बसन्त पराजुली
भरतपुर । रत्ननगर नगरपालिका वडा नं. ६ लालपर्साकी ४५ वर्षीया पल्ली महतो अहिले अक्षर चिन्नका लागि साक्षरता कक्षा धाउँदै हुनुहुन्छ । श्रीमान्ले दैनिक ज्यालादारी गरी घर खर्च धान्न सहयोग पु¥याएपछि उहाँ दैनिक ज्यालादारी छाडेर साक्षरता कक्षामा पढ्न थालेकी हुन् ।
‘दैनिक ज्यालादारी नगरी घर खर्च धान्न गाह्रो पर्छ’, पल्लीले चितवन पोष्टसँग भनिन्, ‘उहाँ श्रीमान् अहिले ज्याला गर्न जानुहुन्छ । म पढ्न आउँछु ।’
तीन महिनाको साक्षरता कक्षामा महतोले अक्षर चिन्न र नाम लेख्न सक्ने भएकी छन् । ‘अब त आफ्नो नाम आफँै लेख्छु’, उनले थपिन्, ‘पहिला औंठा छाप लगाउनुपर्ने थियो । अब चाहिँ नाम लेखेर सही गर्न सक्ने भएँ ।’ पहिला ज्याला मजदुरी गर्न गए पनि पढ्न थालेपछि आफू ज्याला मजदुरीमा नगएको उनको भनाइ छ ।
लालपर्साकै बुधनी महतो पनि अहिले साक्षरता कक्षामा पढ्दै छिन् । उनले पनि सरर शब्द पढ्न लेख्न सक्छिन् । उनका श्रीमान् भगरा महत्तो टे«क्टर चालक हुन् ।
‘कहिलेकाँही ज्यालामा काम गर्न जानुपर्छ । तर धेरैजसो साक्षरता कक्षामा पढ्नै आउँछु’, बुधनीले भनिन्, ‘पढ्नका लागि श्रीमान्ले पनि सजिलो बनाइदिनु भएको छ ।’
पल्ली र बुधनीजस्तै दैनिक ज्यालादारी गरेर जिविको निर्वाह गर्ने महिलाहरु कोही ज्यालादारी छोडेर त कति कम गरेर पनि साक्षरता कक्षामा पढ्दै छन् । लालपर्सामै सञ्चालित साक्षरता कक्षाकी शिक्षिकाले आफ्नो कक्षामा पढ्ने अधिकांश महिलाहरु दैनिक ज्यालादारी गर्नुपर्ने परिवारका रहेको बताइन् ।
‘पढ्ने बेलामा खोज्नुपर्ने बाध्यता पनि छ’, उनले आफ्नो अनुभव सुनाउँदै थपिन्, ‘कतिपय श्रीमान् र परिवारले सहयोग गरेकाहरु आँफै पढ्न उत्सुक भएर पनि आउने गर्छन् ।’
‘बढी सिजनका बेलामा महिलाहरु काममा जाने भएकाले पनि आउन समस्या छ’, उनले भनिन् । तर पढ्न उत्साहित हुनेहरु भने समय मिलाएरै पनि आफूहरु पढ्ने गरेको बताउँछन् ।
‘भृकुटी कागज कारखाना नै बन्द भएपछि श्रीमान्को जागिर गयो । त्यो बेला मैले ज्यालादारी गरेर पनि परिवार पाले । तर अहिले श्रीमान् अन्यत्र दैनिक काममा जान्छन् मलाई पढ्न पठाएका छन्’, फूलमाया कुमालले भनिन् । उनि पनि लालपर्सामै पढ्छिन् ।
सन् २०१५ सम्ममा सवैलाई साक्षर बनाउने अभियानअन्तर्गत चितवनमा पनि अहिले साक्षरता कार्यक्रम सञ्चालन भएका छन् । जिल्ला शिक्षा कार्यालय चितवनले अहिले जिल्लामा विपन्न, सिमान्तकृत, दलितलगायतका समुदायमा लक्षित गरी कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा दुई नगरपालिका र २९ गाविसमा सञ्चालनमा रहेका एक हजार ७५३ कक्षामा ४३ हजार ७०० निरक्षर साक्षर बन्न पढ्दै छन् ।
उनीहरु मध्ये ९९ सय प्रतिशत महिला छन् । ‘गरिव तथा विपन्न समुदायका महिलाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएकाले पनि उनीहरु दैनिक ज्यालादारी गरेर पनि पढ्ने समय निकाल्नुपर्ने बाध्यता छ’, जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दवाडीले भने, ‘परिवारको सहयोग मिलेकालाई पढ्न अलि सहज भएको छ ।’
Discussion about this post