आफन्त र साथीभाइबाटै कोरोनाको भय !

अन‌ि यो पनि

भरतपुर । चितवनका सबै पालिकाहरुमा निषेधाज्ञा जारी रहेको छ । भरतपुर महानगरमा निषेधाज्ञा लगाएको पनि १० दिन पुगेको छ । यस अवधिमा चितवनमा कोरोनाबाट संक्रमित हुनेको संख्या घट्नुको साटो झन् बढिरहेको छ ।
चितवनमा ३६८ जना कोरोना संक्रमित पुगेका छन् । निषेधाज्ञाको अवधिमा पनि कोरोना संक्रमित बढिरहेका छन् । स्वास्थ्य कार्यालय चितवनले पछिल्लो समय कोरोना संक्रमण एकअर्कामा नजिक भएका संक्रमितका आफन्त, चिनेजानेका छिमेकी र साथीभाइहरुमा देखिएको बताएको छ ।
‘कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमितका आफन्तहरु, छरछिमेकी, चिनेका साथीभाइ परिरहेका छन्’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘नजिकका आफन्तसँग सचेत नहुँदा कोरोना एकअर्कामा सरिरहेको छ, पहिला २० वटा कन्ट्याक्ट ट्रेसिङ गर्दा एक–दुई जनामा मात्र देखिन्थ्यो, तर अहिले कन्ट्याक्ट ट्रेसिङ गर्दा आधाको हाराहारीमा संक्रमित भेटिएका छन् ।’
उनका अनुसार आफन्त, चिनेजानेका, साथीभाइ र छरछिमेकीलाई कोरोना छैन भन्ने भ्रम पाल्दा यस्तो स्थिति आएको हो । नजिकका मान्छेसँग सचेत नहुँदा पनि कोरोना देखिएको छ । उनले भने, ‘यो मेरो आफन्त हो, यसलाई कोरोना छैन भन्दै हामीले ऊसँग भौतिक दूरी कायम गरेनौँ, यसको परिणामले आज कोरोना संक्रमित बढिरहेको छ ।’ उनका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा जति संक्रमित बढेका छन् ती आफन्त, चिनेजानेका र छरछिमेकी नै छन् ।
भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले नजिकका मान्छेसँग नजिकिँदा पनि नगरवासीले सतर्कता अपनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘घरमा आफन्त आएमा, छिमेकी आएमा वा साथीभाइ आएमा पनि भौतिक दूरी कायम राख्नुपर्छ, त्यसो नगर्दा संक्रमण बढ्ने खतरा हुन्छ । पछिल्लो समय भरतपुर महानगरमा पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा छिमेकी र साथीभाइ नै परिरहेका हुनाले यसतर्फ सतर्कता कम भएको देखियो ।’
उनका अनुसार कसैको निधारमा संक्रमण छ कि छैन भन्ने कुरा लेखिएको हुँदैन, सबैसँग दूरी कायम गर्नुप¥यो । मास्कको प्रयोग गरेरमात्रै बोलचाल गर्नुप¥यो । कुनै समय पनि मास्क मुखबाट निकाल्न भएन । निषेधाज्ञाको समयमा आफन्त र छरछिमेकीमा कोराना फैलिएको उनी बताउँछन् ।
निषेधाज्ञामात्रै समाधान होइन
यतिबेला चितवनमा निषेधाज्ञा रहेको छ । कोरोना संक्रमण बढ्न थालेपछि यहाँ विगत दस दिनदेखि निषेधाज्ञा कायम छ, तर संक्रमण दर घट्नुको साटो झन् बढिरहेको छ । ‘निषेधाज्ञामात्रै समस्याको समाधान होइन, समाधान त भौतिक दूरी कायम राख्नु हो, मास्कको अनिवार्य प्रयोग गर्नु हो’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘निषेधाज्ञाले फैलिन रोकेको र यसको प्रभाव बलियो परेको पाइयो ।’ उनका अनुसार निषेधाज्ञा नभएको भए भयावह अवस्था आउने थियो ।
‘निषेधाज्ञा नभए संक्रमणको दर दुईबाट आठ, आठबाट ३२ पुग्थ्यो, अहिले त्यो अवस्था छैन, केही बढेको त छ, तर त्यो भनेका आफन्त, साथीभाइबाटै सल्किएको हो’, प्रमुख तिवारीले भने, ‘त्यसकारण आफन्त र चिनेजानेको मान्छेबाट पनि सचेत बनौँ ।’

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया