सौराहाका चार हजार कामदार बेरोजगार

अन‌ि यो पनि

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेस्टुरेन्टहरुमा काम गर्ने करिब ४ हजार कामदारको रोजगारी गुमेको छ । कोरोना भाइरसको महामारीका कारण होटल तथा रेस्टुरेन्ट बन्द भएपछि होटलमा काम गर्ने ३ हजार ५०० र रेस्टुरेन्टमा काम गर्ने करिब ८ सय कामदार बेरोजगार बनेका हुन् ।
सौराहाका व्यवसायीहरुले गत चैत महिनामा होटल तथा रेस्टुरेन्ट बन्द गरेर कर्मचारीलाई घर बिदामा पठाएका थिए । ५ महिना बितिसक्दा पनि होटल नखुलेपछि घर बिदामा रहेका कर्मचारीहरुलाई जीविकोपार्जनमा समेत समस्या भएको छ । सौराहामा ५० प्रतिशत कामदार स्थानीय, ३० प्रतिशत कामदार जिल्लाबाहिर र २० प्रतिशत कामदार जिल्लाभित्रका छन् । क्षेत्रीय होटल संघ चितवनले अझै पनि १० प्रतिशत कर्मचारी होटलमै केही न केही काम गरिरहेको बताएको छ ।
सौराहाको होटलमा काम गर्ने शंखुवासभाका शेरबहादुर राईको होटल बन्द भएपछि रोजगारी गुमेको छ । परिवारसहित सौराहामै कोठा भाडामा लिएर बसेका राई लकडाउनका कारण घर जान पनि सकेका छैनन् । तीन वर्षदेखि यहाँ कार्यरत उनलाई आम्दानीको स्रोत नभएका कारण जीवनयापनमा समस्या भएको छ । तीन वर्ष दुःख गरेर कमाएको पैसा ६ महिना बसेर खाँदा सकिएको उनले बताए । ‘६ महिनामा तीन लाख रूपैयाँ सकियो’, उनले भने, ‘अहिले साथमा एक रूपैयाँ छैन ।’
कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण स्थानीयस्तरमा समेत काम पाइने अवस्था छैन । स्थानीय सरकारले ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुलाई अहिले राहतसमेत दिएको छैन । ‘सुरूमा एकपटक राहत दिएका थिए’, राईले भने, ‘अहिले काम पनि पाइँदैन, राहत पनि पाइँदैन ।’ राईजस्ता सौराहामा काम गर्ने अधिकांश कामदारको अहिले बिचल्ली भएको छ ।
घर बिदामा रहेका स्थानीय र जिल्लाभित्रका कामदार व्यवसायीहरुको नियमित सम्पर्कमा रहेका क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । व्यवसायीहरुले घर बिदामा रहेका आफ्ना कामदारहरु के गरिरहेका छन् भन्ने कुराको निगरानी गरिरहेको घिमिरेले बताए । ‘घर बिदामा रहनुभएका अधिकांश कामदारहरु वैकल्पिक काममा लाग्नुभएको छ, अधिकांशले खेतीपाती र पशुपालन सुरू गर्नुभएको छ’, घिमिरेले भने, ‘उहाँहरु होटल खुलेपछि काममा फर्किने सम्भावना पनि उत्तिकै छ ।’
सौराहाका होटल तथा रेस्टुरेन्ट बन्द भएको ५ महिना भइसकेको छ । कोरोनाको महामारीको अवस्था हेर्दा यो तत्काल समाधान होलाजस्तै देखिँदैन । अबको एक वर्षभित्र कोरोना नियन्त्रणमा आएपछि पर्यटन क्षेत्रमा त्यसको असर अर्को थप एक वर्षसम्म पर्ने देखिएको छ ।
सरकारले गत साउन १५ गतेबाट पर्यटकीय होटलहरु खुल्ला गरेको थियो । कोरोनाको कहरका कारण खुलेको दुई साता नबित्दै सौराहासहित प्रमुख पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेस्टुरेन्टहरु बन्द भएका छन् । दुई साता होटल खुल्दा सौराहामा पर्यटक आएनन् । ‘विदेशी पर्यटक आउने वातावरण छैन’, संघका अध्यक्ष दीपक भट्टराईले भने, ‘कोरोना महामारीको डरले आन्तरिक पर्यटक पनि सौराहा आएनन् ।’ सौराहाका व्यवसायीहरु लकडाउन र निषेधाज्ञा खुलेपछि तत्काल होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने योजनामा छैनन् । ‘अब हामी तत्कालै होटल खोल्दैनौँ’, अध्यक्ष भट्टराईले भने, ‘महामारीको अवस्था सामान्य नभई होटल खोल्नुको औचित्य पनि छैन ।’
कोरोना महामारीको कारण होटलमा कार्यरत कामदारमात्रै नभई व्यवसायीहरु समेत मारमा परेका छन् । ‘कर्मचारीहरुको रोजगारीमात्रै गुमेको छ, उहाँहरुले वैकल्पिक उपाय अपनाएर जीविकोपार्जन गर्न सक्नुहुन्छ’, निवर्तमान अध्यक्ष घिमिरेले भने, ‘व्यवसायीको त लगानी नै डुबेको छ ।’ कोरोना कहरका बीचमा दुई साता होटल खोलेका व्यवसायीहरुले अब तत्काल होटल खोल्दा घाटामाथि घाटा बेहोर्नुपर्ने अवस्था आउने आँकलन गरेका छन् । कोरोनाको अवस्था सामान्य भएर हवाईमार्ग सञ्चालन, निकुञ्ज प्रवेश खुल्ला भएपछिमात्रै होटल सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ । सौराहामा १५० वटा पर्यटकीय होटल तथा ८० वटा रेस्टुरेन्ट रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया