रमेशकुमार पौडेल
यो पटक लामो समयको अन्तरालपछि चितवनमा सिकारीले गैँडा मारे । दुर्लभ वन्यजन्तु गैँडा मार्नु भनेको ठूलो अपराध हो । विसं २०६९ सालको फागुन ५ गतेयता यस्तो अपराध भएको थिएन । गएको वैशाख १९ गते मध्यरातमा तस्करहरुले गोली हानेर गैँडा मारे । गैँडाको नाकमाथि हुने सिङजस्तो अंग खागका लागि तस्करहरुले गैँडा मार्छन् । यसपटक पनि खाग निकालेर छाडेको गैँडाको मृत शरीर निकुञ्जका अधिकारीहरुले घटनाको भोलिपल्ट मात्रै भेट्टाए, जब कि गैँडा मार्न गोली चलेको निकुञ्जमा तैनाथ सुरक्षा पोस्टमै सुनिएको थियो । चोरीसिकारविरूद्ध निकुञ्ज निकै आक्रामक रुपमा लागेको समय हो । यस्तो बेलामा पनि तस्करहरु सजिलै उम्के ।
त्यसो त, निकुञ्जमा तैनाथ सेनाको पुरानो गण हालै परिवर्तन भएको छ । त्यसैले नयाँ सुरक्षाकर्मीले मेसो पाउन सकेनन् कि भनेर पनि सोच्न सकिन्छ । तर, गैँडा मारेपछि खाग लिएर तस्करहरु डाँडा कटेको घटना यो मात्रै होइन । प्रायः सिकारीहरुले गैँडा मारेर खाग उम्काएपछि सजिलै समातिन नसक्ने घटनाहरु अनेक छन् । गैँडा मारेपछि सुरक्षाकर्मीको सक्रियताका कारण खाग लैजान नपाएका घटना नभएका होइनन्, तर त्यस्तो बिरलै हुने गरेका छन् ।
निकुञ्जले गैँडा मार्न ठिक्क परेकाहरुलाई बन्दुक र पासोसहित समाएका घटनाहरु बरू प्रशस्तै छन् । तर, घटना भएपछि तत्काल अपराधीहरु किन समातिँदैनन् ? योचाहिँ सोचनीय विषय बनेको छ । घटना भएको एक वर्ष, दुई वर्ष, चार वर्ष र १० वर्षपछि पनि मान्छे समातिने गरेका छन् । लगातार नौ, दसवटा गैँडा मारेर खाग उम्काएको अपराधी समाउन पनि निकुञ्जलाई दशक नै लाग्ने गरेको देखिएको छ । गैँडा मारेपछि तत्काल खागसहित कतिलाई समाउनुभएको छ भनेर सोध्ने हो भने अधिकारीहरु नाजवाफ हुने गर्छन् ।
अपराधीहरुलाई पछ्याउन निकुञ्जले आधुनिक विधिहरुको पनि प्रयोग नगरेको होइन । तालिम प्राप्त कुकुरहरुको पनि उपयोग हुन थालेको छ । तर, खाग लिएर कुदेका अपराधीहरुलाई समाउन अझै सफलता मिलेको छैन । निकुञ्जले यो पटक पनि तालिम प्राप्त कुकुर ल्यायो, तर नतिजा उही खाली हात मात्रै भयो । गैँडा, बाघजस्ता दुर्लभ वन्यजन्तु जोगाउन राज्यले ठूलो लगानी गरेको छ । चितवन निकुञ्जमा मात्रै कुरा गर्ने हो भने पनि एउटा गण र एउटा अर्को गुल्मका गरेर झन्डै ११ सय सुरक्षाकर्मी गैँडा र बाघका लागि भनेर तैनाथ छन् । निकुञ्ज प्रशासनको पनि आफ्नो सुरक्षा र सुराकी संयन्त्र छ । हामी सर्वसाधारणले सुन्दा लाग्छ, निकुञ्ज सुरक्षाको मजबुत किल्लाभित्र रहेको छ ।
तर, यो अभेद्य किल्लाभित्र पनि चोरीसिकारी र तस्करहरु सक्रिय हुन्छन्, अनि आफ्नो काम सकेर सजिलै बाहिर पनि आउँछन् र आफ्नो सुरक्षित गन्तव्यमा पनि सजिलै पुग्छन् । पहिला निकुञ्ज क्षेत्रबाट उम्केपछि समातिन गाह्रो पनि थियो । किनकि, गैँडा मार्नेलाई समाउने भनेको निकुञ्जका मान्छे र त्यहाँ तैनाथ सेनाले मात्रै हो भन्ने जस्तै थियो । पछिल्लो समय प्रहरीले पनि तस्करहरु समाउन सक्रियता देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सीआईबी) यो काममा लागेको छ । सीआईबीको सक्रियताले धेरै पुराना–पुराना नामुद सिकारी र तस्करहरु गिरफ्तार भए । तर, सीआईबीको सक्रियता सुरू भएपछि पनि गैँडा मारेर रगत चुहुँदै गरेको खाग बोकेर हिँडेका तस्करहरु समातिन सकेका छैनन् ।
निकुञ्जका लागि तैनाथ सुरक्षा संयन्त्रले पहिलो काम गैँडा, बाघलगायतका दुर्लभ वन्यजन्तुको सिकार नै हुन दिनुभएन । यो काममा धेरै हदसम्म सफलता मिल्दै पनि गएको छ, तर घटना भएपछि अपराधमा संलग्नहरु तत्काल समातिनुपर्छ । सुरक्षाका दृष्टिले यो प्रमुख सर्त हो । तर, निकुञ्जको सुरक्षा संयन्त्र दोस्रो काममा भने असफल नै छ । यस्तो किन हुने गरेको छ ? निकुञ्ज प्रशासनले कहिल्यै विचार–विमर्श गरेको छ कि छैन कुन्नि ?
कुनै अपराधीले कसैको हत्या गरेमा हामी अन्य कुराभन्दा पनि सबैभन्दा पहिले हत्यामा संलग्नहरु गिरफ्तार होऊन् भन्ने चाहन्छौँ । प्रहरीले सबैभन्दा पहिले त्यस्ताको पहिचान गरोस्, उनीहरुलाई समाओस् भन्छौँ । अपराधमा संलग्नहरु तत्काल समातिएनन् भने हामी प्रहरी असफल भयो भन्छौँ । आपराधिक घटना हुनै नदिनु सबैभन्दा राम्रो हो । घटना भएपछि त्यसमा संलग्नहरु तत्काल समातिनु पनि सुरक्षाकर्मीको सफलता मानिन्छ । यही कुरा वन्यजन्तु अपराधमा किन लागू हुँदैन ?
हजार बढी सुरक्षाकर्मी र प्रशासन संयन्त्रलाई छक्काएर एकाध मान्छेहरु कसरी सफल भएका
होलान् ? हामी सर्वसाधारण र संरक्षणकर्मीहरु पनि यसरी घोत्लिने र सम्भावित कारणहरुका पत्रहरु केलाउनेतर्फ पनि लागेका छैनौँ, न त निकुञ्ज प्रशासनलाई नै कहिल्यै यसरी सोधेका छौँ । अपराधीहरु खागका लागि लामो समयसम्म कुरेर पनि बस्दा रहेछन् भन्ने देखिएको छ । विसं २०६७ सालयता वर्षमा फाट्टफुट्ट गैँडा मर्न थालेका छन् । ६७ साल पुस १९, ६८ सालको चैत्र २०, ६९ सालको फागुन ५ पछि ७१ सालको वैशाख १९ मा तस्करहरु गैँडा मार्न सफल भए । पूरै ७० सालमा निकुञ्जका एउटा पनि गैँडा मरेनन् ।
राज्यको सानो प्रयास र लगानीले यो सफलता मिलेको होइन । यस्तो सक्रियता बढेका बेलामा पनि एकाध घटना नहुने होइन । तर, तत्काल अपराधी समाउन नसक्ने कमजोरीलाई सुधार्न निकुञ्ज प्रशासनको किन ध्यान नगएको हो ? यो पुरानो रोग हो । उपचार नखोजे रोग झनै बल्झेर गम्भीर खालका समस्याहरु ल्याउँछ । वर्षमा एकाध घटना मात्रै गराएर भए पनि तस्करहरु आफ्नो उपस्थिति कायमै राख्ने योजनामा रहेको देखिएको छ । घटना गराएपछि सामानसहित सजिलै उम्कँदा उनीहरुको मनोबल बढेर जान्छ । गैँडा मारेका तत्कालै अपराधीहरु पनि समातिन थालेमा अवस्था अर्कै बनेर आउने छ । गोली चलेको आवाज सुरक्षा पोस्टहरुमा सुनिँदा पनि तस्करहरु खाग बोकेर सुरक्षित तरिकाले निस्कन सक्छन् भने योजस्तो कमजोरी अथवा लापरबाही अरु के हुन सक्छ ?
एकाध घटना भएका भए त्यसलाई कमजोरी पनि भनेर नजरअन्दाज गर्न सकिन्थ्यो होला, तर विगतका थुप्रै घटनामा यस्तै भएको छ । तस्कर गैँडानजिक पुग्न सक्यो भने गोली हान्छ, खाग झिक्छ अनि खाग बोकेर उम्कन पनि सफल हुँदै आएको छ । यो क्रमलाई निकुञ्जले रोक्न सक्नुप¥यो, नभए निकुञ्जले लापरबाही गरेको छ है भन्ने बुझाइ निर्माण हुनेछ । पूरै राज्यका तयारीका कारण उचित मौकाका लागि धैर्य गरेर बसेका तस्करहरु सफल हुनुको रहस्य के हो ? निकुञ्ज प्रशासनले खोजबिन गर्न आवश्यक छ ।
Discussion about this post