भदौ ३१ सम्म निषेधाज्ञा : कार्यालयदेखि कपडा पसलसम्म खोल्न पाइने

अन‌ि यो पनि

भरतपुर । चितवनमा भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले मानिसहरुको आवतजावत र भेटघाटलाई व्यवस्थित गर्न भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यद्यपि, चौँथो चरणको यस निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।
जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी अनावश्यक भीडभाड नहुने गरी कार्यालयहरुबाट नियमित सेवाहरु सञ्चालन गर्न सकिने प्रशासनले शुक्रबार एक सूचना जारी गरी जानकारी गराएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल र फेन्सी तथा कपडा पसलहरु सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आलोपालो प्रणालीअनुसार बढीमा ५० प्रतिशत कर्मचारीमात्रै उपस्थित हुने गरी बैंक तथा वित्तीय संस्था (सहकारी)समेत सञ्चालन गर्न पाइने छ । बैंक तथा वित्तीय संस्थाले सेवाको कोटा निर्धारण वा स्थानीय तहअनुसारको पालो निर्धारण तथा टोकन प्रणाली लागू गरी सेवा दिनुपर्ने छ । त्यस्तै औषधि, खानेपानी, ग्यास तथा इन्धन बिक्रीवितरण गर्ने व्यवसाय निर्बाधरुपमा सञ्चालन हुन पाउने सूचनामा भनिएको छ ।
कार्यालय, बैंक तथा वित्तीय संस्था वा व्यवसाय स्थलसम्म भने हिँडेर जानुपर्ने छ । सूचनामा कुनै व्यवस्था उल्लेख नभएको अवस्थामा सेवाप्रदायक वा सेवाग्राहीहरु दुवै हिँडेर जानुपर्ने सहायक प्रजिअ नेत्रप्रसाद शर्माले यसअघि नै बताएका थिए ।
दूध संकलन तथा बेचबिखन, तरकारी तथा फलफूल पसल, खाद्य पसल, पेट्रोल पम्प, ग्यास डिपो पनि सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । उद्योग परिसरभित्रै क्वारेन्टिनस्थलको व्यवस्था गरी उद्योग खोल्न, आयोजना स्थलभित्र कर्मचारी र कामदारलाई क्वारेन्टिनमा राखी निर्माणसम्बन्धी काम गर्न पाइने प्रजिअ भट्टराईले बताए ।
पशुपक्षीको दाना, पशुपक्षीजन्य उत्पादन, कृषि औजार, विद्युत्, खानेपानी, दूरसञ्चारलगायतका जनउपयोगी सेवा जडान तथा मर्मतका लागि इक्युपमेन्टसहित सवारी सञ्चालन गर्न पाइने उनले बताए । कार्यालय तथा व्यवसायबाट सेवा प्रवाह गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड (मास्क लगाउने, व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न र नियमित हात धुने वा स्यानिटाइजर लगाउन) पालना गर्नुपर्ने प्रशासनले जनाएको छ ।
त्यस्तै, कृषि औजार र कृषिजन्य उत्पादन ढुवानी गर्ने, लामो तथा छोटो दूरीका मालवाहक, दमकल, एम्बुलेन्स, शववाहन तथा अन्तिम संस्कारका लागि प्रयोग हुने सवारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने सवारीबाहेक कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अन्य अत्यावश्यक कामका लागि प्रशासनको अनुमति लिएर सवारी चलाउन पाइने छ । उल्लेखित व्यवस्थाबाहेक अन्य कुनै काम गर्न नपाइने प्रशासनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया