बढ्दो आत्महत्या : चिन्ताको विषय

अन‌ि यो पनि

कोरोना महाव्याधिको बढ्दो सन्त्रासले सर्वसाधारणमा मानसिक समस्यामात्रै बढाएको छैन, लकडाउन र निषेधाज्ञाको समयमा तीन हजार बढीले आत्महत्या गर्न बाध्य भएका छन् । कोरोना कहरका कारण गरिबी र भोकमरी बढ्दै गएको छ भने चैतयता आत्महत्या र अपराधका घटना पनि ह्वात्तै बढेका छन् । क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेका, आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका खबरहरु पनि प्रकाशमा आइरहेकै छन् । लामो लकडाउन र त्यसपछिका निषेधाज्ञाका कारण अहिले आममानिसहरुको दैनिक जीवनमा निकै असर पुगेको छ । श्रमिकदेखि श्रमजीवीसम्मलाई पेट पाल्ने चिन्ताले सताएको छ । कैयौँ मानिसको खाइपाइ आएको जागिरसमेत खोसिएको छ । नियमित आम्दानीको सुनिश्चितता छैन भने भविष्यप्रतिको चिन्ताले निकै सताएको छ । मजदुर वर्गहरु हातमुख कसरी जोर्ने भन्ने चिन्ताले बेस्मारी अत्तालिएका छन् । यी विविध परिणतिहरुले पनि पछिल्लो समय मानिसलाई आत्मदाह गर्नुपर्ने अवस्थासम्म पु¥याएको छ । नेपाल बढी आत्महत्या गर्ने मुलुकमध्ये शीर्ष १०÷१२ मा रहेको छ । कोरोना कहरमात्रै होइन सामान्य समस्यामा पनि आत्महत्या नै रोज्ने प्रवृत्तिका कारण नेपालमा आत्महत्याको स्थिति विकराल बन्दै गएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार लकडाउनको अवधि अर्थात् चैत ११ गतेदेखि साउन ४ गतेसम्ममात्रै देशभर २ हजार २१८ जनाले आत्महत्या गरेका छन्, जसमा प्रदेश नम्बर ५ का मात्रै ४२९ जना छन् । गत वर्ष अर्थात् लकडाउन हुनुपूर्वको अवधिमा आत्महत्या गर्नेको संख्या ३ हजार ५२४ थियो । लकडाउनबाहेक अन्य समयमा नेपालमा दैनिक औसत १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्कले देखाएको छ । कोरोना भाइरसको कहरयता दैनिक औसत १८ देखि २० जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय आत्महत्या गर्नेहरुमा बालबालिकासमेत देखिएका छन् । प्रायः विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरीका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर आत्महत्या गर्नेहरु छन् । आत्महत्याको स्थिति भयावह बन्दै गइरहँदा बढ्दो विकृतिको कारण भने यकिनका साथ भन्न नसकिने प्रहरी अधिकारीहरुको भनाइ छ । आत्महत्या आफैँमा मनोविकारबाट उत्पन्न हुने एउटा समस्या हो । व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलता, सामाजिक सञ्जालको दुरूपयोगजस्ता कारणले मानिसहरु आत्महत्या गर्न बाध्य हुने मनोविद्हरु बताउँछन् । नेपालमा लकडाउनको समयमा अन्य अपराधमा कमी आए पनि आत्महत्याको दर भने झनै बढ्दै गएको छ, यो चिन्ताको विषय हो ।
पछिल्लो समय समाजमा अनेकौँ घटना देखिन र सुनिन थालेका छन्, यसको कारण लकडाउन र निषेधाज्ञाको असर नै हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नपाओस् भनेर सरकारले विभिन्न उपायहरु अवलम्बन गर्ने क्रममा पछिल्लो समय निषेधाज्ञा लागू गरेको छ । तर, सरकारले यसैलाई अन्तिम विकल्प मानेर अघि बढ्दा अहिले समाजमा त्यसको बहुआयामिक प्रभाव देखिन थालेको छ । लामो लकडाउनका कारण समाज र समग्र अर्थतन्त्रमा पारेको प्रभावबारे सरकार अनभिज्ञ छैन । जनताका यावत् समस्यालाई नजरअन्दाज गर्दै सरकारले लकडाउन र निषेधाज्ञा लागू गर्दा साना व्यवसायीहरु पलायन भइसकेका छन् भने ठूला उद्योगी व्यवसायीहरु चरम सङ्कटमा परेका छन् । पछिल्लो समय चौतर्फी क्षेत्रमा सङ्कट उत्पन्न हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पारिसकेको छ । जसका कारण ऋण लिएर व्यवसाय गर्ने हजारौँ व्यवसायी डिप्रेसनमा परेका छन् । आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक पक्ष पनि जिम्मेवार हुन्छन् । बच्चालाई पेटभरि खान दिन नसक्दा अभिभावकले बालबच्चासहित सामूहिक आत्महत्या गरेका कैयौँ दृष्टान्त छन् । नेपाली समाजमा आत्महत्या विकराल सामाजिक समस्या बनिरहँदा यसलाई व्यक्तिको मानसिक समस्याका रुपमा बुझ्नु अन्याय हुनजान्छ । तसर्थ, राज्यले बढ्दो आत्महत्यालाई सामाजिक समस्याका रुपमा मात्रै नहेरी आत्महत्याका कारणहरुको समयमै खोजी गर्नु आवश्यक देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया