रिभर्समा ः जनकपुर बम विस्फोट
जकपुरधाम । दुई वर्ष अगाडि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका सभासद सञ्जयकुमार साहलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विसं २०६९ वैशाख १८ गते भएको सो बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भने अन्य ३२ जना घाइते भएका थिए । धनुषा क्षेत्र नं ४ का सभासद् तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहलाई केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार वीरगन्जबाट पक्राउ गरी राति करिब ११ बजे जनकपुर ल्याएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।
‘अपरेसन रामा’ नाम दिएर अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका क्रममा पक्राउ परेका मुकेश चौधरी र ओमप्रकाश यादवको बयानका आधारमा ‘टकला’ उक्त घटनाको मुख्य योजनाकार रहेको पुष्टि गरेको थियो ।
‘सङ्गठित अपराधअन्तर्गत सभासद् साहले गराएको यो घटना अपराध माफियाभन्दा उच्च रहेको छ’, केन्द्रीय अनुसन्धान व्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले भन्नुभयो, ‘राजनीतिक आवरणमा भएको यो अपराध समाजमा आतङ्क फैलाउने शृङ्खला हो ।’ अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ता ओमप्रकाश यादव रहेको र उनले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ । जिविस धनुषाका तत्कालीन सहलेखापाल जीवनाथ चौधरीलाई मार्न साहले चौधरीलाई रकम दिएको सार्वजनिक भइसकेको र शान्तिपूर्ण धर्नामा बसेका नागरिक समाजका अगुवालाई लक्ष्य गरी सो बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा सभासद् साह पक्राउ परेको जानकारी संविधानसभालाई दिइसकिएको छ । साहको यादव र चौधरीसँग निरन्तर सम्बन्ध रहेकोसमेत प्रहरीले जनाएको छ ।
आफ्नो राजनीतिक हैसियतका कारण अकूत सम्पत्ति कमाएका सभासद् साहले सार्वजनिक हुँदा सञ्चारकर्मीलाई सम्बोधन गरी भने, ‘म निर्दोष छु, अदालतबाट सफाइ पाउँछु ।’ उनी चिन्तित मुद्रामा तथा शारीरिक रूपमा कमजोर देखिएका थिए ।
यसअघि सो घटनामा संलग्न भनिएका जयप्रकाश चौधरी, रञ्जित झा, मुकेशकुमार चौधरी, टिपेनु झा, सुरेशकुमार कर्ण र मुकेशकुमार कर्णलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विसं २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपर–८ रामानन्द चोकमा धर्नामा बसेका बेलामा सो बम विस्फोट भएको हो । प्रहरीले सञ्चार उद्यमी अरूण सिहानियाको हत्याबारेको अनुसन्धान भने अन्तिम चरणमा पुगेको जनाएको छ ।
Discussion about this post