भरतपुर । एम्बुलेन्स चालक रमेश तिमिल्सिना साउन २४ गते राति १० बजेको समयमा खाना खाएर बसिरहेका थिए । लकडाउनको समयमा एकपटक काठमाडौँबाट चितवन ल्याइदिएको तिनै महिलाले फोन गरेकी रहिछन् । काठमाडौँ बिरामी लिएर गएको र फर्कंदा उनलाई ल्याइदिऊँला भन्ने सोच उनले बनाए ।
साउन २५ गते आइतबार उनी बिरामी लिएर काठमाडौँ गए । बेलुका ७ बजेतिर उनले ती महिला र उनका छोराछोरीलाई लिन गोंगबु गए । कोठाभन्दा केही पर रहेका यात्रु लिएर रमेश चितवन फर्किए । बाटोमा खाना नखाएको र ठाउँठाउँमा जाम भएका कारण राति १२ बजेको समयमा यात्रुलाई टाँडी माधवपुरमा ल्याई झारिदिए । उनी घरतर्फ लागे । चिनेजानेका मानिसहरुले कहिलेकाहीँ अनुरोध गरेपछि उनले सेवा दिइरहेका थिए । तर, आइतबार राति कसैलाई गरेको उद्धार उनका लागि निकै महँगो हुन गयो ।
सोमबार बेलुकीपख प्रहरीले आफूलाई पक्राउ गरेपछि रमेश अन्योलमा परे । प्रहरीले सुरूमा केही सोधपुछ गर्नुछ मात्र भने, तैपनि उनको मन आत्तिरह्यो । जब प्रहरीले आफैँले आइतबार काठमाडौँबाट ल्याएका यात्रुको गतिविधिसँग जोडेर खानतलासी गर्न थाल्यो उनी झसङ्ग भए । उनी ढुक्क पनि थिए कि उनलाई गोंगबुमा भएको घटनाबारे केही पनि जानकारी थिएन ।
गोंगबुको नवज्योति मार्गमा रहेको एक घरमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा उनैले सेवा दिएका व्यक्ति मुछिएको थाहा पाएपछि उनी अचम्ममा परेका थिए । घटनामा एम्बुलेन्स चालकको सहभागिताबारे अनुसन्धान भइरहेको अपराध महाशाखा टेकुका एसएसपी दीपक थापाले बताए । कृष्णबहादुर बोहराको हत्यापछि भाग्नका लागि आरोपितले एम्बुलेन्सलाई फोन गरेको हुन सक्ने प्रहरीको भनाइ छ । लकडाउनको समयमा अन्य साधन उपलब्ध नहुने भएपछि एम्बुलेन्स गुहारेकी थिइन् । भाडास्वरुप ६ हजार रूपैयाँ लिएको एम्बुलेन्स चालकले बताए ।
बोक्न नसकेपछि काटेँ
यस घटनाकी अभियुक्त भनिएकी महिला कल्पना मुडवरीले हत्यापश्चात् सिङ्गै बोक्न नसकेपछि शरीर टुक्र्याएको प्रारम्भिक बयान प्रहरीलाई दिएकी छन् । घटनालाई अति गोप्य राख्नका लागि आफूमात्र संलग्न भएको उनले बताएकी छन् । सँगै रहेका छोरालाई घटनाबारे केही पनि थाहा नभएको र छोरीले भने शव व्यवस्थापनमा सघाएको प्रहरीको भनाइ छ । शरीरको बीच भाग सुटकेसमा तथा टाउको र खुट्टा अर्को झोलामा दुई फरक स्थानमा फालिएको अवस्थामा प्रहरीले शव बरामद गरेको हो ।
घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड र उनैले साबिती बयान दिएकाले घटनामा उनको मात्र संलग्नता देखिएको प्रहरीको भनाइ छ । उनकी १५ वर्षीया छोरी र १३ वर्षीय छोरा छन् । श्रीमान् विदेशमा रहेको पाइएको छ ।
अति भएपछि मारेँ
घटनामा संलग्न भनिएकी ती महिलाले हत्या गरिएका पुरूषबाट आफू शारीरिक र मानसिकरुपमा पीडित भएको बयान दिएकी छन् । उनलाई पक्राउ गर्नका लागि खटिएका प्रहरी स्रोतका अनुसार आफूसँग शारीरिक सम्बन्ध राख्ने गरेको, जबर्जस्ती पनि गर्ने गरेको र छोरीतर्फ पनि आँखा लगाउन थालेपछि असह्य भई घटना गराएको बताएकी छन् । आफ्नो फोटो विभिन्न फेसबुक एकाउन्टमार्फत सार्वजनिक गरेको महिलाको आरोप छ ।