माडीमा काेराेना संक्रमितको संख्या शून्य

अन‌ि यो पनि

भरतपुर । ४१ जना कोरोना संक्रमितको उपचारपछि घर गएको माडी नगरपालिकामा अहिले कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। यसअघि अन्तिमपल्ट गत असार ३० गते आठजनामा संक्रमण पुष्टि भएको थियो।

त्यसपछिको ३५ दिनसम्ममा नयाँ संक्रमित नथपिएपछि माडी नगरपालिका कोरोना संक्रमण शून्य भएको नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले जानकारी दिए। नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षणको लागि नमुना संकलन गर्दै आएकोमा कोही कसैमा पनि संक्रमण नदेखिएको उनले बताए।

‘पहिलो चरणको नमुनामा संक्रमण देखिएन, दोस्रो चरणको पनि नमुना संकलन गरेर भरतपुर पठाएका छौँ,’ उनले भने, ‘त्यसको पनि केही दिनमा रिपोर्ट आउला। तर, हालको ताजा अवस्था हेर्ने हो भने माडी नगरपालिकामा नयाँ संक्रमितको संख्या शून्य भएको छ।’

अहिले जिल्ला प्रशासन कार्यालय चितवनले माडीबाहेक जिल्लाका अन्य ६ वटा स्थानीय पालिकाभित्र निषेधाज्ञा जारी गरेको छ। भरतपुर महानगरपालिका सबैभन्दा बढी प्रभावित छ। इच्छाकामना गाउँपालिकामा हालसम्म जम्मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तर, संक्रमणको दर बढ्न सक्ने भन्दै गाउँपालिका पनि निषेधाज्ञामा छ।

माडी नगरपालिका भने भरतपुर र ठोरीबाट प्रवेश गर्ने दुवै नाका बन्द रहेकाले पनि मानिसहरू आउजाउ गर्न नपाएपछि निषेधाज्ञाको आवश्यकता नरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले बताए। ‘हामी जनतालाई जबरजस्ती घरभित्र बस्न बाध्य बनाउँदैनौँ, त्यसको लागि तपाईँहरू नै सचेत भइदिनुहोला भनेर हामीले सूचना जारी गरेका छौँ,’ उनले भने, ‘त्यसैले माडीमा निषेधाज्ञा नभए पनि मानिसहरू घरभित्रै छन्।’

यसअघि माडीमा भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै संक्रमण पुष्टि भएको थियो। ‘माडीमा ४१ जना संक्रमित थिए, ती सबै भारतसहित तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरू मात्रै हुन्,’ उनले भने, ‘उनीहरू पूर्णरूपमा निको भएर घर गइसकेपछि अहिले नयाँ संक्रमित थपिएका छैनन्।’ नयाँ संक्रमित थप्न नदिन स्थानीय तहको तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ।

कालिका र इच्छाकामनामा एक/एक जना

कालिका नगरपालिका पनि संक्रमितको संख्या शून्य हुने तरखरमा छ। हालसम्म जम्मा पाँच जनामा संक्रमण देखिएकामा चारजना निको भएर घर गइसकेका छन् भने एकजना आइसोलेसनमा रहेका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ (गोपी)ले बताए। स्थानीय स्तरमा भने हालसम्म संक्रमण नदेखिएको उनले बताए। ‘आजसम्म जति जनामा संक्रमण देखियो, ती सबै विदेशबाट आएकाहरू हुन्,’ उनले भने।

अहिले पनि विदेशबाट आएका ३० जना क्वारेन्टाइनमा छन्। मलेसिया, साउदी, दुवई कतारलगायतका देशबाट आएकाहरूमध्ये सोमबार भएको परीक्षणबाट ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको उनले बताए। ‘क्वारेन्टाइनमा बसेका ३९ जनामध्ये ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइयो,’ उनले भने, ‘बाँकी ३० जना अहिले क्वारेन्टाइनमा छन्।’ इच्छाकामना गाउँपालिकामा पनि हालसम्म जम्मा एक जनामा संक्रमण देखिएको छ। ती संक्रमितको उपचार भइरहेको छ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया