रत्ननगर । चोटपटकबाट हुने आँखा समस्या र दृष्टिविहीनसम्बन्धी चितवन र नवलपरासीका साथै २४ जिल्लामा अध्ययन सुरु भएको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सो अध्ययन सुरु गरेको हो ।
आँखा अस्पतालका स्वास्थ्य प्रशिक्षक विमल पौडेलले चोटपटकबाट आँखामा हुने समस्या र त्यसको अवस्था पत्ता लगाउन अध्ययन थालिएको बताउनुभयो ।
नेपालका ग्रामीण भेगका मानिस चोटपटक लागेर आँखामा समस्या पर्दासमेत स्वास्थ्य संस्था आउने नगरेको पाइएको छ । अन्तिम अवस्थामा आउने गरेकाले उपचार सफल हुन नसकेको आँखा अस्पतालकी डा. मनिषा श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा उपचार गर्न आउने बिरामी चोटपटकपछि फूलो पर्ने गरेको र दृष्टिविहीन हुने गरेको पाइएकाले अध्ययन थालिएको प्रशिक्षक पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा हरेक दिन १२५ जना दृष्टिविहीन हुने गरेका छन् ।
समयमै उपचार गर्न सके उनीहरूमध्ये ८० प्रतिशतको रोग निको पार्न सकिने उहाँले उल्लेख गर्नुभयो । नेपालमा अहिले दुई लाख १० हजार दृष्टिविहीन छन् । भरतपुर आँखा अस्पतालले दिएको तथ्याङ्कअनुसार ३० हजार बालबालिका दृष्टिविहीन छन् भने ९० हजार न्यून दृष्टिका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले तीन मिटर टाढा रहेको औँला गन्न नसक्ने व्यक्तिलाई दृष्टिविहीनको सूचीमा राख्ने गर्दछ । हरेक दिन सात जना बालबालिका दृष्टिविहीन हुने र दृष्टिविहीनकै कारण दुई जनाको ज्यान जाने सार्वजनिक तथ्याङ्कमा
उल्लेख छ ।
विश्वमा हरेक पाँच सेकेन्डमा एक जना दृष्टिविहीन हुने र एक मिनेटमा एक बालक दृष्टिविहीन हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । रासस
Discussion about this post