चितवन । राष्ट्रिय कर दिवसको अवसरमा सोमबार आन्तरिक राजश्व कार्यालय भरतपुरले सो कार्यालयमा धेरै कर तिर्ने तीन व्यवसायिक प्रतिष्ठानलाई सम्मान गरेको छ ।
कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव राजन खनाल र आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले उनीहरुलाई सम्मान गरेका हुन् । आर्थिक वर्ष ०६८÷६९ मा कार्यालयमा उच्च राजश्व बुझाएका नवलपरासी कावासोतीमा मुख्य कार्यालय रहेको गौरीशंकर वित्तीय संस्था लिमिटेड, भरतपुरको एनपीआई नारायणी सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टर र भरतपुरकै नारायणी स्टेट कम्पनी प्रालिलाई राजश्व कार्यालयले सम्मान गरेको हो ।
सेवा क्षेत्र, स्वास्थ्य र बित्तीय निकायबाट उच्च राजश्व दिने तीन निकाय वर्षेनि सम्मानित हुने गर्छन् । वित्तीय क्षेत्रबाट सवैभन्दा धेरै राजश्व तिरेकोमा सम्मानित भएको गौरीशंकर वित्तीय संस्थाले कुल १४ करोड, ७१ लाख ३४ हजार कारोबार गरेको थियो । त्यस्तै एक करोड १६ लाख ७४ हजार ७६१ रूपैयाँ राजश्व तिरेको थियो ।
त्यस्तै, उच्च राजश्व तिर्ने स्वास्थ्य क्षेत्रतर्फको नारायणी सामुदायिक अस्पतालले छ करोड ७२ लाख ७५ हजार ६५४ रूपैयाँ कारोबार गरेर २१ लाख ६१ हजार ८७४ रूपैयाँ राजश्व तिरेको थियो ।
त्यस्तै सेवातर्फ सवैभन्दा बढी राजश्व तिरेको नारायणी स्टेट कम्पनीले वर्षमा साढे ८४ लाख रूपैयाँ कारोबार गरेर १३ लाख १७ हजार रूपैयाँ राजश्व बुझाएको थियो ।
आन्तरिक राजश्व कार्यालय भरतपुरको कार्य क्षेत्रभित्र चितवनसहित नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भूभाग पनि पर्दछ । सो कार्यालयमा आयकरमा दर्ता भएका ३० हजार २०८ र भ्याटमा दर्ता भएका चार हजार ३२० करदाताहरु रहेको कार्यालय प्रमुख प्रेम उपाध्ययले जानकारी दिए ।
सो कार्यालयले यो वर्ष आठ अर्ब रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । करसम्बन्धी कुनै विवादमा नपरेका र कर पनि धेरै तिर्ने करदाताहरुलाई कार्यालयले सम्मान गर्ने नीति लिएको प्रमुख उपाध्यायले जानकारी दिए । यसले व्यवसायलाई पारदर्शी राख्न र व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने उनले बताए ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले कर कार्यालयले व्यवसायीलाई दण्ड, सजाय दिनदिनै जस्तो गर्ने तर पुरस्कार र सम्मान वर्षमा एक पटकमात्रै गर्ने परिपाटी भने अन्त्य हुनु पर्ने बताए । दण्ड सजायजस्तै प्रोत्साहन र पुरस्कारलाई पनि बढाउन सके राजश्व संकलनमा राम्रो प्रभाव पर्ने उनले बताए ।
उद्योग व्यापारमैत्री कर नीति बनेमा देशको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने व्यवसायीका संघ–संगठनका प्रतिनिधिहरुले सुझाव दिए । भारतबाट चामलभन्दा धान आयातलाई प्रोत्साहन गर्न रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले अपिल गरे । धान आयात गर्दा कर नलाग्ने व्यवस्था गर्न उनको माग थियो ।
देशभित्र धान र तेल मिल धेरैभन्दा धेरै खुलेमा रोजगारसमेत बढ्ने उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाको भनाइ थियो । चितवन उद्योग संघका महासचिव राजु पौडेलले देशमा उद्योग फष्टाउने वातावरण नबनेको हुँदा कर नीति बनाउँदा यो कुरा ख्याल राख्नुपर्ने बताए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले व्यवसायीहरु नैतिकवान बने कर राजश्व नीतिमा कुनै समस्या नभएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न कार्यक्रममा शर्माले व्यवसायीहरुले झुटो विवरण राख्ने, छल्ने र समयमा विवरण नबुझाएकै कारण समस्या हुने गरेको धारणा राखे ।
‘व्यवसायीहरु नैतिकवान् नहुँदा समस्या आएको हो’, उनले थपे, ‘व्यवसायीहरु नैतिकवान बन्नूस् करदातामैत्री व्यवसायी बनाउन कर प्रशासन तयार छ’, उनले भने, ‘करदातामा केही समस्या छ । त्यो समाधानमा कर प्रशासन कार्यालय लाग्नु जरूरी छ ।’
उनले करदाताकै समस्याले कर नीति कार्यान्वयनमा समस्या भएको दावी गरे पनि कर प्रणालीमा राजश्व नीति, कानुन र प्रक्रियामा सुधार हुन जरूरी रहेको धारणा राखे ।
‘आगामी वर्षको बजेटमा कर नीति र कानुनमा सुधार हुन्छ’, उनको स्पष्ट भनाइ थियो । उनले आन्तरिक राजश्व विभाग अहिले करदाताको शिक्षा, सूचना र जागरणमा लागेको पनि बताए ।
सोही अवसरमा अर्थमन्त्रालय राजश्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले कर तिर्न अब कर कार्यालय धाउन नपर्ने गरि व्यवस्था हुन लागेको जानकारी दिए ।
‘अब तपाइँको खाता भएकै बैकबाट कर तिर्न सकिने व्यवस्था हँुदै छ’, उनले थपे, ‘इन्टरनेटमा गएर आफ्नो कर कति छ हेर्ने अनि बैंक खाताबाटै असुली गर्ने ।’
उत्पादनमुखी राजश्व नहँुदा समस्या आएको बताउँदै उनले अब उत्पादनमुखी राजश्वमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए । ‘उत्पादनमुखी राजश्व नै दीर्घकालीन हुन्छ’, उनले भने ।
कार्यक्रममा उत्कृष्ट करदाताका रुपमा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प शर्मा, अशोक खड्की र राजन खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, उद्योगी व्यवसायीहरु दीपक सापकोटा, राजु पौडेल कल्याण जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राजश्व लक्ष्यभन्दा बढी
भरतपुर । आन्तरिक राजश्व कार्यालय चितवनले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्व ४७ करोड राजश्व संकलन गरेको जनाएको छ । यो राजश्व लक्ष्यभन्दा एक दशमलव सात पाँच प्रतिशत बढी हो ।
कार्यालयले साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ३७ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
Discussion about this post