‘इलाम जिल्ला सुम्बेक गाविस वार्ड नं ७ मा विसं २०१७ सालमा पिता पं. श्री तुलसीराम र माता मनमाया पोख्रेलको कोखबाट जन्मनुभएका कवि जीवनहरि शर्मा करिब ३१ वर्षदेखि निरन्तर शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका शर्मा २०६० सालबाट भने सक्रिय रुपमा साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । देशको बिग्रँदो अवस्थाप्रति चिन्तित रही विकासवादी चेतनाको स्वर बुलन्द पार्दै लेखिएको ‘टिष्टाको सन्देश’ (सामाजिक खण्डकाव्य ः २०६७) र ‘तिलक प्रथा’ (सामाजिक खण्डकाव्य ः २०६९) उहाँका प्रकाशित कृतिहरु हुन् । यसका अलावा विभिन्न स्मृति ग्रन्थ, संयुक्त संग्रह तथा पत्रपत्रिकाहरुमा उहाँका फुटकर रचनाहरु प्रशस्त पाउन सकिन्छ । प्रस्तुत छ, स्रष्टा जीवनहरि शर्मासँग चितवन पोष्ट दैनिकका लागि रीता पोखरेलले गर्नुभएको कुराकानी ।[divider]
१) तपाईं केमा व्यस्त हुनुहुन्छ आजभोलि ?
— म शिक्षण पेसामा छु, दैनिकी त्यसैमा बित्छ । यसका अलावा साहित्य लेखन तथा अध्ययनमा समेत व्यस्त छु ।
२) तपाईंको बाल्यकाल र शैक्षिक अवस्थाका बारेमा केही बताइदिनुहुन्छ कि ?
— पहाडी ग्रामीण परिवेशको एक किसान परिवारमा मेरो जन्म भएको हो । प्राथमिक तहदेखि निम्न माध्यमिक तहसम्म गाउँमै संघर्ष गर्दै पढेँ । त्यसपछि सदरमुकाममा मात्र बसेर पढ्न पाउने बाध्यता थियो त्यतिखेर । दुःख–सुखसाथ परीक्षा पास गरेपछि आर्थिक अवस्थाका कारण तुरून्त रोजगार बन्नुपर्ने बाध्यता पनि सँगै थियो । त्यसैले, मैले निजामती सेवामा प्रवेश गरेँ । केही समय निजामतीमा रहेपछि त्यसमा पनि असहज परिस्थिति सिर्जना भयो र पुनः शिक्षण पेसामा लागेँ । र, पढाइलाई पनि प्राइभेट रुपमा
अगाडि बढाउँदै स्नातक तहसम्म पार गरेको हँु ।
४) तपाईं शिक्षण पेसामा हुनुहुन्छ । ग्रामीण परिवेशमा आफ्नो दैनिकी, पेसा र साहित्य लेखन एकसाथ अघि बढाउन कत्तिको सहज भएको महसुस गर्नुहुन्छ ?
— ग्रामीण परिवेशमा रहेर यी तीनै कुरालाई एकसाथ अघि बढाउन त्यति सजिलो त छैन, तापनि समयको व्यवस्थापन गर्न सक्दा हालसम्म सहज नै महसुस भएको छ ।
५) कुन विधामा सहज लाग्छ, यहाँलाई कलम चलाउन ?
— विशेषतः कविता विधामा कलम चलाउन मलाई सहज
महसुस हुन्छ ।
६) हाल पद्यसाहित्यमा मानिसहरुको रूचि घटेको हो कि जस्तो देखिन्छ । यसलाई कसरी हेरिरहनुभएको छ ?
— पद्यसाहित्यमा रूचि घटेको नै त नभनौँ । पद्यलेखनमा भने केही कमी आएको महसुस भएको छ । मेरो सवालमा भन्नुपर्दा लेखनको सुरूवातबाटै छन्दवादी लेखकका रुपमा अगाडि आएको हँु म । तर, यसको अर्थ गद्यसाहित्य नलेख्ने भन्न
खोजेको होइन ।
७) हालसम्म दुईवटा पुस्तक बजारमा ल्याउनुभएको छ । नेपाली साहित्य लेखन र प्रकाशनमा के–कस्ता चुनौती पाउनुभयो त ?
— हुन त, लेखन रहरको विषय हो, तथापि लेखनमा सभ्य तौरतरिका र शिष्टताका साथै अध्ययनशीलतामा आएको कमी एउटा चुनौती देखिएको छ भने प्रकाशनमा पनि धैर्यताको अभाव र हतारमा प्रकाशन गर्ने प्रवृत्तिका साथै प्राविधिक, आर्थिक कठिनाइहरु पनि छन् ।
८) राज्यले लेखन र प्रकाशनका क्षेत्रमा अझ उच्चतम मार्ग प्रशस्त गर्ने र त्यसलाई सहजीकरण गर्ने हो भने कुन–कुन सवालमा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
— लेखनमा भन्दा पनि प्रकाशनका क्षेत्रमा पूर्ण प्रविधिको पहुँच विस्तार गर्दिए हुन्थ्यो । कतिपय लेखक तथा साहित्यकारहरु लेखेर पनि अगाडि आउन नसकेको अवस्था हो कि जस्तो देखिन्छ अहिले । त्यसैले, सरकारी सञ्चार जगत्मा पनि बिनाभेदभाव रचना प्रकाशन र प्रसारणको वातावरण मिलाइदिए मात्र पनि ठूलै राहतको आभास हुनेथियो ।
९) लेखनलाई साहित्यिक वादसँग जोडेर कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
— म आफूलाई कुनै वादमा उभ्याउन त चाहन्नँ, तापनि प्रत्येक लेखकका रचना फरक–फरक वादसँग नजिक भने हुन सक्छन् । तर, जे भए पनि म आफू भने राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक समुन्नतिका पक्षमा र आमभावना समेटेर नै रचना गर्ने प्रयत्न
गरिरहेको छु ।
१०) तपाईंको लेखनमा पारिवारिक सहयोग कस्तो छ ?
— मेरो लेखनका क्रममा हालसम्म पारिवारको पूर्ण सहयोग छ ।
११) जीवनमा कहिल्यै प्रेम गर्नुभयो ?
— अवश्य गरेँ । धेरै चीजसँग प्रेम गरिन्छ । संसारमा बिनाप्रेम के सम्भव छ र ? त्यसमाथि म
आफूलाई साहित्यिक रुपमा चिनाउन चाहिरहेको छु ।
१२) तपाईं अनि संगीत, यी दुईलाई एक वा अर्को भनी रोज्नुप¥यो भने उच्चतम अंक दिएर कसलाई रोज्नुहुन्छ ?
— जीवन र संगीतलाई म एकअर्काका पूरक ठान्दछु । त्यसैले, म उच्चतम अंक दिएर संगीतलाई नै रोज्छु । किनकि, संगीतमै आफूलाई पाएको अनुभूति हुन्छ ।
१३) तपाईं पुस्तकप्रेमी मान्छे, प्रगतिशील साहित्यका एक चाङ पुस्तक र भौतिक सुखसुविधामध्ये एकलाई रोज्नुप¥यो भने तपाईं कसलाई रोज्नुहुन्छ ?
— पुस्तकप्रेमी नभई राम्रो लेखक हुन सकिँदैन । त्यसैले, म पुस्तकहरुलाई नै रोज्छु ।
१४) तपाईं आस्तिक कि नास्तिक ?
— जमाना आधुनिकताको चरम बिन्दुमा पुगेता पनि जीवनयापनका क्रममा अध्यात्मवाद पनि केही हो भन्ने धारणा राख्छु । त्यसैले, बिलकुल म आस्तिक हुँ ।
१५) वर्तमान नेपाली राजनीतिक अवस्थाप्रति यहाँको धारणा कस्तो
छ ?
– अवस्था जे–जस्तो भए पनि भोलिका लागि आशावादी हुनैपर्छ ।
१६) साहित्यमा राजनीतिको कस्तोे प्रभावको अपेक्षा राख्नुभएको छ ?
— साहित्य राजनीतिक प्रभावबाट अछूतो त रहन नसक्ला, तथापि सकारात्मक प्रभावको अपेक्षा गर्छु ।
१७) मोफसल र केन्द्रको साहित्यमा कसको बढी प्रभाव पाउनुभएको छ ?
— सामान्यतया केन्द्रकै साहित्यको तहल्काबाजी देखिए पनि मोफसलको पनि कम प्रभाव भने छैन ।
१८) आमसञ्चार र छापाहरुले वर्तमान नेपाली साहित्यलाई न्याय वा अन्याय कस्तो गरेजस्तो लाग्छ ?
— सामान्यतया न्याय नै गरेको ठान्दछु । यति हुँदाहँुदै पनि अन्यायको दुष्प्रभावबाट पनि आमसञ्चार जगत् अछूतो रहन भने सकेको छैन ।
१९) नेपाली खेल क्षेत्रमा यहाँको चासो कस्तो छ ?
— खेल क्षेत्रमा आफ्नो संलग्नता नरहे पनि त्यसप्रति चासो र चिन्ता भने अवश्य नै छ ।
२०) सुस्तामा सीमा मिचिएको छ, सीमास्तम्भहरु हराएका छन् । छिमेकीले पनि दिनहुँ हेपाहा प्रवृत्ति देखाइरहेको छ । यसबारेमा तपाईंको कलमले कसरी बोलेको छ ?
— एकदमै मन छुने प्रश्न र चिन्ताको विषय उठ्यो । वास्तवमा भन्ने हो भने नेपाली राजनीतिक अस्थिरता र नेपाली जनताको न्यून चेतनास्तर यसमा जिम्मेवार छन् र यस्तो प्रवृत्तिलाई रोक्न मेरो कलमले कसरी बोेल्दै छ भन्ने कुरा पाठकहरुले पनि मूल्याङ्कन गर्ने विषय हो । र पनि जनचेतना अभिवृद्धि गर्ने खालका रचनाको सिर्जना गर्नेतर्फ भने मेरो कलम सदैव सचेत छ ।
२१) अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
मेरो लेखनको विषयमा आमपाठकसामु विचार पु¥याउन सहयोग गर्नुहुने तपाईं र चितवन पोष्ट राष्ट्रिय दैनिक पत्रिकाप्रति विशेष आभार व्यक्त गर्दछु ।
Discussion about this post