भरतपुर । ‘दुखेको देश’ आएको करिब पाँच वर्षपछि सर्जक शिव सुवेदी नयाँ गीत लिएर आएका छन्। विज्ञानका विद्यार्थी शिवले गरिबका गीत भनेर ‘अति भयो अति’ बजारमा ल्याएका हुन्। उनले गीत संगीतकै माध्यमबाट देशमा बढ्दै गएको बेथिति र विसंगतिविरूद्ध आवाज उठाएका छन्।
नेपालको राजनैतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, सीमा विवादलगायतका विषयलाई उठान गरेका छन्। उनले गीतमार्फत जनताको आवाज बोल्ने प्रयास गरेका छन्। यसअघि दुखेको देशमा पनि सरकारलाई खबरदारी गरेका उनले अति भयो अतिमा पनि सरकारलाई खबरदारी गरेका छन्।
सुवेदीका शब्द संगीतमा पुष्पाञ्जली म्युजिकले बजारमा ल्याएको गीतमा कुलेन्द्र विश्वकर्मा, सम्झना भण्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, बिक्रम परियार, कमला पोखरेल, नरेश खाती क्षेत्री र टिका सानुले आवाज दिएका छन्।
‘सुवेदीका यसअघि भुल्नै भयो धौ’, ‘घाम जस्तो चम्किलो जून हुँदैन,’ ‘भुमरीमा परेँ भने म’, ‘कल्पनामा भए नि देख्छु भनेको’, ‘किन यस्तो हुन्छ,’ ‘यो मायाले पीरै पार्ने भो,’ ‘कहाँ छौ र निरमाया’लगायतका लोक तथा दोहोरी गीत बजारमा छन्। ती सबै गीत उत्तिकै लोकप्रिय बनेको थियो।