जो आइसोलेसनबाट भागेर साइकलमै नुवाकोट पुगे

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा २४ सै घन्टा प्रहरी खटिन्छन् । कोही व्यक्ति काठमाडौँतर्फ जान चाहन्छ भने ऊ भरतपुर अस्पतालबाट हिँड्दा ठाउँठाउँमा चेकजाँचमा पर्छ । चितवन जिल्लामा स्थायीरुपमै राखिएको नेपाल प्रहरीको चेकजाँच स्थल भनेको आँपटारी, रामनगर, जुगेडी, मुग्लिन र फिस्लिङ हो । धादिङ जिल्ला छिरेपछि पनि मझिमटार, बेनिघाट, गजुरी, गल्छीमा प्रहरीको स्थायी वा नियमित चेकजाँच स्थल छन् । आदमघाटमा त झन् सशस्त्र प्रहरीको कडा चेकजाँच हुन्छ । गल्छीबाट नुवाकोटतर्फ लागेपछि भने अस्थायी प्रहरी पोस्ट कल्फुटार छ । निषेधाज्ञाको समयमा यति धेरै प्रहरी र सशस्त्र प्रहरीको चेकजाँचलाई छक्काएर एक युवक साइकलमा कसरी नुवाकोट पुगे भन्ने विषय अचम्मको बनेको छ ! २८ घन्टाको दौरानमा उनले १ सय २ किमी सडक पार गरेका छन् । उनी भरतपुरदेखि साइकल चलाएर त्यहाँसम्म पुगेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
म धेरै डराएँ : संक्रमित
साइकल चढेर नुवाकोट घर गएका संक्रमित सुनिल परियारले भरतपुर अस्पताल बस्दा आफूलाई धेरै डर लागेको बताए । उनी भरतपुर अस्पतालको आइसोलेसनबाट ९ गते बिहान ६ बजे फरार भएका थिए । कोरोना रोगबारे नकारात्मक कुरा बढी सुनेकाले आफू जसरी भए पनि बरू घरै जान्छु भनेर हिँडेको नुवाकोट प्रहरी डिएसपी राजेश शर्माले बताए । थकाइ मारिरहेको अवस्थामा गाउँलेले देखेपछि खबर गरेकाले आफूहरु गई नियन्त्रणमा लिएको डिएसपी शर्माको भनाइ छ । घर, प्रहरी पोस्ट र थकाइ मारेको स्थान एउटै वडा भए पनि गाउँलेले नचिनेको मान्छे भनी प्रहरीमा खबर गरेपछि उनी पक्राउ परेका थिए । ‘गाउँलेले नदेखेको वा नभनेको भए उनी सीधै घर जाने रहेछन्’, उनले भने । बाटोमा थकाइ मार्दै, साइकल चलाउँदै आएको र भीडभाड वा अरुसँग नजिक भएर गफगाफ नगरेको भनी परियारले प्रहरीलाई बताएका छन् । नुवाकोट प्रहरीले उनको कन्ट्याक्ट ट्रेसिङ भएको जनाएको छ ।
त्रिशूली अस्पतालको आइसोलेसनमा
परियारलाई पक्राउ गरी अहिले त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नपा–५ घर भई भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा परियार काम गर्दै आएका थिए ।
भदौ ६ गते कोभिड–१९ संक्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो । उनी मंगलबार बिहान ६ बजे आइसोलेसनबाट फरार भएका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया