वीरेन्द्रमणि पौडेल
विक्रम सम्वत् २०२९ सालमा वनजंगल तथा वन्यजन्तु संरक्षण ऐन बन्नुअघिसम्म नेपालका वनजंगलको जथाभावी दुरूपयोग हुँदै आएको थियो भने जंगली जनावर मारेर त्यसमाथि चढेर, जनावर मार्न प्रयोग गरिएको बन्दुक देखाएर फोटो खिचिन्थ्यो । यसो गर्दा आफूलाई बहादुर ठानिन्थ्यो र जसले आफूलाई त्यो कर्म गरेर बहादुर ठान्थ्यो, त्यो मान्छे विशेषगरी “राणा” थरको हुन्थ्यो । यदि त्यो थरको नभए तिनीहरुकै चाकडी गर्ने कोही नेपाली हुन्थ्यो वा राणाले खुशी पार्न चाहेका कुनै विदेशी वा तिनको समूह हुने गथ्र्यो । यो तथ्यलाई पुष्टि गर्नका लागि रूद्र शमशेरका नाति, ईश्वर शमशेरका छोरा विक्रम सम्वत् १९८२ मा जन्मिएका पुरूषोत्तम शमशेर जबराको जीवन भोगाइमा आधारित पुस्तक पढ्न सकिन्छ ।
समयको प्रवाहका कारण बिस्तारै–बिस्तारै मानव चेतना विकसित हुँदै गयो । यही क्रममा नेपाली जनताको पनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक चेतनास्तर अकाशिँदै गयो । अवैज्ञानिक, अव्यावहारिक, न्यायविहीन जहानियाँ राणा शासनको विरूद्ध केही राणा परिवारका सदस्यहरु र बाँकी अपवादलाई छाडेर सबै नेपालीले राणा शासनको विरूद्ध भौतिक र अभौतिक दुवै लडाइँ लडे । राणालाई हराए, आफूले जिते । शासक राणाहरुले हारेको झन्डै २२ वर्षपछि नेपाली जनताको पनि सहभागिता रहेको सरकारले जतिबेला नेपालको राजदरबारमा नयाँ राजाको रुपमा श्री ५ वीरेन्द्र उदाएका थिए, वनजंगल विनाश गर्न रोक लगाउने र जनावर मार्दा सजाय हुने कानुन निर्माण
ग¥यो । त्यतिबेलादेखि बिस्तारै–बिस्तारै जंगल मासिने र जंगली जनावर मारिने क्रममा १०० बाट ९९ हुँदै कमी आउन थाल्यो । विश्वका जंगलहरुबाट खासगरी बाघ, गैँडा, हात्तीजस्ता जनावरहरु तीव्र रुपमा घट्न थालेपछि विकसित मुलुकका विद्वान्हरुले संसारबाट यस्तो दुर्लभ सावित मह¤वपूर्ण जनावरहरुलाई लोप हुन दिन हुँदैन भन्ने सन्देश प्रवाह गरेसँगै दुनियाँले जनावर संरक्षणमा ध्यान दिन थाले । त्यसको प्रभाव नेपालमा पनि प¥यो र बल्ल नेपाल सरकारले गैँडा, बाघ, हात्ती संरक्षणमा सक्रियता देखायो । त्यो क्रम आज पनि निरन्तर छ ।
नेपालको जंगली जनावरको प्रसंगमा चर्चा गर्दा अन्य जनावर प्राकृतिक कारणले पनि जोखिममा परे । वर्षाको मौसममा पर्नेजति पानी नपर्दा निकुञ्जभित्रका तालतलैया सुक्नु, मान्छेका अनेकअनेक गतिविधिका कारण मौसम र वायुमण्डलमै नकारात्मक असर पर्नुजस्ता कारणले थुप्रै जीव–जीवात्माहरुको अस्तित्व धरापमा प¥यो । तर, जहाँसम्म सवाल विश्वमा अति दुर्लभ मानिएको एकसिंङे गैँडाको छ; यो जीव सीधा प्राकृतिक कारणले मात्रै सकिने अवस्थामा पुगेन, स्वदेशी र विदेशी मानव मस्तिष्कमा गाडिएको विध्वंसकारी विचारका कारण पनि संकटमा प¥यो । गैँडा अरु जनावरभन्दा किन ज्यादा खतरामा प¥यो ? जवाफका लागि केही शब्दहरु निर्माण गर्ने प्रयत्न गरौँ ।
वयस्क गैँडाको टाउकोमा नाकमाथि एक फिटजतिको अग्लो भाग हुन्छ, त्यसलाई नेपाली भाषामा “खाग” भनिन्छ । त्यो खाग भन्ने गरिएको गैँडाको अंग “रांैँहरुको गुजुल्टो हो, जुन रौँहरु कडा रुपले खाँदिएर” बनेको हुन्छ । पहिले–पहिलेका बद्मास राणा शासकहरुले कमजोर बुद्धिका कारण त्यो “खाग” यौनशक्ति बढ्छ भन्ने विश्वासमा विभिन्न तरिका अपनाएर खान थाले । राणाहरुको यो तौरतरिका देखेर तिनको संंगतमा आएका केही विदेशीहरुले पनि सोही प्रयोजनका लागि र कसैले अन्य खालका औषधि बन्छ भन्ने विश्वासमा गैंँडाको “खाग” खोज्न थाले । “खाग”का लागि गैँडा मार्नैपर्ने भयो । राणाहरु शासनमा रहँदादेखि बनेको गैँडा मार्ने च्यानल कमजोर थिएन । “खाग”का लागि धनी र शक्तिशाली स्वदेशी, विदेशीहरुले जति ठूलो धनराशि पनि तिर्न तयार भए । यही कारणले पनि गैँडा मार्ने अपराधको श्रृंखला आज पनि निमिट्यान्न भएन, जारी छ ।
अन्धविश्वास मानवसंसारमा अस्तित्वमा रहिरहेको एउटा यस्तो खतरनाक रोग हो, जसको अचूक औषधि के हो, आजसम्म पत्ता लाग्न सकेन । भूत, प्रेत, पिशाच, डंकिनी, बोक्सी, झाँक्री हुन्छ र यिनले नकारात्मक प्रभाव पार्छन् भन्ने कहावत नेपालमा मात्रै होइन, विश्वका थुप्रै मुलुकमा कहिन्छ । कानुनमै बन्दोबस्त गरेर कसैले कसैलाई बोक्सी आरोप लगाउन पाइँदैन भनिएको छ, तर नेपालमा अझै त्यो अन्धविश्वासको प्रभाव देखिएको छ र कुनै कमजोर महिला वा पुरूषलाई दिसा, पिसाब खुवाएर यातना दिइएको छ । बेलाबखत यस्ता घटना घटिरहेका छन् । त्यस्तै, गैँडाको “खाग” के काम लाग्छ, वैज्ञानिक परीक्षणबिना नै रुढीवादका कारण “खाग”प्राप्तिका लागि गैँडाजस्तो एक निर्दोष प्राणीको अपराधीहरुले हत्या गरिरहेका छन् । भौतिक दुनियाँका वैज्ञानिकहरुलाई मान्नुपर्ने यतिबेलाका मानिसहरुलाई एक प्रकारको बाध्यता पनि छ । त्यही कोणबाट व्याख्या गर्दा यदि वैज्ञानिकहरुले गैँडाको खाग औषधिका रुपमा यो तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए भने “लौ गैँडा समाप्त पारौँ र क्षणिक मस्ती गरौँ” भन्न पनि सुहाउँथ्यो । तर, अन्धविश्वासकै कारण आज संसारमा दुर्लभ गैँडालाई एक–एक गरी मार्दै, सिध्याउँदै गर्न लागिएको छ, यो नेपाल र नेपालीका लागि दुर्भाग्यबाहेक अरु हुनै सक्दैन । फेरि अचम्म र उदेकलाग्दो विषयचाहिँ के देखिन्छ भने गैँडा संरक्षणका लागि सरकारी कर्मचारी छन्, एक डफ्फा सेनासमेत तैनाथ गरिएको छ, जासुसहरु परिचालन गरिएको छ । यतिबेला त केही जागरूक युवापंक्तिसमेत स्वयंसेवकका रुपमा खटिएका छन् । यति भैकन नेपाली जनताको साझा सम्पत्ति दुर्लभ एकसिंङे गैँडा कसरी मारिन्छ र खाग लुटिन्छ ? ठीक जवाफ यस्तो हुन सक्छ– “जति शक्तिशाली र साधनस्रोत सम्पन्न संरक्षणकर्मीहरु छन्, तीभन्दा खाग तस्करहरु कुनै पनि हालतमा कमजोर छैनन् ।” आजसम्मको नतिजाले यही भन्छ ।
उसो भए को हुन सक्छ त्यतिविघ्न शक्तिशाली तस्कर, जो सिंगो नेपाल सरकारसँग जोरी खोज्छ र सिंगौरी खेल्छ ? गैँडा मार्छ र त्यो खाग विदेशीलाई डलरमा बेच्छ ? पुरूषोत्तम शमशेरको पुस्तकमा उल्लेख गरिएको छ– “त्यतिबेलाको शक्तिशाली राजदरबारका बहिनीछोरीहरु नै अनेक खालको तस्करीमा सामेल थिए ।” यसलाई प्रमाण मान्दा अनुमान लगाउन सकिन्छ, तस्करीमा सानो व्यक्ति वा समूह संलग्न हुनै सक्दैनन् । नेपालमा यतिबेला राजतन्त्र समाप्त भैसकेको छ । शाह र राणा थरका मान्छेहरु खासै शक्तिकेन्द्रमा छैनन् । यतिबेला नयाँ शक्तिकेन्द्रहरुको रुपमा अनेकअनेक शक्ति निर्माण भएका छन्, जसको अनुहार हेरे पनि उस्तै देखिन्छ । कसैले कसैलाई “गैँडा हत्यारा” भन्न सक्ने अवस्था छैन तर पक्का कुराचाहिँं यही हो, गैँडा हत्या गर्ने नेपाली नै हो । बन्दुक पड्काउने हात र रगत चुहाउँदै गैँडाको शरीरबाट खाग रेटेर छुट्याउने पनि नेपाली हात नै हो । तर थाहा छैन, त्यो निर्दोष गैँडाको शरीरबाट छुट्याइएको खाग पोको पारेर कसले काठमाडौँ पु¥याउँछ ? त्यो काठमाडौँबाट कसले छिमेकी मुलुकको सिमानासम्म पु¥याउँछ ? कसले कसलाई कति हरियो डलर दिन्छ ? त्यो हरियो डलरबाट कसले कति करोडको गाडी चढ्छ, ठूलो घर बनाउँछ र महँगो रक्सी पिउँछ ? यो चाहिँ हत्तपत्ती थाहा हुँदैन, आजसम्म भएको छैन ।
कुरा प्रस्ट छ– नेपाली जनताको सरकार औधी कमजोर छ, किनकि यसले पूरा राज्यसत्ता आफ्नो मुठ्ठीमा भएको बखतमा समेत एउटा गैँडा जोगाउन सकेन । तस्करहरुलाई पक्रिएर कानुनको कठघरामा ल्याउन सकेन । नेपाली जनतालाई गैँडा भविष्यका नेपालीहरुको पनि सम्पत्ति हो, जोगाउने काममा लागौँ भन्न सकेन । यति मामुली काम पनि गर्न सक्दैनन् भने नेपालको यतिबेलाको सरकार र अब नयाँ सरकार बनाउन तम्तयार दलहरुबाट के आशा गर्ने ? तर सरकार सक्षम होस् वा नहोस् आफ्नै ठाउँमा छ, देश नेपाली जनताको हो । गैँडा हाम्रै सम्पत्ति हो । अब अरुले होइन, निकुञ्ज वरिपरिकै जनताले गैँडा जोगाउनुपर्छ । यसका लागि शंकास्पद काम गर्ने व्यक्ति र संस्थाहरुमाथि निगरानी गरेर संरक्षणकर्मीलाई सहयोग गर्नुपर्छ, त्यसका लागि कुनै जटिल चुनौतीको सामना गर्न नै किन नपरोस् । गैँडाको निरन्तरको मृत्यु नेपाली छातीमा हरेक कोणबाट पर्ने बञ्चरोबाहेक अरु केही होइन । खासगरी, चितवनवासीलाई चेतना भया ।
Discussion about this post