कसरी हुर्कंदैछन् नयाँ पुस्ता ? कहाँ चुक्यौँ हामी ?

अन‌ि यो पनि

कोभिड–१९ को कहर जारी छ । अलिअलि उठ्दै गरेको पेसा, व्यवसाय, उद्योग, पर्यटन, कृषि सबै क्षेत्रमा समस्या थपिएको छ । धेरैले रोजगारी गुमाउँदै गएका छन् । जसको रोजगारी गुमेको छैन उनीहरुको पनि आम्दानी घटेको अवस्था छ । व्यवसायीलाई व्यवसाय टिकाउन हम्मेहम्मे परेको छ । यस्तो बेलामा सबैभन्दा धेरै मारमा अहिलेको युवापुस्ता परेको छ । कुनै न कुनै पेसा, व्यवसायको लय समातेर जीवनको ऊर्जाशील समय खर्चिसकेकाहरुले अब बाँकी जीवन सिकेको काम वा गरेको कामबाटै अल्लि अगाडि बढाउने र नयाँ पुस्तालाई अब तिम्रो पालो आयो हाम्रो पालो सकियो भन्ने र जिम्मा लाउने हो । यसमा धेरै बहसको आवश्यकता नै छैन ।
अहिले पढाइ सकेर वा पढाइ बीचैमा छाडेर कामको खोजीमा श्रमबजारमा निस्किएको २० देखि ३० वर्ष उमेरको पुस्तालाई कोरोनाको महामारीले कस्तो असर गरेको छ भन्नेबारेमा अलिकति विचार गरौँ । यो पुस्ताका धेरै युवाहरुको दिगो पेसा वा व्यवसाय छैन भन्दा हुन्छ । केही भाग्यमानीले परिवारकै व्यवसायमा आपूmलाई लगाए, केही थोरैले नयाँ व्यवसाय सुरू गरेर व्यवसाय टिकाउन संघर्ष गर्दैछन्, धेरैजसो वैदेशिक रोजगारीमा छन्, केही घरायसी काममा (विशेषगरी महिला) छन् । केही अस्थायी प्रकृतिको रोजगारीमा सामेल भएर भविष्य बनाउनभन्दा दैनिकी चलाउन संघर्ष गर्दैछन् । केही थोरैले सरकारी र कर्पोरेटस्तरको जागिरमा आपूmलाई सामेल गर्न सफल भएका छन् ।
अस्थायी प्रकृतिको पेसा र रोजगारीमा भएका युवाको समस्या कस्तो छ भने ती कुनै एउटा काममा तनमन लगाएर त्यसैमा भविष्य खोज्ने काम गरिरहेका छैनन् । केही महिना वा केही वर्ष एउटा काम गर्ने, त्यसमा अलिअलि सिकेको हुन्छ तर पुरा ज्ञान र अनुभव हुन नपाउँदै फेरि अर्को काममा लाग्ने, त्यो पनि भएन भनेर फेरि अरु कामको पेसाको खोजी गर्ने युवा धेरै छन् । यस्ता अस्थिर युवा सबैभन्दा धेरै समस्यामा हुन्छन् । अझ ऊर्जाशील समयको १० वर्षजति यस्तो अस्थिर प्रकारको काम गरेर जीवन गुजार्नेहरुले भविष्यको स्थायी गोरेटो बनाउन धेरै नै मुस्किल पर्छ ।
कोभिड–१९ को प्रभाव र लकडाउन जारी रहेकै समयमा एनएमसी झापाले सञ्चालनमा ल्याएको र ल्याउने सहकारी पसलका लागि सबै पदमा गरेर करिब २०–२२ को संख्याका लागि सामाजिक सञ्जालमा विज्ञापन गरिएको थियो । संस्थाले यति धेरै आवेदक आउलान् भनेर अनुमान नै गरेको थिएन । कारण, यसको विज्ञापन संस्थाको फेसबुक पेजमा मात्रै गरिएको थियो । यो समयमा स्थानीय पत्रपत्रिकाको पहुँच नै छैन । त्यो पनि कोरोना काल र वर्षाको समय (श्रावण) । झन्डै ६ सय आवेदन परे । यति धेरै मानिसलाई जम्मा गरेर परीक्षा लिन मुस्किल थियो । ७ फरक–फरक स्थानमा एकैदिन एकै समयमा लिखित परिक्षा लिने काम गरियो, प्रहरीको आँखा छलेर । किनकि, २५ जनाभन्दा बढीको जमघटलाई सरकारले प्रतिबन्ध लगाएको छ । यीमध्ये करिब एक सय जनाको लिखित परीक्षामा नाम निस्कियो र मौखिक अन्तरवार्ताका लागि छानिए । म पनि यो अन्तरवार्ता लिनेमा सामेल भएर उनीहरुलाई नियाल्ने काममा लागेँ । केहीलाई छाडेर अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये धेरै जना वैदेशिक रोजगारीमा गएर फर्किएका नै छन् । केही कुनै अनुभव नभएका फ्रेस अनुहार थिए र केही फरक–फरक कामको अनुभव भएकाहरु । संस्थाले यिनैमध्येबाट कामका लागि मानिसको छनोट गरेको छ ।
यति धेरै मानिसबाट छानिएका, अब्बल ठानिएका, कामका लागि तयार भएका यी युवा कस्ता छन् ? यिनले कसरी र कस्तो काम गर्छन् ? यो सवाल मह¤वपूर्ण छ । यो पुस्ता जुन परिवेशमा हुर्के र जे सिके त्यसको आधारमा भन्दा यी काम गर्नयोग्य भइसकेका छैनन् । यीमध्ये जो वैदेशिक रोजगारीमा गएर फर्किए तिनमा काम नगरी धर पाइँदैन भन्ने परेको छ । तर, जोसँग कतै काम गरेको अनुभव छैन तिनले कामलाई हल्कारुपमा लिएका हुन्छन् । वास्तवमा ती काम गर्न होइन जागिर खान चाहन्छन् । यिनमा प्रमाणपत्रको घमण्ड चाहिनेभन्दा अल्लि बढ्तै हुन्छ । जागिर अर्थात् यस्तो काम जहाँ गयो लाए अह्राएको काम ग¥यो, हल्लियो, ज्यान जोगायो, तलब पकायो ।
हेर्दा यस्तो लाग्छ, कतिपय मानिसलाई कामको एकदमै आवश्यकता छ । परिवार धान्न काम नगरी हुँदै भएको छैन । यस्ता मानिस अलिअलि साह्रोगाह्रो सहेर पनि काम गर्छन् । काममा बानी परेपछि टिक्छन् तर घरको अवस्था ठिकै भएका, कामको बानी नपरेका, सुकिलो जागिरको कल्पना गरेका मानिसलाई काम गर्न र गराउन दुवै निकै गाह्रो हुन्छ । यस्ता मानिसको कारण संस्थाभित्र काम गर्ने संस्कार बसाउन समस्या हुन्छ । काम गर्नेहरु पनि उसले नगरे पनि वा थोरै गरे पनि भएको छ । मैलेमात्रै किन धेरै काम गर्ने भन्ने मनमा पर्छ । यो प्रवृत्तिलाई बेलैमा नियन्त्रण नगर्दा काम गर्नेहरु पनि अल्छी बन्ने गर्छन् ।
किन गाह्रो हुन्छ काम गर्न र गराउन ?
समाजले विशेषगरी ‘प्लस टु’को जेनेरेसन कसरी हुर्कायो, कसरी हुर्किए, के सिके, के सिकाइयो ? कस्तो परिवेश थियो ? भन्ने कुराले अर्थ राखेको छ भन्ने मेरो बुझाइ छ ।
सहरिया र अर्धसहरिया परिवेशमा हुर्केका किशोरकिशोरीले शारीरिक परिश्रम गर्नै परेन, गर्दै गरेनन्, गर्न लगाइएन । गाउँबाट आएकाहरुले पनि आठापाँजा अलिअलि काम गरे पनि अभिभावकले खासै काम लगाएनन् । कामको बोझ सबै आपैmँले लिए र पढ है, ठूलो मानिस बन्नुपर्छ भनेर बारम्बार सुनाए । हामीले बिर्सिएको अथवा वास्ता नगरेको विषय भनेको पढेपछि पनि काम गर्नुपर्छ, काम गर्नका लागि पढ्दै छौँ, पढाउँदै छौँ भन्ने ख्यालै भएन । नर्स, डाक्टर, वकिल, इन्जिनियर, ओभरसियर, सिए, एकाउन्टटेन्ट, व्यवस्थापक, पाइलट, शिक्षक, कर्मचारी, प्रहरी, व्यापारी, सञ्चारकर्मी, कलाकार, गलाकार, खेलाडी, कृषक आदि आदि । जे भए पनि काम गर्न हुने हो । काम गर्न अल्छी गर्नेले यीमध्ये कुनै जिम्मेवारी प्राप्त गरे पनि जीवनमा खासै अर्थ राख्दैन । काम नगर्नेहरु यी जिम्मेवारी पाए पनि मूल्यवान् ठहरिँदैनन् । काम नगर्ने मानिसले जीवनमा सफलता पाउँदैनन् । पढाइ भनेको सिकाइ हो । सिकाइ व्यवहारबाट, अभ्यासबाट विकसित र परिष्कृत हुँदै जान्छ । तर, हाम्रो नयाँ पुस्ताले पढाइलाई सिकाइका लागिभन्दा सर्टिफिकेट प्राप्त गर्नका लागि भन्ने बुझाइ भयो । जसरी पनि पास गर्नुपर्छ, उच्च अङ्क प्राप्त गर्नुपर्छ भन्ने बोध गराइयो । रिजल्ट हेरेर मेरो छोराछोरीले यति नम्बर ल्याए, यो डिभिजन ल्याए भनेर अभिभावक मख्ख प¥यौँ । हामीले कहिल्यै यो विचार गरेनौँ कि हाम्रा सन्तानले के–के सिके र त्यो जीवन उपयोगी छ कि छैन भनेर हेरेनौँ ।
जुनसुकै पेसा वा व्यवसाय गरे पनि जीवनका पाइला–पाइलामा आवश्यक पर्ने ज्ञान, सीप जस्तैः खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने, स्रोत र साधनको सदुपयोग गर्ने, आपूmसँग भएका सामान मिलाएर राख्ने, स्वास्थ्यका आधारभूत कुरा, परिवार र समाजमा कसरी प्रस्तुत हुने, साथीसँगी र आफन्तसँग कसरी व्यवहार गर्ने, अरुका सुखदुःखको अनुभूति गर्ने, जीवनमा सधैँ सहजमात्रै हुँदैन असहज र अप्ठ्यारो पर्दा कसरी समाधान गर्ने, पुलिस, अस्पताल, समाज, प्राकृतिक सोत आदिको मह¤व के छ भनेर जानकारी लिनेदिनेजस्ता कुरा आजको पुस्तालाई कसले कुन विद्यालयमा सिकाएको छ ? यी र यस्ता सानामसिना लाग्ने कुरा जीवन चलाउन पाइला–पाइलामा आवश्यक छ ।
आजको समाजले प्रशिक्षित गरेको कुनै किशोर उमेरका छोराछोरीले अलिअलि सिक्न पाएका छन्, घरमा एक्लै एक हप्ताजति बस्नुपर्ने अवस्था आयो भने उसले के गर्ला । सोचेका छौँ यस्तो ? उसले या त एक हप्तालाई पुग्ने चाउचाउ किनेर घरमा राख्नेछ या त कुनै साथीको घरमा पुग्नेछ । उसले हप्ताभरिमा एकदिन पनि घर सफा गर्ने छैन, सुतेको ओछ्यान मिलाउने छैन, घर बढार्ने छैन, जुठा भएका भाँडा सफा गर्ने छैन, घरमा जडान भएका बत्ती, पंखा अफ गर्ने छैन, घरमा आउने मानिसलाई शिष्ट भाषामा बोलेर स्वागत गर्ने छैन, साथीसँग बोलेजस्तै टर्रो स्वरमा ‘के काम थियो ? किन आउनुभयो ? कसलाई खोजेको ?’ भन्नेछ । भान्साको काम गरिहालेछन् भने नुन, चिनी, चियाजस्ता सामान राख्ने बट्टाको बिर्को खोले पनि लगाउने छैनन् । राति १२ बजेसम्म असरल्ल परेको कोठा र ओछ्यानमा पल्टिनेछन्, मोबाइलको संसारमा रमाउनेछन् र बिहान झन्डै ९ बजेसम्म सुत्नेछन् । हो, यो पुस्तासँग स्कुल÷कलेजले दिएको राम्रै नम्बर प्राप्त गरेको प्रमाणपत्र भने हुन सक्छ ।
आर्थिकरुपमा अल्लि कमजोर परिवारबाट आएका र सरकारी विद्यालयमा पढेर पास गरेका किशोरकिशोरी तुलनात्मकरुपमा काम गर्ने संस्कारका हुन्छन् । यिनलाई कामको आवश्यकता पनि हुन्छ । काममा यस्ता मानिस टिकाउ हुने सम्भावना बढी हुन्छ । अल्लि सुखसयलमा हुर्किएका, मध्यम परिवारका युवा जागिर खाने गरी कतै पुगेछन् भने उनीहरुले जागिरमा लाग्नुभन्दा पहिला गरेको कल्पना र जागिरे जिन्दगीको भोगाइमा निकै फरक हुन्छ ।
जागिरमा होस् वा निजी व्यवसायमा यो समूहको प्रवेश हुन्छ नै । यिनले त्यहाँ आफ्नो कामअनुसारको चरित्र बनाएर श्रम गर्न सके, धैर्य गरे, सीप सिके, मेहनत गरे भने सफल हुन्छन् नत्र आफ्नो काम अप्ठ्यारो अरुको काम सजिलो देख्ने रोग लाग्छ र छिटोछिटो काम फेर्ने गर्छन् । यस्ता मानिस झन् बढी जोखिममा हुन्छन् । जागिर जोगाउने गरी अल्छी अल्छी गर्दै काम गर्ने, आफ्नो व्यवसायमा पनि यस्तै चाला देखाउनेहरुले जसोतसो जीवन चलाए पनि प्रगति गर्दैनन्, गर्न सक्दैनन् ।
मैले यति कुरा किन भनिरहेको छु भने हामीले अहिले हुर्काउँदै गरेको किशोरकिशोरीको पुस्तालाई श्रमबाट अलग गरेर, पढाइ नै सबै कुरा हो, प्रमाणपत्र भए पुग्छ भनेर, बढ्तै माया गरेर व्यावहारिक सिकाइको अभावमा जसरी हुर्काउँदै छौँ, यो उनीहरुका लागि पछि गएर समस्या निम्त्याउने कारण बन्दै गएको छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया