लकडाउनमा पुस्तकको वर्षा, दसैँलक्षित पुस्तक प्रकाशनमा

अन‌ि यो पनि

चितवनमा लेखनवृत्तिको विकास तीव्र बन्दै गएको छ । नेपाली साहित्यको ‘उर्वरभूमि’ भनेर पनि चिनिन्छ । साहित्य क्षेत्रको उर्वरभूमि बनाउन जिल्लावासीको जति भूमिका छ, कर्मथलो बनाउनेहरुको भूमिका पनि उत्तिकै मह¤वपूर्ण छ । चितवनबाटै साहित्य लेखनमा चर्चा कमाएका अमर न्यौपानेको ‘सेतो धरती’ र राधा पौडेलको ‘खलंगामा हमला’ले मदन पुरस्कार नै प्राप्त गरे । त्यसो त, चितवनबाट हरेक वर्ष गीत, गजल, कविता, उपन्यास, कथा, निबन्ध, संस्मरणलगायत सबै खालका साहित्यिक कृति प्रकाशन हुँदै आइरहेका छन् ।

साहित्य लेखनमा रूचि र ज्ञान भएका शिक्षक, प्राध्यापक, पत्रकार, व्यापारी, विद्यार्थी, कर्मचारी, चिकित्सकलगायतले पनि नेपाली साहित्यलाई जीवित राख्नमा ठूलो योगदान पु¥याउँदै आएका छन्, जसले गर्दा बर्सेनि पुस्तक प्रकाशनको क्रम पनि बढ्दै गएको छ ।

विगतका वर्षमा जस्तै यसवर्ष पनि चितवनका लेखकहरुले कोरोना कहरका बीचमा पनि दसैँलक्षित पुस्तक प्रकाशनमा ल्याउने तयारी गरिरहेका छन् । लकडाउनकै बीचमा केही पुस्तक प्रकाशित भइसकेका छन् भने केही प्रकाशनको तयारीमा छन् । यसवर्ष केही पुराना र केही नयाँ लेखकले विभिन्न विधामा पुस्तक प्रकाशन गरेका छन् । विद्यार्थी, शिक्षक, पत्रकारका रुपमा आबद्ध व्यक्तिहरु यसवर्ष लेखकका रुपमा उदाउँदैछन् ।

२०७६ चैत ११ गतेदेखि २०७७ जेठ ३२ सम्म सरकारले देशैभर ‘लकडाउन’ ग¥यो । त्यसपछि लकडाउन खुलेको घोषणा गरे पनि जोखिमयुक्त स्थानमा अझै पनि लकडाउन जारी छ, जसले गर्दा धेरैलाई फुर्सदिलो बनाइदियो । केहीले पहिले नै लेखेका पुस्तक अहिले प्रकाशन गरे पनि केहीले भने यही फुर्सदको समय सदुपयोग गर्दै पुस्तक लेख्ने प्रयास गरे । यसवर्ष चितवनका पत्रकार विनोदबाबु रिजाल र सूर्यप्रकाश कँडेल पनि पहिलोपटक लेखकको रुपमा पाठकमाझ प्रस्तुत भएका छन् । रिजालले ७७ दिन लामो दैनिकीलाई लकडाउन डायरीको रुपमा ‘एकान्तवास’ लेखेका छन् भने कँडेलले उपन्यास ‘मोसो’ लेखेका छन् ।

दैनिक समाचार संकलनमा हिँड्दाको अनुभव र सोही अवधिभर सिङ्गो देशमा भएका मुख्य–मुख्य घटनालाई कलममार्फत पुस्तकको रुप दिएका रिजाल चितवनबाट प्रकाशित कायाकैरन दैनिकका सम्पादक हुन् भने यही महिनाको अन्तिमसम्ममा प्रकाशन गर्ने तयारीमा रहेका कँडेल भने हाल नागरिक दैनिकमा चितवनबाट समाचार लेख्दै आएका छन् । उनले चितवनबाट प्रकाशित विभिन्न पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।

पुराना रेडियोकर्मी सरला गौतमको ‘डुमेरो’ उपन्यास साउन महिनादेखि बजारमा आएको छ । केही समय चितवनको पहिलो रेडियो सिनर्जी एफएमबाट साहित्यिक कार्यक्रम सञ्चालन गरेकी उनी हाल राजधानी बस्दै आएकी छन् । लक्ष्य प्राप्तिका लागि युवावस्थामा आइपर्ने घटनालाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यास डुमेरो अघिल्लो वर्षको अन्तिम ताका नै प्रकाशन भए पनि लकडाउनका कारण पाठकमाझ भने बल्ल आएको हो ।

‘केन्द्र र परिधि’ नामक निबन्धसंग्रहबाट पुराना निबन्धकार रामबाबु घिमिरे पुनः पाठकमाझ झुल्किएका छन् । रत्ननगरको सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्वक्याम्पसप्रमुखसमेत रहेका घिमिरे निबन्ध लेखनमा मुलुककै उत्कृष्ट मानिन्छन् । निबन्ध विधालाई नै प्रमुख विधा बनाउँदै आएका घिमिरेले लकडाउनका कारण आफ्नै घरबाट पुस्तक विमोचन गरिसकेका छन् । शिक्षण पेसामा आबद्ध रहेकी गायत्री अधिकारीले पनि लकडाउनकै कारण घरभित्रै बसेर पुस्तक विमोचन गरेकी छन् । पहिलो कृतिको रुपमा प्रकाशनमा आएको कथासंग्रह ‘निर्णय’लाई आफ्नै घरमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

नेपालगञ्ज घर भई चितवनलाई कर्मथलो बनाउँदै आएका मणि अर्यालले पनि लकडाउनकै बीचमा निबन्धसंग्रह ‘कुटी’ प्रकाशित गरेका छन् । निबन्धसँगै कविता विधामा पनि कलम चलाउँदै आएका अर्यालको कुटी परिस्थिति सहज नभएकोले सार्वजनिक गर्न बाँकी छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका पत्रकार सूर्यप्रकाश कँडेलको उपन्यास ‘मोसो’ पनि वातावरण सहज भएको भए प्रकाशित भइसक्थ्यो । तर, दसैँलक्षित गरी प्रकाशन गर्ने तयारीमा छन् उनी । पत्रकारिता क्षेत्रमा बटुलेको अनुभवलाई उपन्यासको रुप दिएका उनले भदौ अन्तिमसम्ममा विमोचन गर्ने योजना रहेको बताए । मोसो उनको पहिलो कृति हो ।
लकडाउनभन्दा केही समयअघिदेखि नै लेख्न थालेका प्राडा कृष्णप्रसाद पौडेलले पनि यही महिनाभित्र सार्वजनिक गर्ने गरी हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’ तयार गरेका छन् । काव्यिक चेत भएका उनको यो दोस्रो कृति हो । भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेका डा. पौडेलको यसअघि उनको एउटा कवितासंग्रह प्रकाशित भइसकेको छ ।

रामपुर क्याम्पसमा अध्ययनरत गैँडाकोटका उपेन्द्र भुसाल पनि यसवर्ष उपन्यास ‘सुहाना’ प्रकाशित गर्ने तयारीमा छन् । उमेरले भर्खरै २० पुगेका उनले आफ्नो पहिलो कृतिलाई भदौ अन्तिमसम्ममा प्रकाशन गर्ने तयारी रहेको बताए । पुस्तकको सबै काम सकिइसकेकोले बजार खुल्नासाथ सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताए ।
पर्यटन व्यवसायी सुमन घिमिरे पनि यसवर्ष दोस्रो कवितासंग्रह लिएर पाठकमाझ आउँदैछन् । ‘मेरो बैँसको क्यालेन्डर’पछि उनी ‘सुनको टप’ नामक कवितासंग्रह लिएर आउन लागेका हुन् । ‘मौनता’ उपन्याससमेत लेखिसकेका उनको कवितासंग्रह दोस्रो भए पनि कृति भने तेस्रो हो । दसैँलक्षित कवितासंग्रह सुनको टप भने नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित हुनेछ ।

चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल पनि यसवर्ष नयाँ कवितासंग्रह लिएर पाठकमाझ आउँदैछन् । ‘बिम्ब शिविर’, ‘आमा’, ‘हिउँको आरोहण’जस्ता कवितासंग्रह प्रकाशित गरिसकेका उनले यसपटक भने ‘तेल भिसा’ नामक कवितासंग्रह प्रकाशनमा ल्याउन लागेका हुन् । शिक्षण पेसामा आबद्ध उनको नयाँ कृति यही वर्षभित्र प्रकाशनमा आउनेछ ।

गीत तथा गजल विधामा कलम चलाउँदै आएका गैँडाकोटका निर्दोष जीवनले पनि बाल्यकालीन स्मृतिलाई संग्रहको रुपमा ल्याउँदैछन् । यसअघि ‘मैयाँ’ कथासंग्रह लेखेका उनको ‘नोस्टाल्जिया’ दसैँलक्षित पुस्तक हो। उनले गीत तथा गजल लेखनलाई पनि निरन्तरता दिइरहेका छन् । अर्घाखाँची स्थायी घर भएका आकाश पौडेलले पनि यसवर्ष आफूलाई आख्यानकारको रुपमा स्थापित गराउने प्रयास गरेका छन् । पहिलो उपन्यास ‘तपस्या’मार्फत आफूलाई लेखकको रुपमा उभ्याउने प्रयास गरेका हुन् ।

यसवर्ष लेखकका रुपमा उदाएका र पुराना दुवै खालका लेखकले आफ्नो पुस्तकलाई दसैँलक्षित बनाएका छन् । विगतलाई कोट्याउँदा दसैँको समयमा लामो बिदा हुने भएकोले पनि पाठकले समय सदुपयोगका लागि पुस्तक खोज्ने गरेका कारण पनि यसवर्ष दसैँलक्षित कृतिको वर्षा लागेको हो । गत वर्षको अन्तिमसम्ममा प्रकाशनमा आउने तयारीमा रहेका पुस्तक र लकडाउनले लेखनमा सक्रिय गराएका कारण यसवर्ष धेरैको पुस्तक प्रकाशन हुने देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया