काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ७ विकेटले पराजित गर्दै विजयी भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा नेपालले २३ बल बाँकी छँदै हङकङलाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ३८ ओभरको खेलमा सबै विकेट गुमाउँदै १४३ रन बनाएको थियो भने जवाफमा नेपालले ३४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १४७ रन बनायो ।
पहिलो ब्याटिङमा उत्रेको हङकङले ५० ओभरको खेलमा ४१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १८२ रनको चुनौती प्रस्तुत गरेको थियो । जसमा नेपालले २७ दशमलव ४ ओभरको खेल सकिँदासम्म ३ विकेटको क्षतिसँगै १२१ रन जोडेको थियो ।
नेपालको ब्याटिङको क्रममा २७ दशमलव ४ ओभरको खेलपछि लगातार वर्षा भएपछि निर्धारित ५० ओभरको खेललाई डकवर्थ लेबिसका आधारमा ३८ ओभरमा झारिएको थियो ।
यस जितसँगै नेपाल आगामी डिसेम्बरमा संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एसिसी च्यापियनसीपका लागि छनोटसमेत भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट चारभित्र पर्ने टोलीले एसिसी च्यापियनसीपका लागि छनोट हुन पाउनेछन् ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ६ चौकाको सहयोगमा ४३ रन जोडेका हुन् । यस्तै, नरेश बुढाऐरले पनि ६ चौकाको मद्दतमा ४१ रन बनाए ।
यस्तै शरद भेषवाकरले १९, सुवास खकुरेलले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । शरदले ३, सुवासले २ तथा ज्ञानेन्द्र मल्लले ३ चौका प्रहार गरेका थिए । यसैगरी बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए भने वसन्त रेग्मीले ३ तथा आरिफ शेखले २ विकेट लिए।
हङकङका लागि इरफान अहमलद एक्लैले सर्वाधिक १०६ रनको योगदान दिएका थिए भने रोय लामसामले १८ रन जोडे । यस जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।
सोमबारकै अर्को खेलमा अफगानिस्तानले ओमनलाई ५ विकेटले पराजित गरेको छ भने युएइले मलेसियालाई ६ विकेटले हरायो । चार खेल खेलको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । रासस
Discussion about this post