भरतपुर । आन्तरिक पर्यटन प्रवद्र्वन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ चितवनको सौराहामा बिहीबारदेखि प्रथम गैंडाकप आमन्त्रित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ ।
स्थानीय १५ वटा क्लब आवद्ध युवा समाज सौराहाले प्रतियोगिता आयोजना गरेको हो । बाघमारा सामुदायिक वनको चौर (अन्तराष्ट्रिय हात्ती दौड हुने स्थल) मा प्रतियोगिताको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले एक कार्यक्रमबीच गरे ।
कार्यक्रममा बछौली गाविस सचिव लेन्जन्द्र लामिछाने, बाघमारा सामुदायिक वनका अध्यक्ष बीपी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम युवा समाजका अध्यक्ष श्रीलाल परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराहा विजयी भएको छ । सौराहाले गैंडाकोट फुटवल क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । ४ गोल गर्न सफल सौराहा युवा समाजका ७ नम्बर जर्सीका सुमन लामा म्यान अफ दी म्याच बने । प्रतियोगिता जेठ ५ गते सम्म चल्नेछ । प्रतियोगितामा चितवन, नवलपरासी, मकवानपुर र रुपन्देहीका १२ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित गैंडाको मूर्ति पुरस्कार पाउने छ भने दोस्रोलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित गैंडाको मूर्ति पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Discussion about this post