सङ्क्रमित थपिएसँगै धमाधम आइसोलेसन बनाउँदै स्थानीय तह

अन‌ि यो पनि

हेटौँडा । मकवानपुरका स्थानीय तहहरुले धमाधम आइसोलेसन बेडहरु बनाउन थालेका छन् । सङ्क्रमितको संख्या लगातार थपिन थालेपछि स्थानीय तहहरुले आइसोलेसन बनाउन थालेका हुन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा दुईवटा आइसोलेसन केन्द्र रहेका छन् । हेटौँडा–४, कर्राको श्रमिक माविमा रहेको आइसोलेसनमा ३७ वटा बेड रहेका छन् भने हेटौँडा–६, गौरीटारमा बागमती प्रदेश सरकारले १ सय २० वटा आइसोलेसन बेडसहित सञ्चालनमा ल्याएको छ । यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिकामा १० वटा बेडसहितको आइसोलेन तयार भएको छ भने मनहरी गाउँपालिकामा ३० बेडको आइसोलेसन सञ्चालनमा रहेको छ । यस्तै, बकैया गाउँपालिकामा ३० बेडको आइसोलेसन पनि तयार रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जिल्लामा आइसोलेसन बेडको संख्या २१७ पुगेको बताए । जनस्वास्थ्य कार्यालय हेटौँडाका सूचना अधिकारी राम केसीका अनुसार हाल मकवानपुरका ९१ जनाले जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट सेवा लिएका छन् भने १९ जना देशभरका विभिन्न स्थानमा उपचाररत छन् । बाँकी सङ्क्रमितहरु भने होम आइसोलेसनमा रहेका छन् ।
निषेधाज्ञाले घटेन सङ्क्रमणको दर
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत साउन २६ गतेबाट निषेधाज्ञा जारी गरेको भए पनि हेटौँडामा दिनानुदिन कोरोना सङ्क्रमण बढ्दो छ । समग्रमा मकवानपुरमा हालसम्म ४ सय ५३ जनामा सङ्क्रमण पुष्टि भैसकेको छ भने ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१, ३, ४ र १९ का रहेका छन् ।
निषेधाज्ञा गरेता पनि कोरोना सङ्क्रमण दर नरोकिएपछि मकवानपुरमा निषेधाज्ञा थप नहुने भएको छ । मकवानपुरमा आगामी भदौ १६ गतेपछि आवश्यक व्यवस्थापनका साथ निषेधाज्ञाको स्वरुप परिवर्तन हुने भएको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ गतेसम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिवर्तन गरिने भएको हो ।
शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षीय÷सर्वदलीय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सुझाव दिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ बसेको बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको कडा कार्यान्वयन गर्दै निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्नुपर्ने, साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितिलाई क्रमशः सहज बनाउँदै लानुपर्ने सुझाव दिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया