जागिर खान नेपाल छिरेका बोस : ४७ वर्षमा नागरिकता लिएर उद्योगपति

अन‌ि यो पनि

हेटौँडा । फर्जी नागरिकता मुद्दामा रौतहट प्रहरीको आग्रहमा मंगलबार इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरले समातेको विके भनिने विप्लव कान्ति बोस नेपालमा ओभरसियर जागिर खान भित्रिएको पाइएको छ ।
बोसले रौतहट जिल्लाको बडहर्वा गाउँपालिकाबाट नागरिकता लिएको खुलेको हो । जन्मको आधारमा नागरिकता लिन बुबा तथा आमा पनि लामो समयदेखि नेपाल बस्नुपर्ने व्यवस्था छ । तर, बोसका निकटतम व्यक्तिहरुका अनुसार भारत बंगाल स्थायी घर भएका बोस २०५५ सालमा ग्लोबल राइटिङ सिस्टममा ओभरसियरका रुपमा नेपाल आएका थिए । त्यसपछि उनी सुपरलेमिकोट्समा उद्योग म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए । नेपाल आएपछि सुरूदेखि नै हेटौँडा बसेका उनी २०६३ सालमा मात्रै रौतहट जिल्लाबाट नागरिकता लिन सफल भएका थिए ।
४७ वर्षमा जन्मको आधारमा नागरिकता
बोसले २०६३ साल चैत्र ६ गतेको मितिमा रौतहट जिल्लाको बडहर्वा गाउँपालिका–५ नम्बर वडाबाट बुबाको नाम निखिल उल्लेख गरी नागरिकता लिएको रौतहटमा भेटिएको छ । उनले लिएको नागरिकतामा जन्मको आधारमा भनी उल्लेख गरिएको छ । उनले जन्म भएको ४७ वर्षपछि नागरिकता लिनुले पनि किर्ते गरी नागरिकता लिएको आशङ्का बलियो हुने प्रहरीको अनुमान छ ।
सिफारिस दिनेलाई जग्गा
बोसको नागरिकता लिन तत्कालीन बडहर्वा गाविसलाई सर्वदलीय टोलीले नागरिकताका लागि सिफारिस गरेको थियो । जसमध्ये तत्कालीन नेपाली कांग्रेसका गाविस प्रतिनिधि नवल चौधरीसहितको उपस्थिति रहेको थियो । यो विषयमा नवल चौधरीसँग टेलिफोनमा कुरा गर्दा उनले जवाफ दिए, “स्थानीय व्यक्तिहरुले यसै स्थानको नागरिक हो भनेका कारण नागरिकता बनाउन टोलीसमक्ष सिफारिस गरेका हौँ, मसहित अन्य सात दलका प्रतिनिधि पनि थिए । मैले पैसा लिएर होइन, गाउँलेहरुले भनेको आधारमा नागरिकता दिन सिफारिस गरेको हुँ ।”
नागरिकता पाएपछि बोसले खरिद गरेको जमिनमा पनि उनै चौधरीले खेती लगाउँदै आएको स्थानीयहरुले बताएका छन् । तर, चौधरीले भने बोसले खरिद गरेको जग्गा नदीले कटान गरेर बालुवामा परिणत भइसकेको बताएका छन् । यो विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले थप जानकारी दिएको छैन । रौतहटका एक सरकारी अधिकारीका अनुसार शुक्रबारसम्म गृह मन्त्रालयको टोली रौतहट आउने तयारी रहेको छ । बोस अहिले रौतहट प्रहरीको नियन्त्रणमा छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...