गर्भाधान संस्कार किन ओझेलमा पर्दै गयो ?

अन‌ि यो पनि

पृष्ठभूमि
सनातन वैदिक परम्परामा संस्कारहरुको संख्याका बारेमा मतमतान्तरहरु रहेको भए पनि गर्भाधान आदि १६ संस्कारहरुको बढ्ता चर्चा गरिएको पाइन्छ । ती संस्कारहरुमध्ये वर्तमानमा धेरैजसो संस्कारहरुको उपयोग गर्न छाडिएका कारण तिनबाट प्राप्त हुने फलको उपभोग गर्नबाट पनि वर्तमान समाज वञ्चित हुँदै आएको छ ।
सर्वसाधारण व्यक्तिको परिवारमा त कुरै छाडौँ प्रायःजसो पण्डित–पुरोहितहरुका परिवारमा पनि गर्भाधान, पुंसवन, सीमन्तोन्नयनजस्ता संस्कारहरुको उपयोग गरिएको देखिँदैन । वर्तमानमा उपयोग नै नगरिएका यस्ता संस्कारहरुको चर्चा–परिचर्चा नै किन गर्नुप¥यो ? भन्ने प्रश्न पनि उठ्न सक्ला तर यस्ता संस्कारका अनुयायीहरुले यिनका बारेमा सामान्य जानकारी लिन र तिनलाई यथासम्भव व्यवहारमा उतार्ने विषयमा गम्भीर चिन्तन गर्नु आवश्यक छ ।
अथर्ववेदको पाँचौँ काण्डको पच्चिसौँ सूक्तको नाम नै ‘गर्भाधान सूक्त’ राखिएको छ र त्यसमा १३ मन्त्र रहेका छन् । त्यस सूक्तका ऋषि ब्रह्मा र देवता योनिगर्भ मानिएको छ । त्यस सूक्तमा जसरी पृथ्वीले सबै प्राणीहरुलाई आफ्नो गर्भमा राखेको छ त्यसैगरी मैले पनि तिम्रो गर्भ धारण गर्छु र त्यसको सुरक्षाका लागि तिमीलाई आह्वान गर्दछु भन्दै औँसीकी देवी र सरस्वती देवी दुवैले स्त्रीलाई गर्भधारण गर्ने सामथ्र्य प्रदान् गरुन् अनि दुवै अश्विनीकुमार, मित्र, वरूण, बृहस्पति, इन्द्र, अग्नि र ब्रह्माले समेत गर्भलाई पुष्टि प्रदान गरुन् भन्ने कामना गरिएको छ ।
गर्भाधान गर्न सक्ने शक्तिको कामना मातृशक्तिबाट र गर्भाधानलाई पुष्टि गर्ने सामथ्र्य पितृशक्तिबाट कामना गर्नुले गर्भाधानमा खेत र बीउ स्वरुपका स्त्री–पुरूष दुवै मानसिक र शारीरिक रुपमा पवित्र र अत्यन्त सावधानसमेत हुनुपर्ने कुराको पुष्टि हुन्छ । साथै उक्त गर्भाधान सूक्तमा वैदिक मन्त्रद्वारा नै हे पुरूष ! तिमी बलवान् छौ, तिमी उठ र आफ्नो पराक्रम देखाउँदै गर्भाशयमा गर्भलाई स्थापित गर, तिमीलाई हामीले केवल सन्तान उत्पादनका लागि मात्रै बोलाउँछौँ भनी पुरूषलाई गर्भाधानका लागि तयार हुन आह्वान गरिएको छ भने हे सती ! तिमी विशेष रुपले सजग होऊ, हामी तिम्रो गर्भाशयमा गर्भ स्थापना गर्दछौँ भन्दै नारीलाई पनि गर्भाधानका लागि तम्तयार हुन आह्वान गरिएको छ ।
गर्भाधानजस्तो संस्कारमा दुवैको मन पवित्र हुन सकेन भने त्यसको गम्भीर असर भावी सन्ततिमा पर्नेछ । तसर्थ पतिपत्नी स्वयंले गर्भाधानका समयमा अथर्ववेदमा अभिव्यक्त उपर्युक्त कामनालाई मनन गर्ने प्रयत्न गर्नुपर्छ ।
गर्भाधानका समयमा किन सत् चिन्तन गर्ने ?
गर्भाधानका समयमा पुरूषले स्त्रीको यस गर्भमा उत्तम सन्तानको बीजारोपण हुन सकोस् भन्ने कामना गर्नुपर्छ । साथै पुरूषले तिम्रो जुन हृदय आकाशस्थित चन्द्रमामा छ त्यो मैले जान्दछु र त्यस हृदयले मलाई पनि जानोस् अर्थात् हामी दुवैले एकअर्काको मनोभावनालाई बुझ्न सकौँ, हामी दुवै सय वर्षसम्म देख्न सकौँ, सय वर्षसम्म बाँच्न सकौँ र सय वर्षसम्म नै सुन्ने शक्ति पनि प्राप्त गरौँ भन्ने कामना पनि गरिन्छ । यसले गर्दा दुवैको मनलाई एकाकार गर्न र दुवैलाई सा¤िवक भावतर्फ अग्रसर गराउन सकिन्छ ।
दुवैको मन एकाकार हुन सकेका खण्डमा कसैमा पनि बलात्कारी वा पशुत्वको भावना जागृत हुन सक्तैन । जसले गर्दा विषयभोग गरिरहँदा पनि हामी दुवै पतिपत्नी देवऋण, पितृऋण र ऋषिऋणबाट मुक्त हुने चाहनाले गर्भाधान गरिरहेका छौँ भन्ने पवित्र भावनाको उदय हुन सक्छ ।
गर्भाधानका समयमा पतिपत्नीमा जेजस्तो भावना जागृत हुन्छ र मनमा जस्तो चित्र कोरिन्छ, भावी सन्तान त्यसकै प्रतिबिम्ब लिएर जन्मन्छ । उदाहरणका रुपमा महाभारतमा उल्लेख भएअनुसार गर्भाधानका बेला व्यासको रुप देखेर अम्बिका डराई आँखा चिम्लेका कारण धृतराष्ट्र अन्धा भएर जन्मिए । त्यसैगरी गर्भाधानका समयमा व्यासको रुप देखेर अम्बालिका डराई मलिन र पहेँलो वर्णकी भएकाले पाण्डुको शरीर पहेँलो भएको हो । त्यस्तै गर्भाधानका बेला दासी व्याससँग अत्यन्त सन्तुष्ट र प्रसन्न भएका कारण महात्मा विदुर सर्वगुणसम्पन्न भएर जन्मिएका हुन् ।
गर्भाधानका समयमा पशुहरुको चिन्तन गर्दा भावी सन्तानमा पनि पशुकै आकृतिका अङ्गहरु लिएर जन्मिनुपर्दो रहेछ भन्ने समाचारहरु पनि वर्तमानमा हामीले कहिलेकाहीँ सुन्ने र पढ्ने गरेका छौँ । तसर्थ गर्भाधानका समयमा मनलाई प्रसन्न राखेर आध्यात्मिक चिन्तनतर्फ अग्रसर गराउनुपर्छ । यदि हामीले गर्भाधानको क्षणिक समयमा मनलाई विचलित बनायौँ भने त्यसले पार्ने गम्भीर असरका कारण हामीहरु आफ्नै सन्तानबाट जीवनभर दुःखी भइरहनुपर्ने कुरा सुनिश्चित छ ।
के विवाहको उद्देश्य यौन स्वतन्त्रताकै लागि हो ?
वर्तमान समयमा मान्छेभन्दा कतिपय कुरामा पशुहरु पनि श्रेष्ठ छन् र उनीहरुले आफ्नो नैसर्गिक वा प्राकृतिक मार्गलाई अझसम्म पनि उल्लङ्घन गरेका छैनन् । पशुहरुले निश्चित समयमा मात्र सम्भोग गर्छन् । कतिपय पशुले त गर्भिणी भए÷नभएको कुरा सुँघेर पत्ता लगाउन सक्छन् र गर्भिणी भएको थाहा पाएमा त्यस्तासँग सम्भोगको चाहना नै राख्तैनन् तर वर्तमान समयमा मान्छेले यस किसिमको पशुप्रवृत्तिलाई उल्लङ्घन गरिरहेको छैन भनेर पत्याउन सकिँदैन ।
वंशविस्तारका लागि सुसन्तानहरु उत्पादन गर्नु विवाहको मूल उद्देश्य हो तर पतिपत्नी भएपछि यौन स्वतन्त्रता त भइहाल्छ भनेर विषयवासनामै रमाएर अमूल्य जीवनको उद्देश्यलाई बेवास्ता गर्नु विवाहको उद्देश्य होइन ।
‘धर्माविरूद्धो भूतेषु कामोऽस्मि भरतर्षभ’ (गीता ७।११) अर्थात् धार्मिक भावनाले युक्त भएको कामवासनालाई मैले आफ्ना विभूतिमा गणना गर्छु भनेर श्रीकृष्णले धर्मविरूद्धको यौन स्वतन्त्रतालाई अस्वीकार गरेका छन् । त्यसैले परपुरूषगामी वा परस्त्रीगामी हुँदैमा मात्र व्यभिचार वा बलात्कार गरिएको ठहरिँदैन अपितु जीवनको उद्देश्यलाई ओझेलमा पारेर यौन स्वतन्त्रतामा रमाउनुलाई पनि पतिपत्नीका बीचको व्यभिचार ठान्न सकिन्छ ।
विवाहपछि यौन स्वतन्त्रतामा मात्र रमाउनेहरुमध्ये कतिपय निःसन्तान पनि भएका छन् र सन्तानवान् भएकाहरु पनि आफ्ना सन्तानका क्रियाकलापबाट जीवनभर सन्तुष्ट रहन सकिरहेका छैनन् । असंयमित वा अनियन्त्रित यौन स्वतन्त्रताले गर्दा गर्भाधान संस्कारको मूल उद्देश्य पनि हराउँदै गएको हो । तसर्थ गर्भाधान संस्कारको मह¤वबोध गर्न सकिएका खण्डमा यौन स्वतन्त्रताको दुष्प्रवृत्ति पनि क्रमशः हट्तै जानेछ र हामी मात्र होइन हाम्रा सन्तानहरु पनि स्वस्थ र दीर्घजीवी हुन सक्नेछन् ।
गर्भाधान संस्कार किन ओझेलमा पर्दै गयो ?
आफ्नो योग र तपस्याका बलले गर्दा हाम्रा प्राचीन ऋषिमुनिहरुले आफ्नो कामवासनालाई नियन्त्रण गर्न सक्थे । पत्नी रजस्वला भएको आठौँ दिनदेखि सोह्रौँ दिनका बीचमा मात्र सन्तान उत्पादनका दृष्टिले पुत्रको चाहना राख्ता सम दिनमा र पुत्रीको चाहना राख्ता विषम दिनमा समागम गर्थे ।
रजको प्रबलताका कारण पुत्री र वीर्यको प्रबलताका कारण पुत्र जन्मिने भएको हुँदा रजस्वला भएको सम दिनमा स्त्रीको रज दुर्बल हुने र विषम दिनमा रज प्रबल हुने भएकाले सम दिनमा समागम गर्दा पुत्रको र विषम दिनमा समागम गर्दा पुत्रीको जन्म हुन्छ भन्ने मान्यता प्रचलित रहेको हो ।
सन्तान उत्पादनका लागि गरिने समागमका सन्दर्भमा विधिपूर्वक पूजा गरेर वैदिक मन्त्रको उच्चारण गरिन्थ्यो । पछि आएर गर्भाधान संस्कारलाई गोप्य ठान्न थालियो र विधिपूर्वक पूजाआजा गर्न दम्पतीहरु लजाउँदै गए । फलस्वरुप गोप्य रुपमा दम्पतीका बीचमा यौन स्वतन्त्रता मौलाउँदै गयो र सन्तान उत्पादनका लागि मात्र नभएर जुनसुकै समयमा यौन चाहना पूर्ति गर्नका लागि समागम गर्न दम्पतीहरु अग्रसर हुँदै गए ।
हुँदा हुँदा यौन स्वतन्त्रता दम्पतीका बीचमा मात्र सीमित रहन सकेन र पाश्चात्य दुष्प्रवृत्तिले गर्दा परस्त्रीगामी पुरूष र परपुरूषगामी महिलाहरु पनि हाम्रो समाजमा बढ्दै जान थाले । जसका कारण विभिन्न किसिमका यौन रोगहरु मात्र भित्रिएनन् हाम्रा पारिवारिक नैतिक बन्धनहरु पनि टुट्तै गए । यस किसिमका दुष्प्रवृत्तिहरुको निराकरण गर्नका लागि गर्भाधान संस्कारलाई सबैले अवलम्बन गर्दै जानु आवश्यक छ ।
गर्भाधान संस्कार किन गर्ने ?
संसारका अन्य सबै प्राणीहरुको गर्भाधान संस्कार गर्नुपर्दैन तर मान्छेको मात्र किन गर्भाधान संस्कार गर्नुपर्छ ? भन्ने जिज्ञासा जागृत हुनु स्वाभाविक छ । मान्छे चेतनशील प्राणी भएकाले बौद्धिक विकासका लागि गर्भाधान संस्कार आवश्यक छ । गर्भाधान संस्कार पतिपत्नीबीच सहवासका लागि पारस्परिक सम्मति र सन्तानको आवश्यकता द्योतन गर्ने संस्कार हो । त्यसैले पत्नीको पूर्णतः अनुमति नलिईकन वासनात्मक रुपमा गरिने समागमले दाम्पत्यजीवनलाई सुखद यात्रातर्फ डो¥याउन सक्तैन । जुन परिवारमा बढ्ता गरिबी छ त्यही परिवारका सन्तानहरु बढी जन्मिएको देखिन्छ । जनजनमा गर्भाधान संस्कारको मह¤वबोध गराउन सकिएको भए गरिबहरुले थप गरिब हुनुको पीडा भोग्नुपर्ने नै थिएन ।
वैदिक सनातन पद्धतिमा भ्रूणहत्यालाई अत्यन्त ठूलो पाप मानिन्छ तर वर्तमानमा पाश्चात्य दुष्प्रभावका कारण नेपालमा पनि गर्भपतनले कानुनी मान्यता पाएको छ र गर्भनिरोधक औषधीहरुको अत्यधिक सेवनले गर्दा महिलाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको छ । गर्भाधान संस्कारको मूल मर्मलाई आत्मसात् गर्न सकिएका खण्डमा भ्रूणहत्या र गर्भनिरोधक औषधी सेवनको शृङ्खला कम हुँदै जाने थियो । रजस्वला भएको चौथो, एघारौँ र तेह्रौँ दिन तथा अष्टमी, चतुर्दशी, औँसी, पूर्णिमा, सङ्क्रान्ति जस्ता पर्व दिनलाई पनि छाडेर अन्य दिनमा गर्भाधान गर्ने शास्त्रीय विधान छ । उपर्युक्त वर्जित दिनमा गर्भाधानमा प्रवृत्त हुँदा मानव शरीरमा पर्ने दुष्प्रभावबाट बच्नका लागि पनि गर्भाधान संस्कारको चिन्तन गर्नु आवश्यक देखिन्छ ।
पुंसवन संस्कार किन गर्ने ?
सोह्रौँ संस्कारहरुमध्ये गर्भाधान संस्कारपछि आउने दोस्रो संस्कार पुंसवन संस्कार हो तर वर्तमानमा यसलाई समेत व्यवहारमा ल्याउने दम्पतीहरु भेट्न निकै मुस्किल छ । सामवेदमा उल्लेख भएअनुसार मित्र, वरूण, दुवै अश्विनीकुमार, अश्विनी, वायु, अग्नि, इन्द्र र बृहस्पति पनि पुरूष नै भएकाले पत्नीका गर्भबाट पनि पुरूष वा पुत्रकै जन्म हुन सकोस् भन्ने कामनाले पुंसवन संस्कार गरिन्छ । गर्भ रहेको दोस्रो वा तेस्रो महिनामा यो संस्कार गर्ने शास्त्रीय व्यवस्था छ । शरीर–विज्ञानका दृष्टिले गर्भ रहेको तेस्रो वा चौथो महिनामा गर्भस्थ शिशुको लिङ्ग पहिचान हुन्छ र त्यसभन्दा पहिल्यै छोराको चाहना राख्ने दम्पतीले पुंसवन संस्कार गर्नुपर्ने व्यवस्था गरिएको हो ।
‘पुम्’ नामक नरकबाट रक्षा गर्ने भएकाले ‘पुत्र’ भनिएको हो र पुत्रले नै आफ्नो वंशको उद्धार गर्न सक्छ भन्ने परम्परागत मान्यताले हाम्रो समाजमा धेरै छोरीहरु जन्मिसक्ता पनि छोराको चाहना राख्ने दम्पतीहरु प्रशस्तै छन् । यही मान्यताका कारण कसैले पनि छोरी भइदियोस् भनेर कुनै व्रत वा भाकल गरेको देखिँदैन तर छोराको चाहनाले विभिन्न किसिमका पूजाआजा र भाकल गर्ने दम्पतीहरु हाम्रो समाजमा अझै पनि कम छैनन् ।
पुंसवन संस्कारका क्रममा पतिपत्नी दुवैले सर्वप्रथम पितृहरुलाई खुसी तुल्याउन माङ्गलिक कर्म गर्छन् र अन्तमा पत्नीलाई आयुर्वेदिक विभिन्न औषधीको रसपान गराइन्छ । यसले गर्दा गर्भिणीका मनमा एकातिर छोरो जन्मिन्छ भन्ने भावनाको उदय हुन्छ भने अर्कातिर गर्भिणीले आफ्नो शरीरलाई रसायनका आधारमा सबल भएको अनुभूति गर्छन् । जसले छोरो वा छोरी जे भए पनि सन्तान नै हुन् भनेर विभेद गर्दैनन् र एक वा दुई छोरी भएपछि अर्को सन्तान जन्माउने चाहना नै राख्तैनन् तिनीहरुका लागि पुंसवन संस्कार अनुचितजस्तो लाग्ला तर जसले पहिलो सन्तान छोरो नै होस् भन्ने चाहन्छन् वा जसले पहिला छोरी जन्मिएपछि अर्को सन्तान छोरो नै होस् भन्ने इच्छा राख्छन् उनीहरु पुंसवन संस्कार गरेर लाभान्वित हुन सक्छन् ।
सीमन्तोन्नयन संस्कार किन गर्ने ?
सोह्र संस्कारहरुमध्ये पुंसवन संस्कारपछि गरिने सीमन्तोन्नयन तेस्रो संस्कार मानिन्छ । यस संस्कारलाई पनि हाल व्यवहारमा ल्याइएको पाइँदैन । ऋग्वेदमा उल्लेख भएअनुसार जसरी ब्रह्माले अदितिको सीमन्तोन्नयन गरेका थिए त्यसैगरी यी गर्भिणीको सीमन्तोन्नयन गरेर यिनका छोरानातिलाई मैले वृद्धावस्थासम्म दीर्घजीवी बनाउँछु भन्ने कामना गरिन्छ ।
पारस्कर गृह्यसूत्रका अनुसार यो संस्कार गर्भ रहेको छैटौँ वा आठौँ महिनामा गर्नुपर्छ । यो संस्कार पनि गर्भाधान संस्कार जस्तै क्षेत्रगत वा गर्भगत शुद्धिका लागि गरिन्छ । सीमन्तोन्नयन संस्कारका क्रममा ‘वीरसूस्त्वं भव’ अर्थात् तिमी वीर सन्तानलाई जन्माउने आमा बन भनेर गर्भिणीलाई आशीर्वाद दिइन्छ । साथै यतिबेला गर्भिणीले जस्तो पुत्र जन्माउने चाहना राखेकी हुन्छिन् त्यस्तै चाहनालाई संवद्र्धन गर्ने खालका पुस्तक पढ्न तथा श्रव्यदृश्य सामग्रीहरु सुन्न र पढ्न प्रेरित गर्नु राम्रो हुन्छ । यसप्रकार सीमन्तोन्नयन संस्कार गर्नाले सौभाग्य प्राप्त हुने, श्रेष्ठ सन्तान जन्मिने, गर्भपतनबाट बच्ने र गर्भस्थ शिशुको समेत रक्षा हुने विश्वास गरिन्छ ।
उपसंहार
वर्तमान समयमा गर्भाधान संस्कारको उपयोग नगरिएका कारण कुन दिन गर्भ रहन्छ भन्ने कुरा दम्पतीहरुलाई नै थाहा हुँदैन । मासिक रुपमा हुने रजस्वलाको नियमित क्रम रोकिएपछि र डाक्टरकहाँ गएर परीक्षण गरेपछि मात्र गर्भ रहेको पत्ता लाग्ने गरेको छ ।
गर्भाधानका समयमा यसरी सत् चिन्तन नगरीकन र विशेष सावधानी नअपनाईकन गर्भ रहँदा त्यसको दुष्प्रभाव हाम्रा सन्ततिहरुमा पर्दै गएको छ । त्यसैगरी छोराकै चाहना राखेर पनि कतिपय दम्पतीहरुले आफ्नो रहर पूरा गर्न सकिरहेका छैनन् र छोराकै चाहनाले गर्दा कतिपय दम्पती छोरीको भ्रूणहत्या गर्न पनि बाध्य भइरहेका होलान् ।
त्यस्तै प्राकृतिक वनस्पतिहरुको रसपान गर्नबाट विमुख हुँदा गर्भिणीको स्वास्थ्य अपेक्षाकृत सबल हुन सकेको छैन भने गर्भस्थ शिशुको सुरक्षाका लागि आध्यात्मिक चिन्तनसमेत गरिएको पाइँदैन । तसर्थ ओझेलमा परिरहेका गर्भाधान संस्कार, पुंसवन संस्कार र सीमन्तोन्नयन संस्कारलाई पुनर्जीवन दिएर यिनको उपयोग गर्न सकिएमा उपर्युक्त प्रकारका समस्याहरुको क्रमशः निराकरण गर्दै जान सकिने प्रबल सम्भावना देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

[email protected]

 

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया