शान्ता अधिकारी
राम्रा–नराम्रा दिनको अनुभव एकैदिनमा तीतामीठा दुवै मिसिएर आइदिन्छन् । कसैको खुसीमा सुख साटासाट गर्दागर्दै अर्को दुःखी
भैदिन्छ । हाँस्दाहाँस्दै छिनभरमै आँसु झरिदिन्छ । यसरी नै बितिरहेका छन्, ४२ वर्षीया मीना खरेलका जीवनका पलहरु । नाममा मात्र सीमित छैन, चार सयभन्दा बढी न्याय माग्दै हिँडेका महिलाहरुलाई न्यायको बाटो देखाइदिने समाजसेवी दिदी मीना खरेलको जीवन ।
सरल जीवन छ उनको । न त उनलाई बजारको रमझमतिर ध्यान छ, न त श्रृंगार गर्नतिर । उनलाई दिनरात चिन्ता छ त हाम्रो घरमा रहेका नानीबाबुको कसरी उज्ज्वल भविष्य बनाइदिने र आदर्श गृहमा रहेका दिदीबहिनीहरुलाई कसरी न्याय दिने भन्नेबारेमा ।
समाजमा आफूलाई स्थापित बनाउने काम गाह्रै हो । महिलाको कुरा गर्ने हो भने त झनै कठिन
हुन्छ । यस्ता सबै कुरा आफ्नो पÔमा नभए पनि सफलता चुम्नु आफैँमा गर्वको कुरा हो । २०२९ साल कार्तिक १२ गते चितवनको भरतपुर–५ लंकूमा जन्मिएकी मीना खरेलले कहिल्यै नामका लागि काम गरिनन् । आफ्नो भित्री आत्मसन्तुष्टिका लागि २०४९ साल जेठ महिनामा तत्कालीन समयमा आदर्श नारी क्लब, हाल आदर्श गृहको स्थापना गरी संस्थापक सचिवमा रहेर समाजमा रहेका महिलाहरुले भोगेका उत्पीडन र दमनका विरूद्ध काम गर्न संस्थागत रुपमा नै लागी परिन् ।
पुरूषप्रधान हाम्रो समाजमा मीना महिला भए पनि उनले गरेका कामहरुका बारेमा सबैले एकचोटि सोच्न बाध्य हुन्छन् । वाबु स्वर्गीय जयभक्त खरेल र आमा पार्वती खरेलकी सातौँ सन्तान उनी एक आदरणीय समाजसेवीका रुपमा चिनिइरहँदा उनले समाजसेवाको २२ वर्षे दौरानमा केही पाएकी छन् भने केही गुमाएकी पनि छन् । गुमाउँदा उनलाई कुनै चिन्ता भने छैन । उनले यो सफलता प्राप्त गर्नुअघि जीवनका भोगाइहरु धेरै नै कष्टप्रद रहे ।
एकैदिनमा पाँच जनासम्म महिलाहरु विभिन्न समस्या लिएर उनीकहाँ आउने गर्दछन् । हँसिलो अनुहार, केही खोजीरहेजस्तो लाग्ने दिदी एकै स्वरमा भगवान्को कृपाले बाँचिएको छ भछिन्न् । त्यो सुन्दा केहीबेर त म घोरिन बाध्य पनि भए ।
मैले उनलाई सोधेँ– समाजसेवामा लाग्दा पनि बाँच्न
गाह्रो ? मेरो जिज्ञासामा दिदी मुसुक्क हाँस्दै भन्छिन् ः ‘न्याय नपाएका महिलाहरुलाई न्यान दिन खोज्दा धेरै असुरक्षा हुँदोरहेछ । त्यो असुरक्षाका बाबजुद पनि अहिलेसम्म चार सयभन्दा बढी महिलाहरुका निम्ति न्यायका लागि लडिसकेँ ।’
तीस मिनेटको बसाइँमा हतारमा देखिएकी दिदीले लामो सास फेर्दै केहीबेर मलाई नियालेर हेरेपछि फेरि भन्न थाल्छिन्– ‘दिदीवहिनीहरुलाई न्याय दिन सकेको दिन राम्रोसँग
निद्रा लाग्छ ।’
मीना दिदीको जीवन आफैँमा सुन्दर छ– बाबुले कमाएर छोडेर गएको अरबौँ रूपैयाँ, डिग्री पास, ऐस–आरमले जिउन सक्ने हैसियत आदिआदि । गाडी चढेर हिँड्न सक्थेँ, तर मेरो आत्माले त्यो मान्दैन । समाजमा छोरी भएर हेपिनुहुँदैन भन्ने उनी छोरी भएरै केही गर्न सकून् भन्ने प्रेरणाकी खानीसमेत हुन् । उनीबाट हामी सबै दिदीबहिनीहरुले केही कुरा सिक्ने कि !
आफ्नो जन्मघरले दुई छाक खान र बस्न दिएकोमा गर्व गर्ने दिदी भन्छिन् ः ‘धन्न मलाई घरपरिवारको बलियो साथ छ । हाम्रो यो समाजमा अविवाहित भएर समाजसेवामा लाग्नु भनेको पहाड फोर्नुसरह हो ।’
जीवनमा कुनै दाग नलगाएकी दिदी मीना सधैँ केही न केही पीडा बोकेर आउने दिदीबहिनीहरुलाई आफैँ सजग हुन सके धेरै घटना नहुने भन्दै सुन्दरता पनि एक हिंसाको रुप भएको बताउँछिन् । महिलाका घटनामा बाहिरी सौन्दर्यले पनि भूमिका खेल्दोरहेछ । दिदी भन्छिन् ः ‘भित्री सुन्दरता आवश्यक छ, बाहिरी सुन्दरता शत्रु हो ।’
सकारात्मक सोचका साथ संघर्ष गर्नुपर्छ भन्ने उनी पीडित महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र आदर्श गृहकी संस्थापक अध्यक्ष, आदर्श नारी विकास केन्द्रकी निवर्तमान अध्यक्ष, सडक बालबालिका पुनस्र्थापना केन्द्र हाम्रो घरकी संस्थापक अध्यक्ष, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्षलगायतका दर्जनौँ संघसंस्थामार्फत समाजसेवामा सक्रिय छिन् ।
बिहानदेखि राति आठ–नौ बजेसम्म आदर्श गृहमा रहेका २३ जना दिदीबहिनी र हाम्रो घरमा रहेका १७ जना बालबालिकाहरुको रेखदेख तथा खानपिनमा व्यस्त हुने मीनालाई त्यत्तिकै आदर्श गृहमा रहेका महिलाहरुको न्यायका लागि पनि सरोकारवाला संघसंस्थाकहाँ
पुग्नुपर्ने हुन्छ ।
अविवाहित उनले विवाहलाई कहिल्यै पनि प्राथमिकता दिइनन् । उनी भन्छिन् ः ‘विवाह मेरो जीवनमा अनिवार्य कुरा होइन । विवाह–बन्धनमा परेको भए यसरी समाजसेवामा हात फिँजाउन पाउने थिइनँ होला । म आफ्नै गर्भबाट जन्मेका बच्चाहरुका लागि स्वार्थी हुन्थेँ होला । अहिले म चराजस्तै स्वतन्त्र छु, धेरै–धेरैकी दिदीबहिनी भएकी छु ।’
‘हाम्रो घर’मा स–साना नानीबाबुहरु भए पनि ती सबैकी आमा नभई दिदी नै हुन चाहन्छिन् उनी । खरेल भन्छिन् ः ‘जन्म दिने सबै आमा हुँदैनन्, कर्म दिन सक्नुपर्छ । म सबैकी दिदी हुन चाहन्छु । जोखिममा परेका बहिनीहरुलाई नयाँ जीवन दिन चाहन्छु ।’
समाजसेवामार्फत दर्जनौँ पुरस्कार तथा मानसम्मान पाएकी करूणा र मायाले भरिएकी मीना करूण सम्मान, नेपाल प्रहरी प्रधान कार्यालयको सामाजिक सेवा सम्मान, लुम्बिनी बैंक लिमिटेडद्वारा प्रदान गरिने सामूहिक उत्तरदायित्वलगायत दर्जनौँ पुरस्कारबाट सम्मानित छिन् । सम्मानमा मात्र हैन, अपमानमा पनि हा“स्न सिक्नुपर्ने बताउँछिन् उनी ।
आदरणीय दिदीको जीवन कतै आफन्तको प्रहार त कतै पराईको प्रहारबाट पीडित दिदीबहिनीहरुको न्यायका लागि सदैव लागिरहोस् । सलाम छ करूणाकी खानी मीना खरेललाई !
Discussion about this post