भरतपुर अस्पतालमा मिर्गौलाका बिरामीलाई सास्ती

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हुन थालेपछि ननकोभिडका बिरामीहरुले उपचारमा सास्ती व्यहोर्नु परेको छ । अस्पतालले डायलाइसिस गर्ने मेसिनको अभाव भएको भन्दै मिर्गौलाका बिरामीहरुलाई दुःख दिने गरेको छ ।
हप्तामा दुईपटक डायलाइसिस गर्नेुपर्ने मिर्गौलाका बिरामीहरुको अहिले एकपटकमात्रै डायलाइसिस गर्न थालिएको छ । एकपटक डायलाइसिस गर्न पनि १६ घन्टासम्म कुर्नु परेको बिरामीहरुको गुनासो छ । हप्तामा दुईपटक नै डायलाइसिस गर्ने व्यवस्था मिलाइदिन भन्दै बिरामीका आफन्तहरुले भदौ २३ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउन गएका बिरामीका आफन्तहरुको पहिचान गरेर अस्पतालको डायलाइसिस विभागका कर्मचारीहरुले व्यक्तिगत रिसइवी साधेको एक बिरामीका आफन्तले बताए । अर्काेपटकको डायलाइसिसमा दुःख पाउने आशङ्का गर्दै नाम नबताउने सर्तमा उनले भने, ‘बिरामीलाई गाह्रो भयो, दुईपटक गरिदिनुस् भन्न पनि नपाउने ? सिडियोलाई भन्न गइस् भनेर मेरा बिरामीलाई डायलाइसिस गर्नबाट १६ घन्टासम्म कुराइयो ।’
बिहीबार बिहान १० बजे अस्पताल पुगेका बिरामीको शुक्रबार बिहान २ बजेमात्रै डायलाइसिस भएको उनले बताए । ‘मभन्दा अगाडि ६÷७ जना बिरामी थिए, अस्पतालमा सातवटा मेसिन छ भनिएको छ । एक जनालाई डायलाइसिस गर्न चार घन्टा लागे पनि बुबाको पालो बेलुकी १० बजेसम्म त आइपुग्थ्यो, तर कुराएर राखियो’, उनले भने ।
हप्तामा दुईपटक मिर्गौलाको डायलाइसिस गर्दै आएकी भरतपुर–७ की हिमकला आचार्यले पनि हप्तामा एकपटकमात्रै डायलाइसिस गर्न थालेपछि गाह्रो भएको बताइन् । ‘आइतबार र बुधबार डायलाइसिस गरिन्थ्यो, अहिले बुधबारमात्रै गर्न थालेका छन्’, बिरामीकी बुहारी कोपिला आचार्यले भनिन्, ‘हप्तामा दुईपटक नै गरिदिनुस् भनेका त हौँ, सिस्टरहरुलाई भन्न जाँदा पनि कराउनुहुन्छ, खोइ कसैले सुन्दैन ।’ बिरामीहरुसँग नै टेप, ग्लोब्सलगायतका सामान लिने गरिएकोमा सिडिओलाई ज्ञापन पत्र बुझाएपछि ती सामग्री लिन छाडिएको उनले बताइन् ।
डायलाइसिस गर्ने मेसिन पर्याप्त नहुँदा बिरामीलाई हप्तामा दुईपटक नै डायलाइसिस गर्न नसकिएको अस्पतालकी नर्सिङ अफिसर सुनिता आचार्यले बताइन् । भरतपुर अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने मेसिन १० वटा छन् । तीमध्ये तीनवटा मेसिन लामो समयदेखि बिग्रिएर थन्किएका छन् । एउटा करिब करिब थन्किने अवस्थामा छ । सञ्चालनमा रहेका ६ वटा मेसिनमध्ये पनि एउटा मेसिन कोभिड–१९ का बिरामीका लागि छुट्टयाइएको छ भने ननकोभिडका लागि ५ वटामात्रै मेसिन छन् ।
‘मेसिन बिग्रिएकाले हप्तामा दुईचोटि गर्नेलाई एकचोटि र बीचमा गाह्रो परेको बेला जुनसुकै बेला पनि गरिदिन्छौँ’, उनले भनिन्, ‘मेसिन बनाउनका लागि मान्छे बोलाएका हौँ, तर कोरोनाका कारण बनाउन आउन सकेका छैनन्, बिरामीलाई नगर्दिने भन्ने छँदै छैन ।’ कोरोनाको बहाना नभएर मेसिन बिग्रिएकाले मात्रै बिरामीले भनेजति डायलाइसिस गर्न नसकिएको उनले बताइन् ।
उनका अनुसार पाँचवटा मेसिनले दिनमा २० देखि २५ जनासम्मलाई डायलाइसिस गर्न सकिन्छ । दुईवटा मेसिन बनाउन काठमाडौँ पठाइएको उनले बताइन् । बिग्रिएका मेसिन नबनाउँदा बिरामीहरुले समयमै डायलाइसिस गर्न पाएका छैनन् । सामान्यतया एउटा बिरामीको एकपटकमा चार घन्टासम्म डायलाइसिस गर्ने गरिन्छ ।

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया