बसन्त पराजुली
जोगीमारा । पृथ्वी राजमार्गलाई जोड्ने गरी हेटांैडा सिमेन्टको चुनढुङ्गा ल्याउन बनाइएको सडकबाट आएको पहिरोले सोमबार दिनभरि नै राजमार्ग ठप्पजस्तै भयो । ग्रामीण सडकबाट आएको पहिरो राजगमार्गमा झण्डै दुई मिटर अग्लो गरी थुप्रिएको थियो ।
यसरी पृथ्वीराजमार्गको फिस्लिङदेखि जोगीमारासम्म करिब पाँच किलो मिटरको फरकमा ५ वटा पहिरो खसेपछि राजमार्ग दिनभरि प्रभावित बनेको हो । यी अधिकांश पहिरो पृथ्वी राजमार्गलाई जोडेर बनाइएका ग्रामीण सडकबाटै पहिरो झरेर राजमार्गमा थुप्रिएको पाइन्छ ।
‘राजमार्गलाई जोडेर बनाइएका ग्रामीण सडकहरु अहिले पहिरोको प्रमुख कारण बनेका छन्’, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरि पोख्रलले भने, ‘अवैज्ञानिक तरिकाले जथाभावी ग्रामीण सडकलाई मुख्य राजमार्गमा जोड्दा अहिले ती सडक पहिरोको प्रमुख कारण बनेका छन् । ग्रामीण सडक खोल्नु नै गलत भयो ।’
जोगीमारामा गएको पहिरोसँगै राजमार्गमा सोमबार जवाङ खोलानजिकै जोगीमारा गाविसले बनाएको सडकबाट पहिरो खसेको हो । फिस्लिङदेखि मौवा खोलातर्फको एक किलो मिटरकै फरकमा तीनवटा पहिरो थियो । यो पहिरो भने राजमार्गभन्दा माथिल्लो भूभागमा खोरिया फाँडेर डढेलो लगाएका कारण भएको प्राविधिकहरुले बताएका छन् ।
पहिरोका कारण बिहान साढे पाँच बजेदेखि ११ बजेसम्म राजमार्ग पूर्णरुपमा बन्द थियो । डिभिजन सडक कार्यालय भरतपुरबाट आएका दुईवटा जिसिभि मेसिन र एउटा लोडरले दिउँसो ११ बजे एकातर्फी सडक खोले पनि पहिरो पूर्ण रुपमा पन्छाएर राजमार्गलाई दोहोरो खुला भने दिउँसो चार बजेमात्रै भएको थियो ।
राजमार्ग पहिरोले अवरूद्ध भएपछि राजमार्गमा कुरिनटारदेखि मलेखुसम्मको करिव २५ किलो मिटरसम्म सडकमा हजारांै सवारी साधन अलपत्रमा परेका थिए । पृथ्वीराजमार्गमा सोमबार दिनभरि नै सडक खुलेपछि ट्राफिक जामले यात्रा प्रभावित भएको थियो । राति अबेरबाट राजमार्गको सवारी यातायात सहज भएको थियो ।
‘अहिले बेमौसममा पहिरो झरेको छ । यसले त अब वर्षादमा यो राजमार्गको के हालत हुने भन्ने चित्र देखाएको छ’, एक प्राविधिकले भने, ‘राजमार्गमा पहिरो झर्ने ठाउँहरु रोक्न सकिएन भने यो राजमार्र्गको भविश्य खतरामा छ ।’ राजमार्गसँगै जोडेर बनाइएका ग्रामीण सडकहरु पृथ्वी राजमार्गका पहिरोका प्रमुख कारण हुँदै छन् ।
मुग्लिनदेखि नौबीसेसम्मको ८८ किलो मिटर यो राजमार्ग खण्डसँग जोडेर ५८ वटा ग्रामीण सडक निर्माण गरिएका छन् । यसरी बनाइएका सडकहरु जिल्ला विकास समिति धादिङ, जिल्ला विकास समिति चितवन र स्थानीय गाविसहरुको लगानीमा बनेका हुन् ।
‘राजमार्गभन्दा माथि रहेका भीर तथा पहाडलाई जथाभावी डोजर लगाएर फालिएका छन्’ प्रमुख पोख्रेलले चितवन पोष्टसँग भने, ‘राजमार्गसँग जोड्ने साना सडकहरु खोल्नु नै पर्ने आवश्यकता हो भने वैज्ञानिक ढङ्गले वातवरणीय प्रभाव मूल्याङ्कन गरेर खोलिनुपर्छ ।’
पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई नेपालका अन्य भूभागबाट जोड्ने प्रमुख सडक मार्ग हो । यो राजमार्ग एक दिनमात्रै बन्द हुँदा पनि देशले अर्बाै घाटा व्यहोर्नुपर्छ भने हजारांै सवारी साधन र तिनमा यात्रा गर्ने यात्रुहरु अलपत्रमा पर्छन् । यो सडकको महत्वलाई ध्यानमा दिएर पनि यसको संरक्षण गर्नुपर्ने दायित्व आमनागरिकमा छ । डिभिजन प्रमुख पोख्रेल भन्छन्, ‘राजमार्गलाई असर हुने कृयाकलाप सवैबाट रोकिनुपर्छ ।’
Discussion about this post