क्यान्सर अस्पताल भन्छ – ‘स्रोतका कारण पिसिआर निःशुल्क गर्न सकेनौँ’

अन‌ि यो पनि

भरतपुर । चितवनको भरतपुर अस्पताल र मेडिकल कलेजमा कोभिड–१९ को उपचार निःशुल्क भइरहँदा देशकै प्रतिष्ठित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले भने कोरोना परीक्षणबापत बिरामीसँग चार हजार रूपैयाँ लिने गरेको छ । बाहिरी जिल्लाबाट आएका क्यान्सरका बिरामी र आफन्तहरुलाई यहाँ खान–बस्न समस्या परिरहेका बेला पिसिआर परीक्षणको समेत चर्काे मूल्य तिर्नु परेको बिरामीहरुको गुनासो छ ।
क्यान्सर अस्पतालले भने स्रोतका कारण बिरामीको पिसिआर निःशुल्क गर्न नसकिएको बताएको छ । कोभिड परीक्षणमा सरकारले सहयोग नगर्दा लागत खर्चअनुसार बिरामीले न्यूनतम शुल्क तिर्नु परेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए । ‘अस्पतालको स्रोतका कारण निःशुल्क गर्न नसकेको हो, बिरामीको ढाड सेक्नका लागि गरिएको होइन, न्यूनतम खर्च त तिर्नुप¥यो’, उनले भने ।
अस्पतालले भिटिएमको ५ सय र कोभिड–१९ पिसिआर परीक्षणका लागि भनेर ३५ सय रूपैयाँ बिरामीसँग लिने गरेको छ । परीक्षणमा दुई हजार रूपैयाँमात्रै खर्च लागे पनि शतप्रतिशत बढी शुल्क लिइएको अस्पताललाई आरोप लागेको छ । भिटिएम खरिदमा समेत सस्तोमा ल्याउनेलाई टेन्डर नदिएर महँगोमा ल्याउनेलाई दिइएको आरोप छ ।
भिटिएम किन्दा महँगो परेको उनले पनि स्वीकार गरे । थप भिटिएम खरिदका लागि नयाँ टेन्डर खुलिसकेको उनले बताए । अब पर्ने भिटिएमको मूल्यअनुसार पिसिआर परीक्षणको नयाँ मूल्य तोकिने उनको भनाइ छ । ‘सरकारले चार हजार चार सय तोकेकोमा हामीले भिटिएमबाहेक ३५ सयमा गरेका छौँ’, उनले भने, ‘पहिला भरतपुर कोभिड अस्पताल लैजान्थ्यौँ, त्यहाँ रिपोर्ट आउनै एक हप्ता लाग्ने भएपछि हाम्रा बिरामीलाई छिटो होस् भनेर ल्याब स्थापना गरेका हौँ ।’
कोभिड परीक्षणमा आर्थिक सहयोग उपलब्ध गराउन भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरिएको तर सहयोग प्राप्त नभएको उनले बताए । आफ्नो स्वार्थ पूरा नभएपछि केही व्यक्तिले महँगो भयो भन्ने कुरा निकालेको उनले बताए । अस्पतालले सरकारले तोकेको भन्दा पनि कम शुल्कमा परीक्षण गराइरहेको उनको भनाइ छ । क्यान्सर अस्पतालले आइतबारदेखि आफ्नै ल्याबमा कोरोनाको पिसिआर परीक्षण सुरू गरेको हो । बुधबारसम्म ३९१ जनाको पिसिआर भएको अस्पतालले जनाएको छ ।
पिसीआर उद्घाटन
विपी जयन्तीको अवसर पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अस्पतालमा रहेको पिसीआर प्रयोगशाला बुधबार विधिवतरुपमा उद्घाटन गरेको छ । विपीकै नामबाट स्थापना भएको सो अस्पतालले उनको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।
सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र बुधबारबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिए । अस्पतालले पिसीआर परीक्षण शुल्क रू तीन हजार ५०० तय गरेको छ । एक दिनमा ४०० सम्म नमुनाको परीक्षण गर्न सकिने उनकोे भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेरमात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ ।
चिनियाँ टोलीलाई स्वागत
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३औँ चिनियाँ चिकित्सक टोलीलाई स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमितरुपमा १५ विशेषज्ञ चिकित्सकसहित १७ जनाको टोली पठाउँदै आएको छ । विगत तीन वर्षयता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया