जितियामा सामूहिक झाम्टा नाच नगर्न निर्देशन

अन‌ि यो पनि

रत्ननगर । थारु कल्याणकारिणी सभा चितवनले जितियामा सामूहिक झाम्टा नाच नगर्न महिलाहरुलाई निर्देशन दिएको छ । थारु समुदायले मनाउने चाडपर्वहरुलाई व्यवस्थित गर्न बनाइएको कार्यविधिमा थारु महिलाहरुको चाड जितियामा सामूहिक झाम्टा नाच र सामूहिक कथा सुन्ने काम यसपटक नगर्न भनिएको हो ।
थारु समुदायले यही भदौ २५ गते जितिया पर्व मनाउँदैछन् । जितियामा थारु महिलाहरुले गाउँघरका दिदीबहिनीहरु एक ठाउँमा भेला भएर झाम्टा पार्ने, व्रत बसेका महिलाहरुले जितबहानको सामूहिकरुपमा कथा सुन्ने प्रचलन रहिआएको छ । ‘सामूहिकरुपमा झाम्टा पार्दा र कथा सुन्दा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण फैलिन सक्छ’, थारु समुदायका अगुवा डा. गौरीराम महतोले भने, ‘जितियासहित चाड र चाडसँग जोडिएको सांस्कृतिक क्रियाकलापहरुलाई व्यवस्थित गरिएको छ ।’
थारु संस्कृतिको संरक्षण गर्न झाम्टा नाचलाई सामाजिक सञ्जालमार्फत प्रवद्र्धन गर्ने र जितबहानको कथालाई रेकर्डिङ गरेर घरघरमै सुन्ने व्यवस्था मिलाउन कार्यविधिमा निर्देशन दिइएको डा. महतोले बताए । ‘संस्कृति र रीतिरिवाज जोगाउने नाममा रोग फैलिन दिन भएन’, डा. महतोले भने, ‘हामीले चाड नमनाउनु भनेका छैनौँ, घरमै बसेर परिवारसँग मनाउनुहोस् भनेका छौँ ।’
थारु कल्याणकारिणी सभा चितवनले एक विज्ञप्ति जारी गरी कार्यविधि लागू भएको घोषणा गर्दै जितियासहित आउँदा चाडपर्वहरु घरमै बसेर मनाउन आग्रह गरेको छ । ‘चितोनिया थारु समुदायको चाडपर्व कार्यविधि–२०७७’ नामक कार्यविधिमा जितियासहित एमोसा, दसैँतिहारका बेला हुने सोहराई पूजामा पनि घरपरिवारमै सीमित हुन भनिएको छ । छठ, बड्का एकादशी (ठूलो एकादशी) माघेसङ्क्रान्तिको खिचरा, फागु र चैते दसैँसम्म सामूहिक भेटघाट र पर्वका अनुष्ठानहरु नगर्न कार्यविधिले जोड दिएको छ ।
कोरोना महामारीकै कारण थारु संस्कृतिसँग जोडिएको विक्रमबाबाको मेला, नवमीका दिन माडीमा लाग्ने गोद्धक मेला र भारतको डेवाढमा लाग्ने सहोदरा मेलामा चितवनका थारु समुदाय सहभागी नहुने निर्णय भएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले बताए । ‘विशेषगरी, हामीले चाडपर्वमा हुने भीडभाड नियन्त्रण गर्न खोजेका छौँ’, सभापति चौधरीले भने, ‘एकछिन रमाइलो गर्दा ज्यान जाने अवस्था आउन हुँदैन, यसलाई रोक्न खोजेका हौँ ।’

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया