‘नारायणी नदीबाट हामीलाई बचाऊ’

अन‌ि यो पनि

शिशै । बर्सेनि बर्सादको समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका भरतपुर महानगरपालिका वडा नं–२६ का कोइला, शिशै भगडी क्षेत्रका बासिन्दाहरुले तटबन्धनको काम तत्काल थाल्न अनुरोध गरेका छन् । हरेक सालजसो नारायणी नदीले स्पर (नदी कटान रोक्न बनाएको बाँधको ड्याम) भत्काएर बस्तीमा पस्न थालेपछि सम्भावित दुर्घटनाको पीडाले त्रसित बनेका स्थानीयहरुले नदी जोखिम न्यूनीकरणका दीर्घकालीन रणनीति बनाउनसमेत माग गरेका हुन् ।
हरेक सालजसो स्पर भत्काएर नारायणीको बाढीले बस्ती नै डुबाएपछि विस्थापित हुने खतरा बढेको भरतपुर–२६ शिशै निवासी जीवनराम महतो बताउँछन् । उनी भन्छन्, ‘यहाँका खेतीयोग्य बिघौँबिघा जमिनको रोपो बगाएर खेत नै उजाड बनेर गाँस पनि खोसिएको छ, बस्ती पनि सङ्कटमा छ, अहिले त्रास र दुःखमात्र बाँकी छ ।’
आफूले थाहा पाउँदा नदी बस्तीबाट धेरै टाढा रहेको बताउँदै ६२ वर्षीय महतोले अकल्पनीयरुपमा नदीले छ–सात सय मिटर जमिन कटान गरेको र करिब आठ–दस बिघा नै क्षति पु¥याउँदै जनताको तटबन्ध कार्यक्रमअन्तर्गत बनाइएको स्पर भत्काएर लगेको उनले बताए । तटबन्धको नाममा ठेकेदारले बलियो नदीकिनार फोरेर कमजोर स्पर बनाएको भन्दै उनले जोगी कुटीमा थुनेर नदीको धार मोड्न खोज्दा यहाँ कटान बढेको बताए ।
प्रभावकारी तटबन्ध नगर्ने हो भने उच्च जोखिममा रहेका कोइला, शिशै भगडी, सिस्वार क्षेत्रका सम्पूर्ण बस्ती उठ्ने खतरा रहेको भरतपुर–२६ शिशै निवासी रामप्रसाद महतो बताउँछन् । बर्सेनि बस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको भन्दै उनले यसै वर्षमात्रै नारायणी नदी बढ्दा भरतपुर–२६ का झन्डै ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको बताए । वर्षामा घरछेउमा नारायणी बग्छ । स्थानीय तहले बर्सेनि आउने समस्यालाई मध्यनजर गर्दै बाढी प्रतिरोधात्मक दिगो शक्ति आर्जनलाई आफ्नो कार्यसूचीमा समावेश गरी समयमै ध्यान केन्द्रित गर्नुपर्ने उनको जोड छ ।
नारायणी नदीबाट हुने क्षतिको दीर्घकालीन समस्या समाधानका लागि योजनाका साथ नदी नियन्त्रणका लागि अगाडि बढ्न र पटकपटक बाढीको चपेटामा परिरहेको यस विपद्को जोखिमयुक्त क्षेत्रलाई लक्ष्य गरेर विशेष योजना ल्याउन कालाबञ्जर मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भूपालनाथ कँडेलले आग्रह गरेका छन् ।
भरतपुर–२६ का बासिन्दाले भोग्नु परेको नियति पनि एउटै हो । ठेकेदार पक्षले बलियो तटबन्ध र स्पर निर्माण नगर्नु, निर्माणका काम सम्पन्न भएपश्चात् अनुगमन नगर्नु, निर्माण सामग्रीको गुणस्तरबारे ध्यान नदिनु, कमीकमजोरीहरु लुकाउनु, ढिलासुस्ती हुने प्रवृत्तिले प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको उनकोे गुनासो छ
यसको दीर्घकालीन समाधानमा ध्यान नदिने हो भने कटानले फेरि जोखिम बढाउने निश्चित नै छ । जनता आत्तिएका छन् भन्दै भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले भने, ‘हामी भैपरी आउने प्राकृतिक विपत्तिमा जति संयमित हुन्छौँ, सक्रियता देखाउँछौँ र हातेमालो गर्छौं त्यति विपद्बाट बच्न पाठ भने सिक्न सकेका छैनौँ । मनसुनी बर्सादले ल्याउने विपत्तिलाई कसैले रोक्न सक्दैन ।’ पूर्वसतर्कता अपनाएर सुरक्षित हुनेमात्रै हो, तर वर्षाका कारण हुने डुबान, कटान, विस्थापनजस्ता सङ्कटलाई न्यूनीकरण भने गर्न नसकिने होइन ।
विसं २०६६ मा जनताको तटबन्ध नामक आयोजनामार्फत नारायणी नदीमा तटबन्ध थालिएको हो । पछि सोही आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी व्यवस्थापन आयोजना भएको हो । सो आयोजनाले हरेक वर्ष काम गर्दै आएको भए पनि बजेट अभावका कारण सोचेजस्तो काम हुन सकेको छैन । हालसम्म नदी तटबन्धमा एक अर्ब ७२ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

 

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...