एक महिना बित्न लाग्यो : खुलेनन् मध्यवर्ती कार्यालयका ताला

अन‌ि यो पनि

माडी । चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायको घरमा आगो लगाएको विरोधमा आन्दोलनरत विभिन्न संघर्ष समितिहरुले माडी नगरपालिकामा रहेका चारवटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा गरिएको तालाबन्दी एक महिना बित्न लाग्दासमेत खुल्न सकेका छैनन् ।
चेपाङ समुदायको घरमा आगो लगाउने र भत्काउने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्नेलगायत १५ बुँदे माग गर्दै बाँदरझुला सुकुमबासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र बाढीपीडित बस्ती व्यवस्थापन संघर्ष समितिले साउन १८ गतेका दिन संयुक्तरुपमा माडीको पाँच पाण्डव, बघौडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
उनीहरुका मागहरुमा बाँदरझुलामा बाटो बनाउन पाउनुपर्ने, खेतीपाती कार्यमा ट्रयाक्टर प्रयोग गर्न पाउनुपर्ने र बाँदरझुला बस्तीमा मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको समूह गठन गर्न पाउनुपर्ने रहेका छन् ।
त्यसैगरी, माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायको आवास निर्माणमा निकुञ्जले गरेको अवरोध हट्नुपर्ने, वागमती प्रदेश सरकारद्वारा निर्माणाधीन माडी ९ को नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्य पूरा गर्न पाउनुपर्ने लगायतका माग रहेको छ ।
बाँदरझुला सुकुमबासी संघर्ष समितिका संयोजक राजकुमार चेपाङले माडीका मध्यवर्ती कार्यालयहरुमा भएको तालाबन्दी अनिश्चित कालसम्म लम्बिने बताए । “मध्यवर्तीमा लगाएको ताला कहिले खुल्छ र खुलाउँछ भन्ने कुराभन्दा पनि हामी माडीका पीडित समुदायहरुको मुद्दा कहिले सम्बोधन गर्छन् भन्ने कुराचाहिँ मुख्य कुरा हो । “संयोजक चेपाङले भने ।
बाँदरझुला, कुसुमखोला, राईडाँडा, पौहारी र परूइ खोलाको किनारमा रहेका जनताहरुप्रति चितवन राष्ट्रिय निकुञ्जले ज्यादति र अमानवीय व्यवहार गरेको कुरा तथा राप्ती नगरपालिकाका राजकुमार चेपाङलाई निकुञ्जका सेनाले कुटी–कुटी मारेको कुरा समेत वार्डेनलाई थाहा छैन भन्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । संयोजक चेपाङले भने ‘अहिलेको वार्डेनले जुन किसिमको गैरजिम्मेवारी अनभिज्ञता देखाइरहनु भएको छ, यो कुरा उहाँको नैतिक जिम्मेवारीबाट थाहा हुने कुरा हो ।
संयोजक चेपाङले भने “यो समस्या माडीका सिंगो सुकुमबासीहरुको साझा समस्या हो, यो समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले बाँदरझुला, कुसुमखोला, परूईलगायतका अन्य क्षेत्रमा बसोबास गरिरहेका भूमिहीनहरुको सुरक्षित आवासको ग्यारेन्टी नगर्दासम्म हाम्रो आन्दोलन रोकिन्न ।’’
यता, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले तालाबन्दी खुलाउनका लागि खासै आवश्यक पहल र समन्वय गरेको पाइन्न । निकुञ्ज कार्यालयले मध्यवर्ती कार्यालयहरुमा भएको तालाबन्दीको विषयमा आफूहरुलाई आधिकारिकरुपमा जानकारी प्राप्त नभएको बताउँदै आएको छ । अहिले माडी नगरपालिका–९ मा रहेको बाँदरझुलामा ५ सय र कुसुमखोला नमुना चेपाङ बस्तीमा १६० घरधुरी रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया