नारायणगढ । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको छैटांै राष्ट्रिय सम्मेलन चितवनको नारायगढमा सोमबारबाट सुरू भएको छ ।
‘राष्ट्रियताको रक्षा गणतन्त्रको सुदृढीकरण र संघीयताको खारेजीका लागि हाम्रो अभियानलाई युवा अधिकार र आमुल परिर्वतनको दिशामा छैटौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सुरू भएको सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा कार्यकारी अध्यक्ष नेपालीले तोकिएको समयमा नै संविधान निर्माण गर्नको लागि युवाहरुले दबाब दिनुपर्ने बताउनु भएको छ । नेपालको संविधान कानुनी रुपमा वैधानिक नभएको भन्दै उहाँले राजनीतिक दलहरु छिटोभन्दा छिटो संविधान निर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो । नेपालीले अहिले शीर्ष राजनीतिक दलका नेताहरुले संविधान निर्माण गर्नभन्दा पनि आन्तरिक झगडामा फसेको भन्दै संविधान निर्माण गर्न राजनीतिक दलहरु नलागेको आरोपसमेत लगाउनुभयो ।
देशमा संघीयताले राज्यलाई विखन्डनतर्फ लाने भन्दै उहाँले संघीयता खोरज गर्न अगाडि नबढ्ने हो भने राष्ट्रिय अस्मिता लोप हुने दावी गर्नु भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले समाज परिर्वतनका लागि युवाहरु अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले अहिले युवा शक्तिहरु विदेसिनाले नेपालमा नेतृत्व गर्ने युवाहरु नभएको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य देवराज पौडेल, अखिल नेपाल विद्यार्थी संघका अध्यक्ष अनिलकिशोर घिमिरे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, तराई मधेस केन्द्रीय मञ्चका अध्यक्ष रामबहादुर शाह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरी, अखिल नेपाल उद्योग संघका अध्यक्ष भैरव रेग्मी अखिल नेपाल महिला संघकी महासचिव सरस्वती पौडेललगायतले बोल्नु भएको कार्यक्रममा अखिल नेपाल युवा संघका उपाध्यक्ष जितामित्र सुनुवारले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post