‘कोरोनाको बहानामा मृगौलाका विरामीलाई नमार’

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरस (कोभिड १९)को बहानामा भरतपुर अस्पतालले मृगौलाका विरामीहरुलाई मार्न खोजेको विरामीका आफन्तहरुले गुनासो गरेका छन् । हप्तामा दुई पटक मृगौलाको डायलिसिस गर्नुपर्ने विरामीलाई कोरोनाको बहानामा हप्तामा एक पटक मात्रै गर्ने गरीएको उनीहरुको भनाइ छ ।

हप्तामा दुई चोटी डायलिसिस गर्नुपर्ने विरामीको एकचोटी मात्रै डायलिसिस हुँदा विरामीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको राप्ती १ नयाँबस्तीका दिपक कुमार श्रेष्ठ बताउँछन् । उनले ८५ बर्षीय बुबा तप्त बहादुर श्रेष्ठलाई करिब तीन बर्ष देखि भरतपुर अस्पतालमा मृगौलाको उपचार गराउँदै आएका छन् ।

‘हप्तामा एकचोटि डायलिसिस गर्न थालेको दुई हप्ता भन्दा बढी भयो’, उनले भने, ‘कर्मचारीलाई कोरोना लाग्यो, हामीले मात्रै सक्दैनौँ भनेर डायलिसिस घटाइयो । मेसुलाई गएर भन्दा पनि सम्भव छैन जस्तो कुरा गरे ।’ हप्तामा एकचोटि मात्रै डायलिसिस गर्न थालेपछि दम बढ्ने, मुटुको धड्कन रोकिने जस्तो हुने, मुर्छा पर्ने जस्ता समस्या देखिन थालेको उनले बताए ।

गएको शुक्रबार मृगौलाको डायलिसिस गरेर बुबालाई घर लगेपछि आइतबार समस्या देखिएको उनले बताए । नियमित डायलिसिस हँुदा तप्त बहादुरको मंगलबार र शुक्रबार मृगौलाको डायलिसिस हुने गरेको थियो । ‘आइतबार बिहान ल्याएको डायलिसिस गराइदिनै मानेनन्’, उनले भने, ‘कराउँदा र रिक्वेस्ट गर्दा गर्दा राति मात्रै गरिदिए । बल्ल बल्ल पालो दिए ।’ ग्लोब्स, टेप, हेपारिन जस्ता बस्तुहरु पनि विरामीलाई नै किन्न लगाइएको उनले गुनासो गरे । डायलिसिस गर्दा हरेक पटकमा चेन्ज गर्नुपर्ने डाइलोजर दश पटकसम्म प्रयोग गर्ने गरिएको उनले बताए ।

भरतपुर अस्पतालमा मृगौलाका १२० जना विरामीले उपचार गराइरहेका छन् । त्यसमध्ये हप्तामा दुई पटक मृगौलाको डायलिसिस गर्नुपर्ने विरामी करिब ९० जना जति छन् । मृगौलाको डायलिसिस गर्दा एक पटकको लागि सरकारले विरामीलाई २५ सय रुपैयाँ दिने उनी बताउँछन् । भरतपुर अस्पतालमा डायलिसिस गर्ने मेसिन १० वटा छ । लकडाउन अगाडि नै बिग्रीएको २ वटा डायलिसिस गर्ने मेसिन अझै बनाइएको छैन ।

दुई वटा मेसिन बन्ने क्रममा रहेको र एउटा मेसिन डायलिसिस गर्नुपर्ने कोरोनाका विरामीका लागि राखिएकाले कोरोना नभएका मृगौलाका विरामीहरुको पर्याप्त डायलिसिस गर्न नसकिएको भरतपुर अस्पतालका प्रमुख मेसु श्रीराम तिवारीले स्विकार गरे । ‘आठ वटा मेसिनमध्ये एउटा कोभिडका लागि छुट्याएका छौँ’, उनले भने, ‘कोभिडका ८ जनालाई एउटाले मात्रै नपुग्न सक्छ अरु ल्याउन पर्ने हुनसक्छ । सक्दो गरिरहेका छौँ ।’

कोभिड र ननकोभिडका लागि मेसिन छुट्याउँदा मेसिन अपुग भएको उनले बताए । डायलिसिसका थप ५ वटा मेसिन मन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए । बिग्रीएका मेसिनलाई काठमाडौँ नै लगेर बनाउने तयारी भइरहेको उनको भनाइ छ । डायलिसिस र त्यसका लागि आवश्यक पर्ने सम्पुर्ण सामग्री निःशुल्क उपलब्ध भइरहेको अस्पतालले बताएको छ ।

सिडिओलाई ज्ञापनपत्र
विरामीहरुका आफन्तहरुले विरामीको हप्तामा दुई पटक डायलासिस गरिदिन पहल गरिदिन आग्रह गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । कोरोनाको बहानामा मृगौलाका विरामीलाई नमार्न, हप्ताको दुई पटक मृगौलाको डायलासिस गर्न, यस्ता विरामीलाई प्राथमिकता दिन मृगौलाका विरामीहरुका आफन्तहरुले माग गरेका छन् ।

त्यस्तै, विरामीप्रति नम्र व्यवहार गर्न, राज्यले व्यवस्था गरेको सुविधा अस्पतालले उपलब्ध गराउन र डायलासिस मेशिन तुरुन्त मर्मत गर्न माग गरिएको विरामीका आफन्त सुरज विश्वकर्माले बताए । आफ्ना मागहरु राखेर अस्पतालका मेसुलाई भेट्न जाँदा चित्त बुझ्दो जवाफ नआएको उनले बताए । विरामीका आफन्तहरुले प्रशासन कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन समेत गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया