त्रिवेणी । प्रशिद्ध धार्मिक स्थल वाल्मीकि आश्रममा लामो समयदेखि बसोबास गर्दै आएकाहरुलाई सरकारले घर बनाइदिने भएको छ । शुक्रबार आश्रम परिसरमा आयोजित कार्यक्रममा सहरी विकास मन्त्री डा.नारायण खड्काले यस्तो घोषणा गरेका हुन् ।
संस्कृत भाषाको रामायणका रचनाकार वाल्मीकि ऋषिको आश्रम रहेको सो ठाउँ चितवनको गर्दी गाविस वडा नंंं. ९ अन्तर्गत पर्छ । तर सो ठाउँ पुग्न नवलपरासी जिल्लाको बर्दघाट त्रिवेणी हुँदै जानुपर्छ । बेजिल्लामात्रै होइन चितवनबाट सो ठाउँ टेक्न सात किमी भारतीय भूमि पनि छिचोल्नुपर्छ ।
चितवन राष्ट्रिय निकुञ्जको जंगलको आडमा रहेको सो ठाउँमा विसं. २०२४ सालदेखि बस्दै आएका मगर समुदायका १५ घरहरु रहेका छन् । निकै कष्टकर रुपमा बस्दै आएका उनीहरुलाई सरकारले घरको व्यवस्था गर्न लागेको हो ।
‘हामी यो वर्षको बजेटमै व्यवस्था गरेर घर निर्माण सुरू गर्ने छौँ’ मन्त्री खड्काले जानकारी दिए । भारतीय सिमानानजिकै रहेको महत्वपूर्ण धार्मिक स्थलका आडमा उनीहरु बसेकाले देशको सीमा र धार्मिक क्षेत्र अतिक्रमण हुनबाट जोगिएको निष्कर्षसहित सरकारले उनीहरुलाई सहयोग गर्न लागेको हो ।
कार्यक्रममा चितवन क्षेत्र नं. ५ का सभासद् विक्रम पाण्डेले वालल्मीकि आश्रमको विकासका लागि सरकारसँग मिलेर योजना अगाडि बढाउने जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि बस्दै आएका बासिन्दाहरु बिना बर्दीका सुरक्षाकर्मी भएकाले उनीहरुको हित पनि सरकारले गर्ने उनले बताए । राजा महेन्द्रले विसं. २०२२ सालदेखि नै त्यो क्षेत्रमा पूजा गर्न पुजारीको प्रबन्ध गरेका थिए । सो ठाउँमा तनहुँको रिसिङलगायतबाट गएका मगर समुदायका बासिन्दाहरु २४ सालदेखि बस्दै आएका छन् । वाल्मीकि आश्रमको विकाससँगै त्यहाँका बासिन्दाको संरक्षण गर्न लागिएको हो ।
बिजुली, पानीजस्ता आधारभूत सेवासमेत पाउन नसकेको त्यहाँका बासिन्दालाई गत वर्ष सोलारको व्यवस्था गरिएको छ । सरकारले विसं. २०५९ सालमा वाल्मीकि आश्रमको विकासका लागि गुरूयोजना निर्माण गरेको थियो ।
सो गुरूयोजनाको कार्यान्वयन सुस्त गतिमा भएको थियो । नरेन्द्रराज शर्मा चितवनका प्रमुख जिल्ला अधिकारी भएर आएपछि गत वर्षको असार अन्तिमदेखि गुरूयोजना कार्यान्वयनमा सक्रियता देखाउन थालिएको छ । शर्मा पटक–पटक आश्रम पुग्ने गरेका छन् ।
यसअघि चितवन र नवलपरासीका सरोकारवाला निकायका प्रमुखसहित पुग्ने गरेका प्रमुख जिल्ला अधिकारी शर्मा शुक्रबार मन्त्री र चितवन तथा नवलपरासीका सभासदसहित आश्रम क्षेत्र गएका हुन् । द्वापरयुगमा रामले सीतालाई त्यागेपछि लक्षमणले सीतालाई सो ठाउँमा ल्याएर छाडेको भनाइ छ ।
‘रामायणकालीन घटनाक्रमहरु सुनेको र पढेको मात्रै थिएँ । आज यहाँ आएर चार पाँच हजार वर्षअघिका घटनाहरुलाई नियाल्न पाउने अवसर जुट्यो । यसको विकासमा लाग्नेछु’ मन्त्री खड्काको थप प्रतिबद्धता थियो ।
कार्यक्रममा नवलपरासी क्षेत्र नंं. ५ का सभासद विक्रम खनाल र क्षेत्र नं ६ का सभासद् देवकरण कलावर समेतले आश्रमको विकास र त्यहाँका बासिन्दाको हकहितका लागि सक्रिय रहने बताए । आश्रम क्षेत्रलाई १२ बिघा जमिन उपलब्ध भएको छ ।
सो क्षेत्रमा उत्खनन् हुनुपर्ने वक्ताहरुको माग थियो । मन्त्री खड्काले उत्खनन्का लागि पनि यो वर्ष बजेट व्यवस्था गर्ने र राष्ट्रिय विज्ञहरुका साथै आवश्यक परेमा पुरातत्वका बारेमा जानकारी अन्तर्राष्ट्रिय विज्ञहरु झिकाएर उत्खनन् गराउने वचन दिए ।
Discussion about this post