भरतपुर । आफ्नै पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको टिप्पणी भइरहेका बेला कांग्रेसका दुई शीर्ष नेताले सरकारको टिप्पणी गर्ने बेला नभइसकेको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेताहरुले सरकारको सफलताका लागि कांग्रेसभित्र एकता रहेको दावीसमेत गरे । ‘सरकारको टिप्पणी गर्ने बेला भएको छैन’, सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने, ‘सबै कुरा मिल्दै जान्छ । सरकार पनि रफ्तारले आफ्नै काममा अगाडि बढ्छ ।’
‘हाम्रो एकमात्रै ध्येय भनेको एक वर्षभित्र संविधान जारी गर्ने हो’, देउवाले थपे, ‘सरकारमा रहेका होऊन् वा नरहेका कांग्रेस नेता कार्यकर्ता संविधानसभाबाटै संविधान जारी गर्न सहयोग पु¥याउन लाग्ने छन् ।’ सरकारमा जाने तथा पार्टीभित्रको आन्तरिक पदहरु बाँडफाँडमा समेत कांग्रेसभित्र कुनै विरोध नरहेको उनको दावी छ । सोही कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेसका शीर्ष नेताबीचमै विवाद भएको भन्ने कुरा गलत भएको बताए ।
‘पदका लागि शेरबहादुरजी र सुशीलजीसँग मेरो विवाद छ भन्ने कुरा गलत हो’, उनले थपे, ‘यो विषयमा कहाँबाट के कुरा आइरहेको छ मलाई थाहा छैन । बाहिर आएका कुरामा पनि सत्यता छैन ।’
सरकारका कामकारबाहीलाई आफूहरुले सक्दो सहयोग गरिरहेको उनले जनाए । कार्यबाहक सभापतिका विषयलाई लिएर पौडेल असन्तुष्टि रहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला त्यो कुरा सत्य नभएको उनको जिकिर थियो । बुद्ध एयरबाट देउवासँगै चितवन आएका पौडेलले तीन शीर्ष नेता (सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर र आफँै रामचन्द्र पौडेल) मिलेर नै एक वर्षभित्र संविधान जारी गर्ने कामलाई सरकारलाई सहयोग गरिरहेको बताए ।
वरिष्ठ नेता देउवा र उपसभापति पौडेल निजामती कर्मचारी युनियनको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन चितवन आएका हुन् ।
Discussion about this post