मकवानपुर कमान्ड पोस्ट : निर्णय गर्ने, कार्यान्वयन फितलो

अन‌ि यो पनि

हेटौँडा । मकवानपुर जिल्लामा बनेको कमान्ड पोस्टका निर्णयहरु कार्यान्वयन भएको देखिँदैन । विभिन्न समयमा गरेका निर्णयहरु हेर्दा निर्णय बलियो र कठोररुपमा गरेता पनि कार्यान्वयन फितलो देखिएको हो । कमान्ड पोस्टले कार्यान्वयन गर्न नसक्ने निर्णयहरु गरेको देखिन्छ ।
मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिन गत चैत १४ मा कमान्ड पोस्ट गठन भयो । मकवानपुरको सर्वदलीय बैठकले विश्वव्यापीरुपमा देखिएको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कमान्ड पोस्ट गठन गरेको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले कमान्ड पोस्ट गठन गरेको हो । समितिमा जिल्ला समन्वय समितिका अधिकृत, हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट र उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन् । बैठकले सबै सदस्यहरुलाई विशेष जिम्मेवारीसमेत तोकेको बताइएको छ ।
हेटौँडामा दसैँको जस्तो भीड
हेटौँडामा शुक्रबारदेखि ३ बजेसम्मका लागि बजारहरु खोल्ने निर्णय भएसँगै बजारमा दसैँको झल्को देखिएको छ । बजारहरु अधिकांश खुलेका छन् । मानिसहरुको भीडभाड त्यसै बढेको छ । बजार आउनेहरुको हातमा ठूला झोलाहरु देखिन्छन् । कपडा पसल, जुत्ता पसलदेखि फर्निचरसम्ममा घुइँचो छ । मकवानपुरको सदरमुकाम हेटौँडा बजार दुई चरणमा खुलेको छ । कमान्ड पोस्टको बैठकले हेटौँडा बजार दुई चरणमा खोल्ने निर्णय गरेता पनि बिहान खुलेका पसलहरु दिउँसो पनि खुलिरहेका छन् ।
यसअघि बिहीबारसम्म बिहान ५ बजेबाट १० बजेसम्म बजार खुल्दै आएकोमा शुक्रबारबाट बिहान र दिउँसो गरी २ समयमा मकवानपुरमा व्यवसायहरु खुलेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दाबी गरे । नेपालले बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसलमात्रै खुलेको दाबी गरेका छन् । उनले भीड नहुने गरी बजार खुलेको बताए । उनले भने, “बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुलेका छन्, बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछ ।” तर, खाद्यान्न पसलहरु दिउँसो ३ बजेसम्म खुलिरहेका छन् ।
जोर–बिजोर प्रणाली : चेकिङ गर्दैन प्रहरी
कमान्ड पोस्टले निजी सवारीलाई जोर–बिजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागू हुने बताइएको छ । तर, यसको हेटौँडाको मुख्य बजारमै कार्यान्वयन भएको पाइएको छैन, जसले गर्दा बजारमा भीडसमेत बढेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म सञ्चालन नहुने प्रशासनले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया