मधुसूदन दवाडी
वैशाख महिनाको चर्काे गर्मीसँगै नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा चलिरहेको छ । सम्मेलनसँगै पार्टीको सैद्धान्तिक तथा सांगठनिक बहस पनि चलिरहेको छ । पटकपटक पार्टीभित्र मौलाएको गुटगत प्रवृत्तिको अन्त्य गर्ने भनिए पनि कहिल्यै अन्त्य हुन नसक्ने गरेर एमाओवादी गुटको मोर्चाजस्तो बन्न पुगेको छ । फरकफरक गुटको नेतृत्व क्रमशः पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । २०६९ माघ २० देखि २६ सम्म हेटौँडामा भएको पार्टीको सातौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टी एकताबद्ध भने कहिल्यै हुन सकेन । हेटौँडा महाधिवेशनमा समग्र कार्यकर्ताहरुले व्यक्त गरेको पार्टीको विघटनको चिन्ताका कारण अन्ततः पार्टीको एउटा समूह विघटित भएर गयो । हेटौँडा महाधिवेशनपछि वैद्य समूह अलग भए पनि फेरि पार्टीमा अन्य गुटहरु त्यत्तिकै सक्रिय छन् । अहिले चलिरहेको राष्ट्रिय सम्मेलनमा पनि फेरि पार्टी विघटन हुने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।
भट्टराई र प्रचण्डको बीचमा फेरि पनि वाकयुद्ध चलिरहेको छ । पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेजबारेमा वरिष्ठ नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले व्यापक आलोचना गरेका थिए । भट्टराईले पार्टीले आगामी दिनमा लिनुपर्ने कार्यनीति तथा नेतृत्व परिवर्तनको मुद्दाका बारेमा प्रश्न उठाएका छन् भने नारायणकाजी श्रेष्ठले पनि पार्टीले भारतलाई हेर्ने दृष्टिकोणबारे प्रश्न उठाइरहेका छन् । नेतृत्व चयन पक्रियाको विषयमा पार्टीभित्र व्यापक विवाद देखिएर समयमा बन्द सत्र सुरू हुन सकेको छैन । वरिष्ठ नेताहरुको गुटगत राजनीतिका साथमा पार्टीका युवानेताहरु र पुरानो पुस्ताको बीचमा विचारको खाडल पनि प्रस्ट देखिएको छ । अहिले नेतृत्व तहमा युवापुस्ताको सहभागिता हुनुपर्ने विषयलाई चर्काे रुपमा उठाइएको
छ । उनीहरु नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने तर्क गरिरहेका छन् भने पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरु भने कम्युनिस्ट पार्टीको पुरानो संस्कार तथा प्रवृत्तिलाई नै निरन्तरता दिन खोजेका देखिन्छन् । सधैँ देखिने एकै प्रकारको विवादले गर्दा पार्टीलाई झनै कमजोर र अलमलमा पार्दै लगेको देखिन्छ ।
विगतको राष्ट्रिय सम्मेलनहरुमा जस्तो एमाओवादी नेता तथा कार्यकर्ताहरुमा यसपटक खासै उत्साह देखिँदैन । पार्टी विभाजनको पीडा सेलाउन नपाउँदै दोस्रो संविधानसभाको निर्वाचनमा भोगेको पराजयले गर्दा पार्टीभित्र पलायनवादी मनोवृत्ति मौलाउँदै गएको देखिन्छ । हिजो एमालेलगायतका अन्य वाम घटकबाट एमाओवादीमा प्रवेश गरेका नेताहरु पनि कयौँ घर फर्किसकेका छन् भने कयौँ फर्कने सोच बनाउँदै छन् । पार्टीलाई समयअनुसार सुधार गर्दे लैजानेबारे पार्टीमा गम्भीर प्रकारका आत्मसमीक्षाहरु हुन सकेको देखिँदैन । राष्ट्रिय सम्मेलनमा पनि त्यस प्रकारको आत्मसमीक्षा हुन जरूरी थियो, तर त्यसो नभई गुटगत राजनीतिको अन्यौल र चर्काचर्कीमा पार्टी फसेको देखिन्छ । यसले गर्दा जम्मा ५६ जिल्लामा मात्र जिल्ला भेला सम्पन्न भयो, बाँकी जिल्लामा विवादको कारणले जिल्ला भेला हुन सकेन । विगतमा काठमाडौँको भृकुटीमण्डपमा भएका भेलामा कुर्ची–कुर्ची हानाहान गरेर रेस्लिङ खेलको प्रतिस्पर्धाजस्तो भएको थियो । अहिले केन्द्रमा देखिने विवाद बिस्तारै जिल्ला–जिल्लामा पनि छताछुल्ल भएको छ, जसको प्रतिबिम्ब अहिले विराटनगरको राष्ट्रिय सम्मेलनमा पनि देखिएको छ ।
पार्टीका कार्यकर्ताहरु र नेताहरुमा देखिएका गम्भीर निराशाहरुको कारणले गर्दा पनि अहिले पार्टीमा विवादहरु देखिएका छन् । देशभरका सर्वसाधारणका छोराछोरी जुन मह¤वाकांक्षा बोकेर एक दशकसम्म माओवादी विद्रोहमा होमिएका थिए, त्यस्ता सपना एउटा पनि पूरा हुन सकेन । उल्टै, एमाओवादी पुरानै संसदीय दलदलमा फस्न पुग्यो । संविधानसभा र सरकारमा कतै पनि पार्टीले प्रभावकारी भूमिका खेल्न सकेन । उल्टै, सत्तामा पुगेपछि एमाओवादीमा शक्ति, पैसा र कुर्सीको घमण्ड देखियो । यसकै कारण पार्टीमा नेता मोटाउने र जनता दुब्लाउन गए । विद्रोहकालमा १७ हजार निर्दाेष नागरिकको बलिदानीबाट एमाओवादी नेतृत्वले खासै पाठ सिक्न सकेको देखिएन । उल्टै, ज्यान हत्केलामा राखेर लडेका लडाकुहरुलाई शिविरमा समेटी पार्टी नेतृत्वले भ्रष्टाचार ग¥यो । नेता तथा कार्यकर्ताहरुको व्यापक दबाबपछि पार्टीले शिविरमा भएको भ्रष्टाचारबारे छानबिन समिति त बनायो, तर अहिलेसम्म पार्टीले समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास गरेको छैन । सार्वजनिक नगर्नुको मुख्य उद्देश्य दोषी शीर्ष नेतृत्वलाई जोगाउनकै लागि हो । सरकारमा छँदा वा पार्टीभित्र गल्ती गर्नेहरुलाई जोगाउँदै जाने प्रवृत्तिले गर्दा पनि एमाओवादी पार्टी सुध्रिने संकेत देखिँदैन । क्रान्तिकारी पार्टी निर्माण गर्ने नेतृत्वको विचार फुस्रो नारामा मात्र सीमित भएको देखिन्छ । दुई दशकभन्दा बढी समयदेखि एकै व्यक्तिको नेतृत्वमा पार्टी चल्नु भनेको अधिनायकवादी राजनीतिक दलको चरित्रभन्दा बढी केही हुन सक्दैन । युद्धकालीन सांगठनिक संरचना र पार्टी सञ्चालन प्रक्रियाका कारण अहिलेको लोकतान्त्रिक व्यवस्थामा खासै ठूलो आशा राख्न सकिँदैन । नयाँ नेपालको निर्माण गर्ने सपना देख्ने एमाओवादी पार्टीभित्रका अस्पष्टता, भ्रम र गलत सोचमा भने परिवर्तन आउन सकेन ।
विगतदेखि आजसम्म पार्टीको रणनीति र कार्यनीति दुवै कमजोर देखिए । विद्रोहकालदेखि आजसम्म पार्टी सधैँ अन्यौलमा पर्ने गरेको छ । कुनैबेला शान्तिपूर्ण अवतरण गर्ने वा हिंसात्मक विद्रोहलाई नै निरन्तरता दिने भन्ने अन्यौलमा एमाओवादी थियो । द्विविधामा नै रहेर एमाओवादी शान्तिको मार्गमा अवतरित भयो, तर उसको चरित्रमा भने सधैँ विद्रोह तथा मुढेबलको ह्याङओभरले छाड्न सकेन । विद्रोह, क्रान्ति, संघर्षको भाषण नगरे कम्युनिस्ट पार्टीको अस्तित्व नै नरहने डर एकातिर रह्यो भने अर्काेतिर पूर्ण शान्तिको बाटोमा लाग्दा विगतको विद्रोहको इतिहास नै मेटिने डरले एमाओवादीलाई सताइरह्यो, जसले गर्दा उसको विचार र सिद्धान्तमा सधैँ अस्थिरता देखियो । पार्टी डा. बाबुराम भट्टराईकै मार्गदर्शनबमोजिम शान्तिपूर्ण लोकतान्त्रिक बाटोमा रुपान्तरित त भयो, तर भट्टराई दलमा सधैँ कमजोर रहने अर्काे दुर्भाग्य रह्यो । दलभित्र देखिएका गुट तथा उपगुटको चित्त बुझाउन २ सय ६८ जनाको जम्बो केन्द्रीय कमिटी बनाइयो, तर पार्टीको भूमिकामा भने खासै प्रभावकारी रुपान्तरण आउन सकेन, शक्ति र पदका लागि मात्र केन्द्रीय सदस्य बन्ने परम्परा देखियो । यत्रो ठूलो संगठनात्मक संरचना बन्दा पनि पार्टीले दोस्रो संविधानसभामा खासै राम्रो नतिजा हासिल गर्न सकेन, जसको मुख्य कारण पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सैद्धान्तिक ढंगबाट राम्रोसँग प्रशिक्षित गर्न नसक्नु नै हो । पार्टीमा देखिएका कमीकमजोरी तथा गलत प्रवृत्तिको जिम्मेवारी नेतृत्वले खुला रुपमा लिन चाहेको देखिँदैन । नेतृत्वले जिम्मेवारी लिएका विषयहरुमा पनि खासै ठूलो गुणात्मक परिवर्तन आउन सकेको देखिँदैन । अहिलेको मुख्य मुद्दा भनेको एमाओवादी पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्नु नै हो । अहिलेको युवापुस्ताले त्यही माग गरिरहेका छन्, जसलाई नेतृत्वले पूरा गर्न हिच्किचाइरहेको छ ।
जबसम्म आमकार्यकर्ताहरुले मतदानको प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गर्न पाउँदैनन्, तबसम्म पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो बन्न सक्दैन । हिजोदेखि आजसम्मको एमाओवादीको आमप्रवृत्तिलाई अध्ययन गर्दा अन्य दलका कमीकमजोरीमाथि व्यङ्ग्य गर्न सिपालु एमाओवादी नेतृत्व आफू सुध्रिनेतर्फ भने खासै पहल हुन सकेको देखिँदैन । चाहे राष्ट्रिय सम्मेलन होस् वा अन्य जुनकुनै भेला, पार्टीभित्रको अन्तरद्वन्द्व छताछुल्ल हुन्छ, जसलाई सामान्य टालटुल गरेर मात्र पार्टी चलाउने गरिएको छ । पार्टीका बारेमा उठेका टिप्पणीहरुलाई प्राथमिकतामा राखेर पार्टीका गल्ती, कमजोरी तथा सैद्धान्तिक विचलनका बारेमा गम्भीर आत्मालोचना नगरेसम्म एमाओवादीले गुमेको प्रतिष्ठा फेरि प्राप्त गर्ने सम्भावना नै देखिँदैन । अहिले प्रचण्डले अन्य कम्युनिस्ट पार्टीहरुसँग एकताको कुरा गरे पनि आफ्नै पार्टी नेतृत्वलाई तथा संगठनलाई मजबुत नबनाएसम्म अन्य दलहरुसँगको एकता सम्भव हुन सक्दैन ।
पार्टीभित्र बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको त चित्त बुझाउन नसक्ने पार्टी अध्यक्ष प्रचण्डले अन्य कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्न सक्लान् भन्ने त कल्पनासम्म गर्न सकिँदैन । यो उनको लोकप्रियता कमाउन फैलाइएको प्रपोगान्डाभन्दा बढी केही हुन सक्दैन । अहिलेको लोकतान्त्रिक पद्धतिमा तेस्रो ठूलो दल आफैँमा अस्थिर र अन्योलग्रस्त बन्दै जानु भनेको नेपालको राजनीतिक प्रणाली नै कमजोर बन्नु हो । पार्टीमा देखिने गुटका विवाद र अन्यौल लोकतान्त्रिक पद्धतिमा सामान्य मानिए पनि सधैँ देखिने यस प्रकारका विवादहरुलाई भने सकारात्मक रुपमा लिन सकिँदैन । यो एक प्रकारको क्यान्सर नै हो, जसले पार्टीको प्रतिरोधक क्षमतालाई झनै कमजोर बनाइरहेको छ ।
¨¨
Discussion about this post