समाजका अगुवाबाटै हेलचेक्य्राइँ : स्वाब दिएपछि मनपरी घुमघाम

अन‌ि यो पनि

भरतपुर । यही भदौ १४ गते भरतपुर महानगरपालिका–१ वागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा संघीय सांसद्, प्रदेश सांसद्, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, प्रहरी प्रमुख, स्वास्थ्यकर्मीलगायत जिल्लाका विशिष्ट व्यक्तिहरुकै उपस्थितिमा सामान्य खालको औपचारिक कार्यक्रम गरेरै आइसोलेसन कक्षको उद्घाटन गरियो ।
अहिले सोही कार्यक्रममा सहभागीमध्येका एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुल्नमा आएको छ । स्थानीय नेतासमेत रहेका ती व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना सङ्क्रमण पुष्टि भएको बुझिएको छ । चितवन मेडिकल कलेज अस्पतालमा क्यान्टिन चलाउँदै आएका उनलाई क्यान्टिनभित्रकै चार जनामा संक्रमित भएपछि तिनीहरुबाटै भाइरस सरेको हो ।
आफ्ना क्यान्टिनका चार जनामा सङ्क्रमण देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्ने मान्छे नै कन्ट्याक्ट टे«सिङको आधारमा स्वाब दिइसकेपछि पनि सार्वजनिक कार्यक्रममा दौडादौड गर्नाले समाजमा नकारात्मक सन्देश गएको छ । र, त्यस्तै व्यक्तिबाट समाजमा सङ्क्रमण धेरै जनामा सर्न सक्ने जोखिम पनि प्रबल बन्दै गएको छ ।
वर्तमान परिस्थितिमा सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्लाभित्र पूर्णरुपमा निषेधाज्ञा जारी गरिरहेकै समयमा समाजमा अगुवा भनिएका व्यक्तिबाटै भएका यस्ता गतिविधिप्रति आमनागरिकले नै प्रश्न उठाएका छन् ।
केही दिनअघि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले पनि स्वाब दिइसकेपछि रिपोर्ट नआउँदै क्षेत्र विकास समितिमै भएको कार्यक्रममा सहभागी भएका थिए । त्यसको भोलिपल्ट उनलाई सङ्क्रमण पुष्टि भएको थियो । यसरी समाजको प्रतिनिधित्व गरेकै व्यक्तिले चरम लापर्बाही गर्दा सङ्क्रमणको दर झनै उच्च हुँदै गएको छ ।
के भन्छन् स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी ?
कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब दिएका व्यक्तिहरु नै समाजमा खुलमखुला हिँडिरहेको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् । परीक्षणका लागि स्वाब दिइसकेका व्यक्तिलाई नतिजा नआएसम्म घरबाहिर नहिँड्नु भनिए पनि त्यसको पालना गर्ने कमै छन् । यस्तै अनुभव छ भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी केशव भट्टको ।
रिपोर्ट आइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई जानकारीको लागि फोन सम्पर्क गर्दा ‘ए हो र ? ल ल कसैलाई नभन्नु है म सुरक्षित छु ।’, ‘म त आलु जोख्दै छु एकछिनमा फोन गर्नु है ?’ जस्ता उत्तर आउने गरेको उनले बताए ।
त्यतिमात्र होइन आशङ्का लागेरै स्वाब दिइएका व्यक्ति नै सङ्क्रमण पुष्टि भएको रहेछ, सुरक्षित बस्नुस् है भन्दा ‘कसले भन्यो, मेरो पोजेटिभ हुनै सक्दैन’ जस्ता उत्तरको पनि सामना गर्नुपरेको उनको भनाइ छ ।
‘स्वाब दिइसकेका व्यक्तिले रिपोर्ट आउने दिनसम्म कुर्न नसक्ने भए केका लागि परीक्षण गर्नु ?’ उनी भन्छन् । उनका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्ति जन्मदिन मनाउन गएका, किराना पसल चलाएका, अस्पतालमा बिरामीको कुरूवा, विदेशबाट आएकालगायतका छन् । तर, समाजमा तीव्ररुपमा कोरोना सङ्क्रमण फैलिँदा पनि बढीभन्दा बढी संवेदनशील बन्नुपर्नेमा त्यस्तो नभएको भट्टले बताए ।
‘सबैले आ–आफ्नो ठाउँबाट सक्दो सुरक्षित हुने कोसिस र पहल गरे सफल भइन्छ, नत्र खै के खै के,’ उनी भन्छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...