किसानलाई कोरोनाको भन्दा मल नपाइएला भन्ने डर

अन‌ि यो पनि

भरतपुर । चितवनका किसानहरु यतिबेला चमार लाग्ने बेलाको धानमा मल नपाउँदा खुब सास्ती भोग्न बाध्य भएका छन् । किसानलाई यतिबेला कोरोना भाइरसको डरभन्दा पनि पसाउन लागेको धानमा हाल्ने मल नपाइने चिन्ताले गालेको छ ।
भरतपुर महानगरमा झन्डै एक सयको हाराहारीमा रहेको कृषि सहकारीहरुले यतिबेला मल वितरण गरिरहेका छन् । कोरोनाको कुनै डर नै नमानी मल लिन किसान हानथाप गरिरहेका छन् । कुनै कृषि सहकारीमा रातभरि लाइनमा बसेर किसानले १० किलो मल लगेका छन् भने कतै दिनभरि लाइनमा बसेर पनि किसानले पाँच किलो मलमा चित्त बुझाउन परेको छ ।
किसानले यतिबेला चाहेजति मल लैजान पाएनन् । पाँच÷दस किलोमा चित्त बुझाउन बाध्य भए, त्यसमा पनि घन्टौँ लाइनमा बसेर । भरतपुर–६, पारसनगरका किसान रामबहादुर थापा शुक्रबार बिहान ८ बजेदेखि भरतपुर–१० को बहुउद्देश्यीय कृषि सहकारीमा बोरा लिएर लाइनमा बसे । दिउँसोको २ बजे बल्ल उनले पाँच किलो मल पाए ।
उनी भन्छन्, ‘६ घन्टा लाइनमा बसेपछि बल्ल पाँच किलो मल पाएँ, यस्तो अवस्था छ के गर्ने ?’ उनका अनुसार भरतपुर–६ मा रहेका कृषि सहकारीहरुमा मल नपाएपछि पाँच किलो मल लिन उनी धाएका हुन् । उनी झन्डै १० किलोमिटर टाढा भरतपुर आएर पाँच किलो मल लिएर गए ।
किसान थापामात्रै होइनन्, भरतपुर–८ का अर्का किसान प्र्रेम श्रेष्ठ पनि पाँच किलो मल लिन घन्टौँ लाइनमा बसे । उनी भन्छन्, ‘यो वर्ष युरिया मलको हाहाकार भयो, कोरोना कहरभन्दा किसानलाई मलको चिन्ताले पिरोल्यो, त्यसकारण कोरोनाको डर नमानी घन्टौँ लाइनमा बसेर किसानले चिम्टी मल लिन बाध्य भएका छन् ।’
साल्ट ट्रेडिङको चितवन शाखामा आएको मल चितवनका कृषि सहकारीहरुमा वितरण भएको हो । कृषि सामग्री कम्पनीले यो वर्ष मल ल्याउन सकेन, जसका कारण चितवनमा मलको अभाव भएको हो ।
‘कोरोनाका कारण कृषि सामग्री कम्पनीमा मल आएन, साल्ट ट्रेडिङले वितरण गरेकोले पुगेन जसका कारण मलको अभाव भएको हो’, कृषि सामग्री कम्पनीका प्रमुख रवीन्द्र गौतमले भने । उनका अनुसार कोरोनाका कारण सरकारले समेत मल ल्याउन सकिरहेको छैन ।
भरतपुर १० स्थित हाम्रो बहुउद्देश्यीय कृषि सहकारीले शुक्रबारमात्रै ६०० जना किसानलाई मल वितरण गरेको छ । सहकारीका श्यामकुमार गिरीले ६० बोरा युरिया मल प्रतिकिसानलाई पाँच किलोको दरले बाँड्दा सकिएको बताए । उनले भने, ‘११ बजे मल आएको थियो, किसानहरु बिहानैबाट लाइनमा बसेको थिए ।
प्रतिकिलो पाँच किलोको दरले वितरण गर्दा ४ बजे मल सकियो ।’ उनले अब जहिले मल आउँछ, उहिले बाँड्ने बताए । उनले भने, ‘लाइनमा नबसेका ढिलो आएका धेरै किसानहरु रित्तो हात फर्किए, के गर्नु मल छैन ।’

 

प्रतिकृया

मुख्य समाचार

रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया