कोरोना कहरमा सुत्केरीका पीडा

अन‌ि यो पनि

कोरोना महाव्याधियता नेपालमा सुत्केरी, गर्भवती तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिस निकै जोखिममा परेका छन् । पछिल्लो समय कोरोनाको बहानामा लकडाउन, निषेधाज्ञा गर्दा दर्जनौँ सुत्केरीको अनाहकमा ज्यान गएको छ । अधिकांश गर्भवती महिलाले नियमित स्वास्थ्य सेवा नपाउँदा जीवन कष्टकर बन्न पुगेको छ । नेपालमा मातृशिशु मृत्युदर हरेक वर्ष बढ्दै गइरहेको अवस्थामा विभिन्न प्रकोपको समयमा उचित स्वास्थ्य सेवा नपाउँदा जीवन गुमाउनुपर्ने बाध्यता विद्यमान छ । केही दिनयता सार्वजनिक भएका समाचार शीर्षक हेर्दा प्रतिलाख ५०० को संख्यामा होइन, हजारको संख्यामा सुत्केरीले ज्यान गुमाउनुपर्ने स्थिति आउन सक्ने देखिएको छ । ‘अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु’, ‘उपचार अभावमा सुत्केरीको मृत्यु’, ‘कोरोना त्रासले घरमै सुत्केरी गराउँदा मृत्यु’, ‘आवश्यक प्रसूति सेवा नपाउँदा सुत्केरीको ज्यान गयो’, ‘चिकित्सकको लापर्बाहीबाट सुत्केरीको मृत्यु’, ‘समयमै उपचार नपाउँदा सुत्केरीको निधन’, ‘कोरोना सङ्क्रमणबाट सुत्केरीको मृत्यु’, ‘सालनाल खस्न ढिलो हुँदा सुत्केरीको मृत्यु’, ‘गलत समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु’, ‘अस्पताल लैजाँदा बाटैमा सुत्केरीको मृत्यु’ यी र यस्ता थुप्रै समाचार शीर्षकले सुत्केरी महिलाको अवस्था उजागर गरेको छ ।
लकडाउन सुरू भएको पाँच महिनायतामात्रै ८० जना सुत्केरीको मृत्यु भएको छ । जसमध्ये ५० जनाको मृत्यु अस्पताल पुगेको चौबीस घन्टाभित्रै भएको पाइएको छ । अस्पताल पुगेर पनि सुत्केरीले ज्यान गुमाउनुका पछाडि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट समयमै उचित सेवा पाउन नसक्नाले हो वा अति ढिलो गरी उपचारका लागि अस्पताल लैजानु नै हो । सुत्केरी महिलालाई समयमै अस्पताल पु¥याउन नसक्नुमा लामो लकडाउन र निषेधाज्ञाले समस्या भएको छ । किनभने, सवारीसाधनको अभावमा समयमै अस्पताल लैजान नसकेर कैयौँ सुत्केरीले ज्यान गुमाएका छन् । सुत्केरी गराउनेजस्तो आकस्मिक र अत्यावश्यकीय सेवाका लागि पनि यातायातका साधन सहज नहुनु र समयमै एम्बुलेन्स उपलब्ध नहुनु, अस्पताल पुगिहाले पनि स्वास्थ्यकर्मी र उपचारको व्यवस्थापन नहुनुजस्ता समस्याले आमा र शिशु दुवैले ज्यान गुमाउनु परेको छ । कतिपय जिल्लामा सुत्केरीलाई स्वास्थ्य संस्थामा लगिए पनि समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ । लकडाउनसँगै बर्सादको समयमा पहाडी क्षेत्रमा पहिरो जाने र तराईमा बाढीले सडक भत्किँदा सुत्केरीको बाटोमै मृत्यु हुने गरेको छ ।
नेपालमा अझै पनि सुत्केरी गराउने सुविधासम्पन्न अस्पतालहरु औँलामा गन्न सकिने छन् । कतिपय अस्पतालमा गर्भवती, सुत्केरीको उपचार हुने संरचना नै छैन । चितवनको भरतपुर सरकारी अस्पतालमा १७ जिल्लाका मानिस सुत्केरी गराउनकै लागि आउने गर्छन् । सरकारले हरेक स्थानीय तहमा कम्तीमा चिकित्सक, स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्था गर्ने हो भने १७ जिल्लाका मानिसले एउटै अस्पतालको भर पर्नु पर्दैन थियो । त्यतिमात्र होइन सुविधासम्पन्न अस्पतालमा सुत्केरी गराउन ल्याउने क्रममा अकालमै बाटैमा ज्यान जाने पनि थिएन । सुत्केरी र तिनका आफन्तलाई पनि आर्थिकलगायत व्ययभार कम पर्ने थियो । सरकारले हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गर्ने गरिएको खबर पनि यदाकदा सुनिन्छ । कतिपय सुत्केरीको ज्यान बचाउने काम पनि भएका छन् । हाम्रो समाजमा स्वास्थ्यमा जटिल समस्या आएपछिमात्रै अस्पताल कुदाउने प्रवृत्ति छ, जसका कारण पनि सुत्केरीले ज्यान गुमाउँदै आएका छन् । विकट क्षेत्रका मानिसले वर्षौंदेखि यही नियति व्यहोर्दै आएका छन् । स्थानीय सरकारले गर्भवती तथा सुत्केरी महिलाको उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि यो समस्याबारे गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ । कुनै पनि सुत्केरीले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्नाका लागि तीनै तहको सरकारबीच समन्वय गरी सुत्केरी महिलाको समयमै उद्धार, उपचार प्रबन्ध मिलाउनु जरूरी देखिन्छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...