भरतपुर कोभिड ल्याब चौबीसैघन्टा सञ्चालन गरिने

अन‌ि यो पनि

चितवन । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि भरतपुर अस्पतालको मातहतमा सञ्चालनमा रहेको कोभिड–१९ प्रयोगशाला चौबीसैघन्टा सञ्चालन गरेर छिटो रिपोर्ट सार्वजनिक गर्ने वातावरण बनाइने भएको छ ।
अहिले सो प्रयोगशाला बढीमा १८ घन्टामात्र सञ्चालनमा छ । संक्रमितको संख्या बढ्दै जाँदा स्वाबहरुको नमुना अत्याधिक मात्रामा प्रयोगशालामा थुप्रिने गरेको छ । जसका कारण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ ।
तत्काल रिपोर्ट आउने गरी प्रयोगशाला सञ्चालन गर्न पूर्वी चितवनका जनप्रतिनिधिहरु एकजुट भएका छन् । सो प्रयोगशालालाई चौबीसैघन्टा सञ्चालन गर्न उनीहरु सहमत भएका हुन् । त्यसका लागि जिल्ला समन्वय समितिले पहल गर्ने निर्णय भएको छ ।
खैरहनी नगरपालिकामा सोमबार प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालसहितको बैठकले प्रयोगशालालाई २४सै घन्टा सञ्चालनका लागि आवश्यक वातावरण बनाउने सहमति भएको हो । अहिले १० जना प्राविधिक कार्यरत छन् । २४सै घन्टा सञ्चालन गर्दा थप जनशक्ति आवश्यक हुने हुँदा त्यसको जिम्मा जिल्ला समन्वय समितिले लिने सहमति भएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीका अनुसार अहिले १० जना प्राविधिकले १८ घन्टा काम गरिरहेका छन् । कुल विधिबाट परीक्षण गर्दा दैनिक ७०० सम्म परीक्षण भइरहेको छ भने सिंगल परीक्षण गर्दा २७० वटा नमुनामात्र परीक्षण हुन्छ । प्रयोगशालालाई २४सै घन्टा सञ्चालन गर्न सके भोलिपल्टै रिपोर्ट दिन सकिने डा अधिकारीले बताइन् ।
रत्ननगरमा पनि ल्याब स्थापना गरिने
बैठकले भरतपुर कोभिड प्रयोगशालामा क्षमता वृद्धि गराउनुका साथै बकुलहर रत्ननगर अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि जिल्ला समन्वय समिति चितवनले पूर्वी चितवनका चार वटा नगरपालिकाहरुको संयुक्त लगानीमा ल्याब सञ्चालन गर्ने सहमति भएको खैरहनीका मेयर चौधरीले बताए ।
भरतपुरको प्रयोगशालालाई क्षमता बढाएर काम गर्दै जाने, पूर्वी चितवनका लागि अर्को प्रयोगशाला खरिद प्रक्रिया अघि बढाउने सहमति भएको उनले बताए । अहिले पूर्वी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलीमा संयुक्तरुपमा आइसोलेसन सञ्चालन गरेका छन् । सो आइसोलेसनमा आइतबारसम्म २१ जना रहेका छन् ।
बैठकमा सहभागी प्रदेशसभा सदस्य खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वनले कोरोना संक्रमण भयावह हुन नदिन पूर्वी चितवनमा प्रयोगशाला राख्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भरतपुर कोभिड–१९ प्रयोगशालामा एक सिफ्ट थप्न सकिने र त्यसका लागि आवश्यक जनशक्तिका लागि न्यूनतम तलब खुवाउन सके प्रोत्साहन रकम सरकारले व्यवस्था गर्न सक्ने बताए ।
तिवारीले मृत्युलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने र यहाँका नागरिकले पनि स्वास्थ्य सजगता अपनाइ इमिन्युटी पावर बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । बैठकमा कालिका र राप्तीका नगर प्रमुख प्रभा बरालको भने उपस्थिति थिएन ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया