दिपेन्द्र अधिकारी
भरतपुर । दासढुङगामा निर्माण गर्न थालिएको गाडी गुड्ने पुल आगामी आर्थिक वर्षको मध्येसम्म सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ । निर्माणको आधाजसो काम सम्पन्न भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
कुल १३ करोड ९९ हजारको लागतमा निर्माण थालिएको हो । निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको छ । गत आर्थिक वर्षको फागुन महिनाबाट पुल निर्माण थालिएको हो ।
१७२ मिटर लामो पुलको निर्माण कार्य दु्रत गतिमा अघि बढेको सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर हरिकुमार पोखरेलले बताए । बहचर्चित यस पुल ठेकेदार कम्पनी राम्रो परेकाले समयमै सम्पन्न हुने भएको कार्यालय प्रमुख पोखरेलले बताए ।
१२ मिटर आरसीसी र ८० मिटर स्टिल राख्ने काम सम्पन्न भइसकेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शौरभ बज्राचार्यले बताए । ‘चालु आर्थिक वर्ष सकिएको तीन महिनामा निर्माण सक्ने गरी काम भइरहेको छ, ‘इन्जिनियर बज्राचार्यले भने, ‘आगामी दसैंसम्म काम सकिन्छ ।’
एमालेका पूर्वमहासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा परी मृत्यु भएको स्थानमा पुल निर्माण गरिएको हो । यस पुलको पूर्वभौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए ।
तनहुँ र चितवन जोड्ने गरी बनाउन लागिएको यो दोस्रो पुल हो । केही वर्ष अगाडि नै निर्माण गर्ने भनिए पनि देवघाट क्षेत्रबाट बनाउने वा दासढुङगाबाटै बनाउने भन्ने बारेमा चर्को मतभेद भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । यस पुलको निर्माणसँगै तनँहु र पश्चिमका अन्य जिल्लाको यातायात आवागमन बढ्ने आशा गरिएको छ ।
Discussion about this post