संक्रमित नर्स भन्छन्, ‘कोरोनालाई परास्त गरेर कर्ममा फर्कन्छौँ’

अन‌ि यो पनि

भरतपुर । ‘म एक नर्स हुनाले आफ्नो पेसामा गर्व गर्छु’, चितवनकी कोरोना संक्रमित नर्स सिम्रन तिवारीले फेसबुकमा स्टाटस लेखिन् । उनले जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकूँ र गर्छु भनेर नर्सिङ पेसा अँगालेको हुनाले कोरोना संक्रमित हुँदैमा नआत्तेको समेत बताएकी छन् ।
उनले स्टाटसमा भनेकी छन्, ‘मेरो सामान्य अवस्था रहेको छ, आत्मबल दह्रो बनाएर कोरोनासँग लडिरहेको छु, कोरोनालाई परास्त गरेर आफ्नो कर्ममा फर्कन्छु भन्ने मलाई विश्वास छ ।’
उनले स्टाटसमार्फत थप भनेकी छन्, ‘आफ्ना व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तररुपमा बिरामीको सेवामा लागिरहेको पनि केही वर्ष भइसकेको छ, काम गर्दैगर्दा यो अवस्था आउँछ भन्ने सोचेकी थिइनँ । म कोरोनालाई जितेर फेरि बिरामीको सेवामा खटिन आतुर छु ।’
उनले स्टाटसमा भनेकी छन्, ‘संक्रमित भएपछि आफूलाई सम्हालेँ । मैले आज कमजोर महसुस गरेँ भने मेरो परिवारलाई चिन्ता हुन्छ, समाजलाई चिन्ता पर्छ । मनोबल दह्रो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्मविश्वास लिएको छु, म हारेको छैन ।’
उनले थप भनेकी छन्, ‘बाबामामु नआत्तिनू, हजुरको छोरी झन् मनोबल दह्रोे बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे ।’
अर्की चितवनकी संक्रमित नर्स निर्जना राजभण्डारीले पनि आफ्नो अवस्था सामान्य रहेको र संक्रमणबाट मुक्त हुनासाथ कर्ममा फर्कने बताएकी छन् । उनले पनि आफू कोरोनालाई परास्त गरेर पुनः बिरामीको सेवामा खटिन आतुर रहेको बताइन् । उनले भनिन्, ‘मलाई कसैले अपहेलना गरेको छैन, सबैबाट सहयोग पाएकी छु ।’ उनले आफ्नो रिपोर्ट नेगेटिभ आएपछि बिरामीको सेवामा जुट्ने बताइन् । उनले भनिन्, ‘म आत्तिएको छैन, साहस बटुलेको छु, जसरी पनि कोरोनालाई जित्छु भन्ने आत्मबल लिएको छु ।’
उनले आफ्नो अवस्था सामान्य रहेको बताइन् । उनले भनिन्, ‘सामान्य रूघाखोकी लागेको छ, कुनै जटिल समस्या छैन ।’ उनका अनुसार आफन्त, छरछिमेक, साथीहरु सबैबाट सहयोग मिलेको छ ।
अर्की संक्रमित नर्स रञ्जिता थापाले पनि आत्मबलकै कारण कोरोनालाई जित्ने बताइन् । उनले भनिन्, ‘म संक्रमित भएको नौ दिन भयो, मेरो अवस्था सामान्य छ, मैले कोरोनालाई परास्त गर्ने गरी आत्मबललाई बढाएकी छु ।’ सबैबाट सहयोग मिलिरहेको उनी बताउँछिन् ।
चितवनमा ३२ नर्स संक्रमित
चितवन जिल्लामा हालसम्म ३२ नर्सहरु संक्रमित रहेका छन् । नर्सिङ संघका केन्द्रीय सदस्य रमेश सुब्बाका अनुसार भरतपुरका विभिन्न अस्पतालका ३२ जना नर्स संक्रमित रहेका छन् । उनले भने, ‘सबै नर्सहरुको अवस्था सामान्य छ, ५ जनालाई सामान्य लक्षण देखिएको छ ।’
नर्सिङ संघका अनुसार संक्रमितहरु कोही अस्पतालको आइसोलेसनमा रहेका छन् भने कोही होम आइसोलेसनमा रहेका छन् । संघका केन्द्रीय सदस्य सुब्बाले भने, ‘सबै संक्रमित नर्सहरुले कोरोनालाई परास्त गर्ने आत्मबलको विकास गरेका छन् ।’
नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले सबै संक्रमित नर्सहरुमा सेवा गर्ने भावना बढेको बताइन् । उनले भनिन्, ‘निको भएर सबैजना आफ्नो कर्ममा फर्कन तयार छन् ।’

 

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया