । उसले आजसम्म यस्तो जनावर कहिल्यै देखेको थिएन ।
मनमा डर भए पनि केटोले साहस गरेर बोल्यो– मलाई यसरी धकेल्न तिमीलाई लाज लाग्दैन ? म गैँडा हुँ । मेरो आमाबुबाले मलाई केटो भनेर बोलाउँछन् । मेरो आमाबुबा मेरा लागि अल्लि पर जङ्गलमा घाँस, फलफूल लिन जानुभएको छ । मलाई गर्मी भयो, त्यसैले म नुहाउन आएको । यो नदी के तिम्रो मात्र हो र ?
यति सानो भएर मेरो नाउँ लिएर मलाई नै गैँडा भनेर जिस्काउने तेरो कत्रो हिम्मत हँ ? गैँडा त म पो हो । यस्तो नाकमाथि पनि सिङ भएको बाक्लो न बाक्लो बोराजस्तो खस्रो छाला भएको तँ जस्तो फुच्चे पनि गैँडा रे ! जलगैँडाले बेस्सरी रिसाउँदै उल्टै केटोलाई गाली ग¥यो । केटोले पनि अचम्म मान्दै भन्यो– मैले तिम्रो नाउँ लिएर गैँडा भनेर जिस्काएको होइन क्या ! म पनि गैँडा हुँ । दुवैले आफू आफू गैँडा हो भन्दै बाझाबाझ गर्न थाले ।
धेरै घाँस र फलफूल लिएर आएका आमाबुबाले केटोलाई नदेखेर आत्तिँदै यताउता खोज्न थाले । उनीहरुले केटो पक्कै नदीतिर गयो होला, पानीमा खेल्न निकै मन पराउँथ्यो भनेर अनुमान गर्दै नदीतिर गए । उनीहरुले अनुमान लगाएझैँ केटो नदीको किनारमा थियो । केटो र जलगैँडा नदीको किनारमा उभिएर झगडा गरिरहेको आमाबुबाले देखे । केटोका आमाबुबा उनीहरुको नजिकै गए ।
आफ्ना आमाबुबालाई देखेर केटोले ठूलो स्वरले भन्यो– हेर्नुस् न आमाबुबा, यो त मलाई फुच्चे भनेर निहुँ खोज्दो रै’छ । मैले म गैँडा हुँ भनेको त उल्टै यो आफूलाई पो गैँडा भन्छ त ! फेरि यो नदी उसको मात्र हो रे ?
केटोले आमाबुबासँग आफ्नो कुरा गरेपछि जलगैँडाले पनि उनीहरुको नजिकै गएर ठूलो स्वरमा भन्यो– हेर्नुस् त अङ्कल–आन्टी, तपाईंहरुको केटोले आफू पो गैँडा हुँ भनेर फुर्ति गर्दो रै’छ । गैँडा त म पो हुँ । म जमिन र पानी दुवैमा बस्छु, मलाई जलगैँडा भन्छन् । हामीलाई हिपोपोटामस पनि भन्छन्, तर हिपोपोटामस शब्दले घोडाजस्तो जनावर भन्ने बुझाए पनि घोडासँग हाम्रो कुनै सम्बन्ध हुँदैन । मेरा जातिहरु धेरै यहीँ नदीमा बस्छन् । यहीँ बच्चा पनि जन्माउँछन् । बेलाबेलामा चर्नका लागि हामीहरु जङ्गलवरिपरिका चरन क्षेत्रतिर जान्छौँ । हाम्रो आमाले हामीलाई पौडन र शत्रुबाट बच्न आलमा बस्ने शिक्षा दिनुहुन्छ । जलगैँडाले निकै ठूलो स्वरमा आफू नै गैँडा भएको प्रमाण दिन खोज्यो केटोको आमाबुबासमक्ष ।
देख्नुभयो त आमाबुबा, यो त साह्रै आफूलाई गैँडा हुँ भनेर फूर्ति गर्दो रै’छ– केटोले जङ्गिँदै भन्यो । यसलाई त त्यसै छाड्नुहुन्न आमाबुबा, उसले जलगैँडासँग निकै रिसाएर भन्यो । रिसाएको आफ्नो केटोलाई सम्झाउँदै आमाले नरम भएर जलगैँडालाई भनिन्– बाबु, हामी पनि गैँडा हौँ, तिमीजस्तै जमिन र पानी दुवैमा बस्न सक्छौँ । जङ्गल र घाँसे मैदान भएका ठाउँमा प्रशस्त घाँसहरु पाइने हुँदा हामीहरु जङ्गलवरपरका घाँसे मैदानमा चर्न मन पराउँछौँ । हाम्रो शरीरको छाला बाक्लो हुन्छ र गर्मीबाट बच्न पानी भएको ठाउँमा आहाल बस्छौँ । हाम्रो सिङ पनि हुन्छ, त्यसलाई खाग भन्छन् । यो नै हाम्रो बहुमूल्य अङ्ग हो । अफ्रिकातिर पाइने हाम्रा जातिहरुको दुईवटा सिङ हुन्छ भने एसिया महादेशका केही देशहरुमा एउटा सिङमात्रै भएका हाम्रा जातिहरु पाइन्छन् ।
आमाको कुरा सुनेपछि नम्र हुँदै जलगैँडाले भन्यो– त्यसो भए हाम्रो रुपरङ्गमा अलिअलि भिन्न भए पनि हामी दुवै पानी र जमिनमा रहन सक्ने रहेछौँ । घाँसे मैदानहरुमा चर्न मन पराउने रहेछौँ । हाम्रो नाउँ पनि मिल्दोजुल्दो रहेछ । रङ्गीबिरङ्गी धेरै प्रकारका चराहरु पनि हाम्रो शरीरमाथि चढेर हिँड्डुल गर्न मन पराउँदा रहेछन् । एउटै जङ्गलनजिक रहेका हामीहरु एकआपसमा धेरै कुरा मिल्ने भए पनि हामीले एकअर्कालाई राम्ररी चिन्न सकेका रहेनछौँ, होइन त अङ्कल–आन्टी ? आफू त यही नदीमा हुर्किएँ । यही नदीमा हामीले उत्सर्जन गरेका गोबरले मलिलो भएर सूक्ष्म कीराहरु बढ्छन् र माछालाई राम्रो खुराक पनि भएको छ । तर पनि यो संसारमा आफ्नो भन्ने कोही छैन ।
म त अनाथ भएको छु– जलगैँडाले आँखाबाट आँसु खसाल्दै भन्यो, मेरा आमाबुबालाई पनि सिकार गरे मान्छेहरुले । मेरो पनि सानो भाइ थियो, तपाईंको केटोजस्तै । हामी दाजुभाइ एकअर्कालाई धेरै माया गथ्र्यौं, सँगै खेल्दथ्यौँ । मान्छेहरुले मेरा आमाबुबाको सिकार गरेपछि हमी दुई दाजुभाइ अनाथ भयौँ । एकदिन फेरि अर्को सिकारीले मेरो भाइलाई पनि मारेर लग्यो । हाम्रो छाला विभिन्न कामका लागि प्रयोग गर्न, दाँतहरु पनि उपहार दिन र मासु खानका लागि हामीलाई खोजी खोजी सिकार गर्दछन् । मेरो सानो सुखी परिवार पनि सखाप पारिदिए । तपाईंहरुको केटो त साह्रै भाग्यमानी रहेछ, तपाईंहरुजस्तो माया गर्ने अभिभावकको साथ पाएको छ । जलगैँडा क्वाँ–क्वाँ रून थाल्यो ।
अघिसम्म रिस उठेको जलगैँडाको दुःखद कुरा सुनेर केटो पनि रून थाल्यो । केटोका आमाबुबाका पनि आँखा रसाए । केटोको आमाबुबा जलगैँडाको कुरा सुनेर साह्रै दुःखित भए । केटोको बुबाले उसको आँसु पुछिदिँदै भने– नरोऊ बाबु, तिमी पनि हाम्रो केटोजस्तै हो हाम्रा लागि । यी मान्छेहरुले तिम्रा आमाबुबालाई मात्र होइन पायो भने हामीलाई पनि दुःख दिन्छन् । यिनीहरुले सिङ र छालाका लागि हाम्रा धेरै साथीहरुलाई पनि मारिसके । धन्न हामी बाँचिरहेका छौँ अहिलेसम्म ।
आजदेखि तिमीले हामीलाई आफ्नै आमाबुबा सम्झेर बोलाउनु बाबु, जाऊँ हिँड हामीसँग । हो जाऊँ हिँड हामीसँग, फलफुल र घाँस भएको बाँडीचुँडी खाऊँला, सँगै मिलेर बसौँला– केटोको आमाले आफ्ना आँसु पुछ्दै भनिन् ।
सुँक्कसुँक्क गर्दै रून्चे स्वरमा केटोले पनि भन्यो– ‘हो, आमाबुबाले भन्नुभएको कुरा ठीक हो । जाऊँ हिँड हामीसँगै मिलेर बसौँला । मेरा पनि दाइ छैनन्, दाजुभाइ र असल साथी भएर मिलेर बसौँला ।’
केटोलाई जलगैँडाको निकै माया लागेर आएको थियो । जलगैँडालाई पनि केटो र उसको आमाबुबालाई भेट्दा आफ्नै आमाबुबा र भाइलाई भेटेजस्तो खुसी लागेको थियो ।
जलगैँडाले खुसी हुँदै भन्यो– तपाईंहरु मेरो अभिभावक अनि केटो मेरो प्यारो भाइ ।’
जलगैँडा खुसी हुँदै उनीहरुको साथ लाग्यो । जलगैँडालाई आफ्नै परिवारको साथमा राख्न पाउँदा केटो खुसीले उफ्रियो । त्यसपछि उनीहरु चारैजना असाध्यै मिलेर खुसी हँुदै बस्न थाले ।

 

[email protected]

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया