१८ करोडको लगानीमा खानेपानीको काम तीव्र

अन‌ि यो पनि

रत्ननगर । सौराहामा खानेपानी आयोजना निर्माणको काम तीव्ररुपमा भइरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको बीचमा पनि खानेपानी आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । पहिलो चरणमा दसैँअगाडि नै पानी वितरण गर्ने उद्देश्यका साथ लकडाउन र निषेधाज्ञाको समयमा पनि आयोजनाको काम भइरहेको हो ।
समग्र आयोजनाको २५ प्रतिशतमात्रै काम सकिएको भए पनि पाइपलाइन विस्तार गरिएको केही क्षेत्रमा दसैँअगाडि नै पानी वितरण गर्ने तयारी भइरहेको सौराहा बछौली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । सो खानेपानी आयोजनाका लागि मैनाहामा साढे ४ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । डिप बोरिङमार्फत जमिनमुनिबाट पानी तानेर त्यो पानीलाई उच्च प्रविधिको प्रयोग गरी फिल्टर गरेर पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पानी पु¥याइने छ ।
रत्ननगर–६ अन्तर्गत पर्ने सौराहा, बछौली र वडा नं–७ अन्तर्गत पर्ने मालपुर, मैनाहा, सिसुवार, पडेरिया, बोद्रहनी, लौखनीका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी आयोजना निर्माण गरिएको सचिव घिमिरेले जानकारी दिए । ट्याङ्कीमा पानी भर्ने र पाइपलाइन विस्तार गर्ने काम भएकाले पहिलो चरणमा दसैँअगाडि नै सिसुवार, पडेरिया, शिवालय चोक, बछौली चौधरी बस्ती, बछौली माविपछाडिको सिर्जनशील टोलमा पानी वितरणको काम हुने उनले जानकारी दिए । वडा नं–६ र ७ मा एक हजार ९०० घरधुरीका लागि ७५ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजनाअनुरुप अहिलेसम्म १५ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव घिमिरेले बताए ।
नेपाल सरकारले १८ करोडको लगानीमा सो खानेपानी आयोजना निर्माण सुरू गरेको हो । तीन वर्षअघिदेखि निर्माण कार्य सुरू गरिएको सो खानेपानी आयोजना निर्माणको कामले पछिल्लो समयमा गति लिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनले खानेपानी आयोजना निर्माणको काम गरिरहेको छ । आयोजनाका इन्जिनियर प्रदीप रेग्मीले निर्माण भएको संरचनाको हिसाबले २५ प्रतिशत काम सकिएको भए पनि सीमित उपभोक्ताहरुलाई दसैँअगाडि पानी वितरण गर्ने योजना रहेको बताए ।
नेपाल सरकारको १२ करोड र उपभोक्ताको ६ करोडको लगानीमा खानेपानी आयोजना निर्माण गरिएको हो । पाइपलाइन विस्तारअन्तर्गत खन्ने र पुर्ने काममा उपभोक्ताको लगानी परेको छ । २५ प्रतिशत काम सकिँदा नेपाल सरकारको ४ करोड लगानी भइसकेको छ । आयोजनालाई आवश्यक पर्ने सबै पाइप कार्यक्षेत्रमा आइसकेको छ । उपभोक्तास्तरबाट लगानी जुटाउन समितिले उपभोक्ता सदस्यता वितरण गरिरहेको छ ।
खानेपानी आयोजनाको उपभोक्ता सदस्य बन्न ७ हजार १ सय लाग्ने र त्यसबापत समितिले उपभोक्तालाई मिटर उपलब्ध गराउने छ । सौराहा र बछौली क्षेत्रका स्थानीयवासीहरुले अहिलेसम्म चापाकल र मिनरल वाटर प्रयोग गर्दै आएका छन् । खानेपानी आयोजना सञ्चालन गरेर स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजना रहेको समितिका अध्यक्ष केदारप्रसाद चापागाईंले बताए । एक वर्षभित्र आयोजना निर्माणको काम सम्पन्न हुनेछ । २ हजार २०० घरधुरीलाई चौबिसै घन्टा पानी उपलब्ध गराउन सक्ने सो खानेपानी आयोजनाको क्षमता रहेको अध्यक्ष चापागाईले जानकारी दिए । खानेपानी आयोजनाबाट सामान्य आर्थिक हैसियत भएका स्थानीयदेखि सौराहाका पर्यटन व्यवसायीहरुले फाइदा लिन सक्ने देखिएको छ । मिनरल वाटरमा ठूलो रकम खर्च गर्दै आएका व्यवसायीहरुले न्यूनतम शुल्क तिरेर पानी उपभोग गर्न पाउने समितिका सचिव घिमिरेले बताए ।
वडा नं–६ र ७ का अधिकांश स्थानीयवासीले अझै पनि चापाकलको पानी प्रयोग गर्दै आएका छन् । चापाकलबाट आर्सेनिक मिसिएको पानी आउने हुनाले मानव स्वास्थ्यलाई त्यसले हानि गर्ने भएकाले खानेपानी आयोजना सञ्चालनपछि स्थानीयवासीहरुले स्वच्छ पानी उपभोग गर्न पाउने सचिव घिमिरेको भनाइ छ ।

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया