कोरोना कहर : जितिया मनाउन राहतको भर

अन‌ि यो पनि

सौराहा । रत्ननगर नगरपालिका वडा नं–७, मालपुरमा बस्दै आएका सीमान्तकृत मुसहर समुदायका महिलाहरुले हरेक वर्ष जितिया मनाउँदै आएका छन् । आदिवासी थारु समुदायले मनाउँदै आएको जितिया मुसहर समुदायले पनि आफ्नो क्षमताअनुसार मनाउने गरेका छन् ।
आर्थिक अभावका कारण कष्टकर जीवनयापन गर्दै आएका मुसहर समुदायले ज्याला मजदुरी गरेर कमाएको पैसाले मीठोमसिनो खाएर जितिया मनाउने गरेका थिए । तर, यसपटकको जितिया मनाउन त्यति सजिलो छैन । लकडाउन र निषेधाज्ञाका कारण विगत ६ महिनादेखि मुसहर समुदायले ज्याला मजदुरी र मेलापात गर्न पाएका छैनन् । आम्दानीको स्रोत नभएर उनीहरुलाई बिहान–बेलुका छाक टार्न पनि समस्या भएको छ ।
जितियामा मुसहर समुदायका महिलाहरुलाई नयाँ लुगा, फलफूल र पूजा सामग्रीहरु आवश्यक पर्छ । विगतका जितियाहरुमा उल्लेखित सबै सामग्रीहरु जुटाएर मुसहर समुदायले जितिया मनाउने गरेका थिए । तर, यसपटक जितिया मनाउन आवश्यक पर्ने सामग्री किन्ने पैसा मुसहर समुदायसँग छैन । ‘काम गर्न कतै जान पाइएको छैन’, बस्तीकी रीता मुसहरले भनिन्, ‘पैसा छैन, कसरी जितिया मनाउनु !
घरमा अन्न नभएर जितिया मनाउन सक्ने अवस्था नरहेको भन्ने कुरा थाहा पाएपछि जितियाको अघिल्लो दिन सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले बस्तीका ४१ परिवारलाई राहत दिएको छ । ‘घरमा अन्न छैन’, रीताले भनिन्, ‘यसपालिको जितिया राहतले मनाउने हो ।’ नयाँ कपडा र फलफूल किन्ने आफूसँग पैसा नभएको भन्दै उनले राहतस्वरुप पाएको अन्नले मात्र जितियामा रमाइलो नहुने बताइन् । जितियामा फलफूल र पूजाका सामग्रीहरु अनिवार्य हुने भन्दै उनले ती सामग्री किन्ने आफूसँग पैसा नभएको बताइन् ।
जितिया मनाउन सक्ने अवस्था नरहेको भन्दै रत्ननगर वडा नं–७ को वडा कार्यालयले राहत प्रदान गर्ने लिखितरुपमा आग्रह गरेपछि ४१ मुसहर परिवार र १ कुमाल गरी ४२ परिवारलाई राहत प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सपना भिलेजले प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, १ किलो नुन, सोयाबिन, १ लिटर तेल प्रदान गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । उनले प्रतिपरिवार दुईवटा मास्कसमेत वितरण गरिएको जानकारी दिए । वडा सदस्य भगन्ती माझीको रोहवरमा इम्प्याक्टका अध्यक्ष गिरीले राहत हस्तान्तरण गरेका थिए ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्या झेल्दै आएका विपन्न समुदायलाई सपना भिलेजले विगत ६ महिनाअघिदेखि राहत वितरण प्रदान गर्दै आएको छ । सपना फुड बैंक स्थापना गरी रत्ननगर, खैरहनी, इच्छाकामनाका विपन्न समुदायलाई राहत वितरण गरिसकेको छ । स्थानीय सरकारसँग सहकार्य गरी काम गरिरहेको सपना भिलेजले चितवनका चेपाङ समुदायको आयआर्जन र विकास तथा विपन्न समुदायलाई आवास निर्माणको काम गरिरहेको छ । मुसहर समुदायको जीवनस्तर उकास्न आयआर्जनको काम सुरू गर्ने योजना बनाएको छ ।
मुसहर समुदायका महिलाहरुको समूह बनाएर उनीहरुलाई तरकारीखेतीमा आकर्षित गर्ने योजना रहेको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । राहत वितरण कार्यक्रमको सहजीकरण इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले गरेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया