अध्ययनशीलता, समाज परिवर्तन र विकास

अन‌ि यो पनि

समाज परिवर्तन गरिछाड्छु, आर्थिक विकास गरिछाड्छु र नागरिक हुनुको नाताले मुलुकप्रतिको कर्तव्य पूरा गरिछाड्छु भन्ने राजनीतिज्ञ र जनप्रतिनिधिहरु नेपालको हकमा अति न्यून संख्यामा छन् भन्न थालिएको छ हिजोआज । यसरी नागरिक समाजमा निराशावादी कुराहरु किन गरिन्छन् कारणहरुको खोजी गर्न अब जरूरी भइसकेको छ, किनकि समय घर्केला घर्केलाजस्तो भइसकेको छ ।
राणा शासन ठीक छैन भनियो । आन्दोलन गरियो र राणा शासनलाई पल्टाइयो । पञ्चायती व्यवस्था ठीक छैन भनियो त्यसलाई पनि पछारियो । प्रजातान्त्रिक व्यवस्था भनियो २०४६ सालपछि, त्यसलाई डाँडो कटाइयो र यतिबेला संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको अभ्यास गरिँदै छ । अभ्यास गर्दैगर्दा मुलुकको अवस्था एकछेउबाट अर्को कुनासम्म कतै नछाडी हेर्ने हो भने अरु दुनियाँले गरेको भौतिक विकासको गन्ध र झल्को त हिमाल, पहाड र तराईसम्मै देखिन्छ, तर नेपाली आफैँले आफ्नो बलबुता र मेहनतले गरेको समृद्धिवाला नमुना भने कतै फेला पारिन्न, यो हो गज्जबले नरमाइलो लाग्ने कुरा ।
एक कोणबाट यस्तो प्रश्न पनि उठाएको भेटिन्छ कि कतै यो देशमा राष्ट्रप्रेमी नेता र खुबीवाला जनप्रतिनिधिहरुको संख्या नभएरै पो हो कि ? प्रश्न उठाउन पाइन्छ । उठाइयो तर देशलाई माया गर्ने नेता छैन भन्नु वा कम छन् भन्नुचाहिँ बेइमानी हुन्छ, किनकि अहिलेका नेताहरु तिनै वीर र दूरदर्शिता भएका नेताहरुकै सन्तान हुन् अरुका होइनन् । अहिले नेपाली राजनीतिको कमान्ड सम्हाल्नेमध्येमै छन् वीर गणेशमानका सन्तान जसले नागरिक पुग्ने सबैभन्दा माथिल्लो प्रधानमन्त्रीको पद उतिबेलाका राजा वीरेन्द्रले दिँदासमेत कमजोर स्वास्थ्यलाई कारण बनाएर अस्वीकार गर्दै सहकर्मी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पद दिन राजालाई सुझाएका थिए ।
कुनै बेला विश्व राजनीतिक मैदानमा नेपालको तर्फबाट नाम लेखाउन सफल विश्वेश्वरप्रसाद कोइरालाका सन्तान आज पनि नेपाली राजनीतिको शिखरमै छन् । केन्द्रमा मात्र होइन, यतिबेला प्रदेश सरकारमा र प्रदेशसभामा हिजो जनताको मुक्ति आन्दोलनमा भाग लिएका एक से एक समर्पित वीरहरुका सन्तान छन् जो देशलाई मरिमेटेर स्नेह गर्छन् र केही न केही देशका लागि गर्नुपर्छ भन्दैछन् । यतिबेला स्थानीय जनप्रतिनिधिको रुपमा जति पनि नेपाली नागरिकहरु निर्वाचित भएर आएका छन्, अनुमान गरिएको छ कि अपवादलाई छाडेर सबका सब इमानदारितापूर्वक समृद्धि भित्र्याउँछौँ भनिरहेका छन् । तर पनि थुप्रैपटक राजनीतिक व्यवस्था परिवर्तन गरियो, सरकारहरु त अनगिन्ती परिवर्तन भए तर जहिलेसुकै देश जस्ताको तस्तै । आज पनि त्यही गरिबी, त्यही अनुत्पादक शिक्षाप्रणाली, उस्तै भ्रष्टाचार, त्यस्तै ढिलासुस्ती, पुरानै चाकडीमा र नातामा अडिएको न्यायप्रणाली ! गरिब बिरामी भए मर्न पर्ने धनी भए बाँच्ने पाइने, कसैलाई पाइलैपिच्छे कानुन लाग्ने, कसैलाई आजीवन कानुनले नछुने ! संसारका सबै देश आर्थिक समृद्धिको पखेँटा जडान गरेर उडान भरिसके, नेपालको कुनै सुरसारै छैन । आखिर यस्तो किन र कहिलेसम्म ? योचाहिँ मजबुत प्रश्न हो र यसको सही जवाफचाहिँ यहाँनेर देखिन्छ ।
राजनीतिज्ञ वा जनप्रतिनिधि बेइमान भए त कुरै सकियो, इमानदार भएर पनि देश विकास हुन सक्दैन । इमानदार भईकन अध्ययनशील र खुबीवान हुनुपर्छ । इमानदार हुनु समृद्धिका लागि पूरा योग्यता होइन, आधामात्रै हो । थप आधा योग्यता भनेको गहिरो अध्ययन हो । सबैभन्दा पहिला जनप्रतिनिधि र राजनीतिज्ञले राष्ट्रको भूगोल, जनसंख्या, रीतिरिवाज, चाडपर्व, राष्ट्रिय गान, मुलुकको संविधान, संविधानसँग नबाझिने गरी बनाइएका ऐन कानुन, मानवअधिकार, मौलिक हक, मुलुकभित्रको उत्पादनको अवस्था, सामान आयात कति, निर्यात कति, मुलुकभित्र कुन–कुन उमेरका कति जनसंख्याको उपस्थिति रहेको छ, रोजगारी र बेरोजगारीको अवस्था कस्तो छ ? उत्पादन गर्न सक्ने युवायुवतीको संख्या कति छ, खर्च र खपत गर्ने जनसंख्याअन्तर्गत बालबालिका र वृद्धवृद्धाको संख्या कति छ हिसाब गर्नुपर्छ । भौतिक समृद्धिका लागि पहिले बाँच्ने कुराले प्राथमिकता पाउँछ, त्यसका लागि अन्य विषयमा छूटसम्म दिँदा हुन्छ तर स्वास्थ्यचाहिँ निःशुल्क हुन सके वा नाममात्रको शुल्क तोकिएको अवस्था हो भने यसले उपल्लो तहको टेवा पु¥याउँछ । यो कोणबाट यसरी व्याख्या गर्दा यही निष्कर्षमा पुगिन्छ कि इमानदार जनप्रतिनिधि र राजनीतिज्ञहरुले जान्नैपर्ने र सिक्नैपर्ने विषयहरु हुन्छन् जहाँ यतिबेलाका राजनीतिज्ञहरु र जनप्रतिनिधिहरु यस्ता सिक्न पर्ने र अध्ययन गर्न पर्ने विषयबाट टाढा रहेको देखिन्छ । एउटा सानो उदाहरण यहाँ प्रस्तुत गरौँ ।

“सयौँ थुँगा फुलका हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका
मेची महाकाली

सयौँ थुँगा फुलका हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका
मेची महाकाली

प्रकृतिका कोटी कोटी
सम्पदाको आँचल
वीरहरुको रगतले
स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्ति भूमि
तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो
मातृभूमि नेपाल

बहुल जाति भाषा
धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो
जय जय नेपाल”
अब जिज्ञासाको उत्तर जनप्रतिनिधिले दिने आँट गर्नैपर्छ । राजनीतिज्ञहरुले घोत्लिएर अब विचार गर्नैपर्छ कि कम्तीमा हरेक राजनीतिज्ञ र जनप्रतिनिधिले नेपालको राष्ट्रिय गान गाउन सक्ने क्षमता राख्ने कि नराख्ने ? आफ्नो देशको राष्ट्रिय गानबारे समेत जानकारी नभएका नागरिक कसरी जनप्रतिनिधि वा उपल्लो तहका राजनीतिज्ञ हुन सक्छन् ? कसैलाई होच्याउन खोजिएको होइन । देशका बारे समान्यभन्दा सामान्य जानकारी अब नराख्ने हो भने जनप्रतिनिधिको रुपमा रातो कलम गोजीमा भिर्नुको केही अर्थ रहन्न ।
जनप्रतिनिधिको रुपमा एक नागरिक रुपान्तरित भएपछि विदेशका गतिविधि र आर्थिक समृद्धिको ढाँचाबारे जानकारी लिने उद्देश्यले प्लेन चढ्नु एक प्रकार बाध्यता हुन सक्छ । आफ्नो देशको अवस्थाबारे स्पष्ट भन्न र अर्को देशको सबै खाले अवस्थाबारे जानकारी लिन हरेक जनप्रतिनिधि र राजनीतिज्ञहरुलाई अन्तर्राष्ट्रिय अंग्रेजी भाषा बोल्नैपर्ने हुन्छ । अंग्रेजी भाषा संसारमा सबैभन्दा सजिलो भाषा पनि हो, तर हाम्रा राजनीतिज्ञ र जनप्रतिनिधिहरुले अंग्रेजी भाषाबिना नै आफूलाई दुनियाँको धर्तीमा टेकाइरहेको दाबी गरेका छन् । यो अवस्थाले मुलुकलाई हित गर्दैन । कुरा अंग्रेजीको मात्रै होइन, सम्भव भएसम्म मुलुकभित्र विभिन्न जातका मानिसले बोल्ने विभिन्न भाषाहरुबारे समेत जनप्रतिनिधि र राजनीतिज्ञहरुले जानकारी हासिल गर्न अनिवार्य छ । यस्तो अवस्था सिर्जना गर्न सकियो भने जनप्रतिनिधिले विपन्न वर्गका समस्या थाहा पाउन सक्छन् भने कमजोर वर्गका विभिन्न जातिले आफन्त महसुस गरी समस्यालाई सजिलोसँग बताउन सक्छन् । जनप्रतिनिधि र राजनीतिज्ञको सम्बन्ध भाषामार्फतै निकट हुन पुग्छ । समस्या थाहा नपाई समाधान खोज्न कठिनाइ हुने हुुँदा समस्या थाहा पाउन पनि जिम्मेवारहरुले देशभित्र बोलिने भाषाहरुबारे जानकारी राख्न अनिवार्य हुन आउँछ ।
समस्या कहाँनेर पनि देखिन्छ भने जनप्रतिनिधिहरु योग्य र सक्षम भएनन् भने आफू मातहतका कर्मचारीले नै झिलिमिली पार्न सक्छन् । मुखले हजुर त भन्लान् तर मनमनै खुबी नभएका र अध्ययनबाट टाढा रहेका इमानदार जनप्रतिनिधिहरुलाई कर्मचारीले घुमाइफिराइ अपमानै गर्छन् । कानुनी झमेलाबारे जानकारी नदिन पनि सक्छन् । यसकारण आज जति पनि देशभरि इमानदार जनप्रतिनिधि र राजनीतिज्ञहरु छन् आफ्नो आत्मसन्तुष्टि र सेवाभावलाई सार्थक तुल्याउन पनि अध्ययनशील हुन जरूरी छ । यत्तिचाहिँ हार्दिक निवेदन छ– सकेसम्म देश र जनताबारे बुझ्नू, होइन भने कम्तीमा नेपालको राष्ट्रिय गान गाउन नजान्नेहरुले चाहिँ नेपालको राजनीतिक फाँटबाट आजैदेखि बिदा लिँदा हुन्छ ।

प्रतिकृया

मुख्य समाचार

कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया