किसानलाई कोरोना त्रासभन्दा खेती बिग्रने चिन्ता

अन‌ि यो पनि

धादिङ । कोरोना भाइरसको संक्रमणले डरलाग्दो रुप लिन थालेपछि यतिबेला धादिङलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।
संक्रमण फैलन नदिन गरिएको निषेधाज्ञाका बीच पनि धादिङका विभिन्न स्थानका किसान एक बोरा रासायनिक मलका लागि ज्यानको पर्वाह नगरी ठेलमठेल भीडभाड गरेर लाइनमा उभिन बाध्य छन् । शनिबार बिहान मिर्मिरे उज्यालो नहुंदै रासायनिक मल लिन सदरमुकाम धादिङबेँसीमा रहेको नीलकण्ठ सहकारीमा सयौँ किसानको भीड लागेको थियो ।
कोरोना भाइरसबाट धादिङमा एक जनाको ज्यान गएको छ भने जिल्लाभर १५६ जना बिरामी परिसकेका छन् । जिल्लामा संक्रमितको दर बढ्दै गएपछि गएको साउन २८ गतेदेखि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला सदरमुकाम र राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरी यातायात चलाउन, पसल खोल्न, कार्यालयहरु सञ्चालन गर्न समूहमा बस्न, भीडभाड गर्न, भेला हुन रोक लगाएको छ ।
यी सबै कुरा चाल पाएर पनि शनिबार बिहान किसानहरु मास्कसमेत नलगाई ठेलमठेल गर्दै लाइनमा उभिएका थिए । मल किन्न लाइन उभिएकामध्ये थोरैले मात्र मास्कको प्रयोग गरेका थिए । भीडभाडले सामाजिक दूरी तोडिएको थियो । लाइनमा रहेका किसानलाई व्यवस्थित गर्न प्रहरी टोलीनै खटिनुपरेको थियो ।
बजारमा सजिलैसँग मल नपाइने भएपछि खेतीबाली बिग्रिएर वर्षैभरि अनिकाल खेप्नुपर्छ कि भन्ने लागेर जोखिम मोल्दै मलको लाइनमा उभिनुपरेको किसानहरूको भनाइ थियो ।
खेतीपातीको मुख्य समयको बेला देशभरका किसान रासायनिक मलको अभाव खेप्न वाध्य हुने गरेका छन् । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत स्थानीय कृषि सहकारीहरुलाई रासायनिक मलको बिक्री वितरणको अनुमति दिएको भए पनि चाहिने जति मल सहकारीमा आपूर्ति हुन नसक्दा किसानहरु बर्सेनि सास्ती खेप्न बाध्य भएका हुन् ।
सदरमुकाम धादिङबेँसीमा रहेको नीलकण्ठ सहकारी संस्थाका अध्यक्ष बलराम श्रेष्ठका अनुसार खेतीपातीको समयमा एक सिजनमा करिब २५ सय बोरा मल आवश्यक पर्ने भए पनि मागअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल पठाउन नसक्दा समस्या भएको हो ।
संस्थाले सदरमुकाम र आसपासका क्षेत्रका किसानलाई मल बिक्री वितरण गर्दै आइरहेको छ । सहकारीले साल्ट ट्रेडिङमार्फत ल्याएको ४२५ बोरा मल शनिबार बिहान वितरण गर्न निकै हम्मेहम्मे परेको थियो । एक हजारभन्दा धेरै किसान मल लिन लाइनमा उभिएपनि पर्याप्त मल नभएका कारण घन्टौँसम्म लाइनमा उभिएर किसान खाली हात घर फर्कनुपरेको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का किसान जनक ढकालले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गजुरीका कार्यालय प्रमुख विनोद शर्माका अनुसार धादिङ जिल्लाका ११० वटा सहकारीले जिल्लामा मल बिक्री वितरणका लागि अनुमति लिएकोमा गत वर्ष ७० वटा सहकारीले मात्रै मलको कारोबार गरेका छन् ।
कृषि सामग्रीसँग मल बिक्रीका अनुमति लिएका जिल्लाका सहकारीहरुमा नीलकण्ठ नगरपालिकामा ८, धुनिबेँसी नगरपालिकामा ६ वटा रहेका छन् । त्यसैगरी गाउँपालिकातर्फ नेत्रावतीडबजोङमा १, बेनीघाटरोराङमा १२, सिद्धलेकमा ५, ज्वालामुखीमा ७, थाँक्रेमा ६, गल्छीमा ११, गजुरीमा १० र त्रिपुरासुन्दरीमा ४ वटा सहकारी रहेका छन् ।
मल बिक्रीको लागि कृषि सामग्री कम्पनीबाट अनुमति लिएका सहकारीहरुमार्फत गत आर्थिक वर्षमा जिल्लाभर १८७९ मेट्रिक टन युरिया, ९४३.९ डिएपी, ६२.२ पोटास र ४.०५० टन गरी कुल २८८९.१५ टन मल वितरण गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
कृषि सहकारीमार्फत मात्र वितरण गर्ने सरकारको निर्णय भएता पनि कतिपय व्यवसायीले विभिन्न सहकारीको नाममा मल झिकाएर मनपरी मूल्यमा रासायनिक मल बिक्री वितरण गरेको किसानहरुको गुनासो छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया