कसरा । शुक्रबार मध्यरातमा गैंडा मारेपछि चितवन निकुञ्जले सुरू गरेको खोजी अभियानमा शंकास्पद तीनजना व्यक्ति गिरफ्तार भएका छन् । गैंडा मार्नेहरुको खोजी कार्यमा निकुञ्ज प्रशासन, नेपाली सेनासहित काठमाडौंबाट आएका प्रहरीको केन्द्रीय अनुुुुसन्धान व्यूरो (सीआईबी) को टिम सक्रिय रहेको छ ।
खोजी कार्यमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए । तालिम प्राप्त कुकुर हेटौंडाबाट ल्याएको उनले बताए ।
चितवन निकुञ्जले यसअघि विसं. २०६८ सालको चैत्र २० मा गैंडा मर्दा पहिलो पटक खोजी कार्यका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो । अनुसन्धानलाई प्रभावकारी बनाउन निकुञ्जले नै कुकुर पाल्ने योजनासमेत सुरू गरेको छ । ‘हामीले शंकास्पद तीनजनालाई समाएका छौँ । अनुसन्धान गर्दै छौँ’ कुँवरले भने ।
तस्करहरुले शुक्रबार मध्यरातमा गोली हानेर अन्दाजी २५ वर्षको एउटा भाले गैंडा मारेका थिए । निकुञ्ज प्रशासन र त्यहाँ तैनाथ सेनाको टोलीले खोजीको क्रममा शनिबार बिहान निकुञ्ज सिमानाभन्दा बाहिर जगतपुरको प्रस्तावित मध्यवर्ती सामुदायिक वनमा मृत गैंडा भेटाएका थिए ।
गैंडाको खाग काटेर तस्करहरुले लगेका थिए । ‘हामी खाग र गैंडा मार्नेहरु सवैलाई समाउने अभियानमा छौं’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने । यसका साथै थप घटना हुन नदिन पनि निकुञ्ज र सुरक्षा प्रशासन थप सक्रिय बनेको उनले बताए ।
गैंडा विचरण गर्ने निकुञ्ज बाहिरको क्षेत्रमा सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए । ‘जिल्ला वन र प्रहरीसँग समन्वय गरेका छौँ । निकुञ्ज भित्र र बाहिर कतै पनि थप घटना हुन नपाओस् भन्नेमा सतर्क बनेका छौं’ कुँवरले भने ।
निकुञ्जमा तैनाथ सेनाको गण र गुल्म परिवर्तन भएलगत्तै चोरी सिकारीहरु सक्रिय बनेका हुन् । त्यस्तै, मध्यवर्ती क्षेत्रमा संरक्षणको अभियान सञ्चालन गर्ने मध्यवर्ती उपभोक्ता समितिको पदावधि पनि सकिएको अवस्था छ । यी सवै कुरा ख्याल राखेर तस्करहरुले गैंडा मार्न थालेको देखिएको छ ।
त्यसैले निकुञ्ज प्रशासन र स्थानीय चनाखो र सतर्क हुनुपर्ने संरक्षणकर्मीहरुको माग छ । चितवन निकुञ्जमा २६ महिनापछि तस्करहरुले गैंडा मार्न सुरू गरेका हुन् । सुरक्षा अवस्था कमजोर बने यो बेलामा गैंडा सिकार ह्वात्तै बढ्ने खतरा रहेको संरक्षणकर्मीहरुको आंकलन छ ।
चितवन निकुञ्ज र यस आसपासको जंगलमा ५०३ गैंडा पाइन्छ । नेपालभर जम्मा ५३४ गैंडा छन् । कुनै बेला चितवन निकुञ्जमा वर्षको ३७ वटासम्म गैंडा मर्दथे । सुरक्षा सतर्कता र चोरी सिकारविरूद्ध अभियान बढेपछि विसं. २०६६ सालयता भने चोरी सिकार मन्थर हुँदै आएको छ ।
विस २०६६ सालको पुस १९ पछि चोरी सिकारीका कारण चितवन निकुञ्जमा विसं. २०६८ सालको चैत्र २० मा गैंडा मरेको थियो । त्यसपछि विसं. २०६९ सालको फागुन ५ गते गैंडा मारेर तस्करहरुले खाग लगेका थिए । विसं. २०७० सालभर चोरी सिकारका कारण गैंडा मरेन ।
७१ सालको सुरूकै महिनामा गैंडा मरेपछि संरक्षण क्षेत्र स्तव्ध भएको छ । गैंडा मारेमा र यसको अंगको कारोबार गरेमा कडा कानुनी कारबाही हुन्छ । गैंडा मारेमा न्यूनतम ५० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना वा पाँचदेखि १५ वर्षसम्म कैद अथवा कैद र जरिबाना दुवै सजाय हुन सक्छ ।
Discussion about this post