भारतबाट आयात गरेको पेट्रोलियम पदार्थ डिपोसम्म नपु¥याई बीचबाटोमै चोरी भइरहेको प्रकरणमा नेपाल आयल निगमका अधिकृतहरु संलग्न रहेको तथ्य पत्ता लागेको छ । तेल चोरी प्रकरणमा निगमका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धकसहित २५ जना पक्राउ परिसकेका छन् । एक साताअघि प्रहरीले भलवारी क्षेत्रीय कार्यालयका अधिकृतलाई पक्राउ गरेको थियो । दुई साताअघि प्रहरीले भैरहवा र भलवारीबीचमा पर्ने पडसरी र मधौलियामा छापा मारेर २२ जनालाई रङ्गेहात पक्राउ गरेको थियो । तेल चोरी प्रकरणमा आयल निगमका कर्मचारीसहित तेल मालिकको समेत संलग्नता रहेको पाइएको छ । निगम प्रबन्धकले सिल तोडिएका ट्याङ्कर डिपोमा ल्याउनेलाई कारबाही नगरी तेल अनलोड गर्न दिएर चोरीलाई प्रश्रय दिएको आरोप लागेको छ । प्रहरीको पछिल्लो अनुसन्धानले पनि ट्याङ्कर व्यवसायी, चालक र आयल निगमका कर्मचारीको मिलोमतोबिना चोरी सम्भव नहुने निष्कर्ष निकालेको छ ।
पेट्रोलियम पदार्थको चोरी प्रकरणमा पक्राउ परेका चालकको बयानका आधारमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठसहित १६ जना व्यवसायीका नाममा प्रहरीले पक्राउपुर्जी जारी गरेको थियो । अगुवा व्यवसायी नै तेल चोरीमा संलग्न रहेको पाइएपछि यस प्रकरणमा ठूलै गिरोह सक्रिय रहेको अनुमान गरिएको छ । यो प्रकरणमा राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । यसअघि तेल चोरीमा चालकलाई मात्र दोष लगाएर उम्किँदै आएका व्यवसायी र निगम कर्मचारीहरु अनुसन्धानमा तानिएका छन् । भलवारी डिपोमा भारतको बैतारपुर डिपोबाट पेट्रेलियम लोड भएलगत्तै तेल चोर्ने काम सुरू हुने पाइएको छ । गत महिनामात्रै नेपालका ट्याङ्करहरुको क्षमता बढाएर प्रतिट्याङ्कर दुई सय लिटर पेट्रोलसम्म कम लोड हुने गरेको तथ्य पत्ता लागेको थियो। जसबाट नेपाल भित्रिने तेलमा मासिक ६ करोडभन्दा बढी घाटा हुँदै आएको थियो ।
अहिले पनि बजारमा तेलको कृत्रिम अभाव सिर्जना भइरहेको छ । पुस्तक पसलदेखि मदिरालयसम्म कालोबजारी गरी पेट्रोल बिक्री हुने गरेको पाइएको छ । पेट्रोल पम्पमा तेलको अभाव रहेको अवस्थामा कालोबजारीहरुले महँगोमा बिक्री गर्दै आएको गुनासो बढेपछि चितवन प्रहरीले कालोबजारीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले ट्याङ्कर मालिकलाई उन्मुक्ति दिन भारतबाट हुने ढुवानी बन्द गरेर तेलको अभाव सिर्जना गरिएको निगम कर्मचारीको भनाइबाट तेल चोरीमा ट्याङ्कर व्यवसायीहरुको प्रत्यक्ष संलग्नता पुष्टि हुन्छ । एक साताअघिदेखि भारतको बैतालपुरबाट निगमको पेट्रोलियम ढुवानी बन्द छ । अहिले अमलेखगञ्ज डिपोबाट पेट्रोलियम सहज बनाउन निगमले निजी ट्याङ्करमार्फत ढुवानी गरी वितरण गरिरहेको छ । निगमले आफ्ना कर्मचारीहरुको संलग्नता नरहेको भन्दै बचाउ गर्न खोजेको छ । तेल चोरीमा गिरोहहरुलाई कुनै पनि शक्तिको आडमा उन्मुक्ति दिनुहुँदैन । चोरीमा संलग्न गिरोहको खोजी गरी कानुनी कारबाही गर्नु आवश्यक छ ।
Discussion about this post