पश्चिम चितवनमा जंगली हात्ती आतङ्क

अन‌ि यो पनि

नयाँबस्ती । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसान जंगली हात्तीको आतङ्कबाट पीडित बन्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरूङ्गा उपभोक्ता समितिअन्तर्गत भरतपुर महानगरपालिका–२४, २५ र २७ न. वडाका किसानहरु बल्लबल्ल खनजोत गरी लगाएको बाली पनि निकुञ्जका हात्ती आएर नोक्सान गरेपछि किसानहरु थप मर्कामा परेका छन् ।
विगत एक हप्तादेखि निकुञ्जबाट आएका जंगली हात्तीले स्थानीय बासिन्दाको धानबालीमा वितण्डा मच्चाएको छ । निकुञ्जबाट आएको गोविन्दे नामको हात्तीले विगत एक हप्तादेखि स्थानीय यमुना चापागाईंको धानबाली, कृष्णबहादुर गुरूङको धानबाली र कृषि मोटर, इन्द्रबहादुर सुनारलगायत अन्य आठ जनाको बाली करिब एक बिघाजति नोक्सान गरेको भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्लले जानकारी दिए ।
वडाध्यक्ष कान्छा मल्लले भने, ‘कोरोना कहरले गर्दा अलिअलि उत्पादन भएका वस्तुको बजार मूल्य नपाउने त छँदैछ, त्यसमाथि जंगली जनावरले साह्रै सताएका छन् ।’ गत वर्ष पनि उक्त हात्तीको कारण दुई घर, एक गोदाम र करिब एक बिघा जग्गामा नोक्सान भएको थियो । यहाँका किसानले खेतमा अन्न छरे र रोपेदेखि घरभित्र नथुपार्दासम्म दिनरात त्यसको निगरानी गर्नुपर्ने बाध्यता छ । ‘यसको कारणमा वन्यजन्तु नै प्रमुख हुन्’, उनले भने । एक हप्तादेखि स्थानीय बासिन्दाको धानबालीमा वितण्डा मच्चाएको हात्तीले देवीस्थान पार्कको पर्खालसमेत भत्काएको उनले बताए । निकुञ्ज र सुरक्षार्थ तैनाथ नेपाली सेनाले धपाए पनि उनीहरुलाई छक्याएर आउने गरेको उनले बताए ।
भरतपुर–२४ कै स्थानीय बासिन्दा यमुना चापागाईंले मध्यरातमा आएका हात्तीले धानबाली खाएको बताइन् । ‘राति हात्ती कराएको आवाज आयो’, उनले भनिन्, ‘डरले बाहिर निस्कन सकेनौँ, बिहान हेर्दा धानबाली सखाप पारेको देखेँ ।’
‘कोरोनाले गर्दा बाहिर भाग्न पनि पाइँदैन, भित्र बस्दा कतै हात्तीले घर भत्काएर मार्ने हो कि भन्ने डर छ ! लकडाउनले गर्दा ज्याला मजदुरी पनि पाएको छैन । पाँच कट्ठा जग्गामा धान लगाएको थिएँ, दुई दिन लाइनमा बसेर बल्लबल्ल दुई केजी मल पाएको थिएँ, त्यो पनि हात्तीले नोक्सान गरिदियो, अब बालबच्चा कसरी पाल्ने ?’ अर्का पीडित इन्द्रबहादुर सुनारले भने ।
चर्को घाम र पानी, हिउँदमा चिसोको व्यवस्था गरी खेतमा उब्जाएको धानबाली चितवन राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले सखाप पार्दा मध्यवर्ती क्षेत्रका किसानका सपना चकनाचुर हुने गरेका छन् । २५ नम्बर वडाको बयरघारी, लेवरनगर र २७ नम्बर वडाको धरमपुर, बुद्धनगरका स्थानीय बासिन्दाहरु जंगली हात्तीको आतङ्कले त्रसित बनेका छन् । निकुञ्जआसपास रहेका ती दुई गाउँमा साँझ ६ बजेदेखि नै हात्ती बस्तीमा छिर्ने र घर भत्काउने गर्दै आएको छ । विशेषगरी, लगाएको बालीनाली नष्ट गर्ने, घरमा भएको खाद्यान्न खाने र नष्ट गर्ने कार्यले स्थानीयहरु चिन्तित बनेको वडा नं–२५ अन्तर्गत रहेको संयुक्त राप्तीदून मध्यवर्ती सामुदायिक वन उपभोतmा समूहका अध्यक्ष इन्द्रबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार वडा नं–२५ मा बढी क्षति गराएको छ भने वडा नं–२७ को राप्ती हरियाली मध्यवर्ती सामुदायिक वनछेउमा रहेको धरमपुर, बुद्धनगरमा पनि केही क्षति भएको छ । हात्तीले अहिलेसम्म भौतिक क्षतिमात्रै पु¥याएको तर मानवीय क्षति पनि हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जलाई हात्ती आतङ्क नियन्त्रणका लागि दुवै वन समूहका अध्यक्षले पहल गर्दा बेवास्ता गर्ने गरेको संयुक्त राप्तीदून मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर सुनारले गुनासो गरे ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया